२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, संसद चल्न नदिने कांग्रेसको चेतावनी

प्रधानमन्त्री पुष्पमकल दाहालले आज चौँथोपटक विश्वासको मत लिन लोका छन्। शुक्रवार उनले विश्वासको मत लिनेसम्बन्धी पत्र संसद् सचिवालयमा पठाएको आधारमा आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि कार्यसूची तय गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।

निलम्बनमा रहेका सांसदको सङ्ख्यामा गणना भए पनि मतदान गर्न पाइँदैन। एमालेबाट निर्वाचित टोपबहादुर रायमाझी निलम्बनमा रहेकाले उनले मतदान गर्न पाउनेछैनन्। सभामुखबाहेक अरू सबै सांसदले मतदान गर्न पाउनेछन्।

यसैबीच, कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक चल्न नदिने बताएको छ।

आइतवार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन्।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का १०, जनता समाजवादी पार्टी (जसपा) का ७, जनतमत पार्टीका ६, जसपा नेपालका ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, राष्ट्रिय जनमोर्चा (राजमो) का १, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १, आम जनता पार्टी (आजपा) का १, स्वतन्त्र सांसद २ जना छन्। सरकारमा माओवादी केन्द्र, एमाले, रास्वपा, नेकपा एस, जसपा सहभागी छन्।

जसपा नेपालबाट विभाजित भई अशोक राईको नेतृत्वमा सात सांसदसहित जसपा गठन भए पनि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ। जसपालाई दलको मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा रिट निवेदन दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नयाँ दल दर्ताको निर्णय यथास्थितिमा राख्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

प्रकाशित: ७ जेष्ठ २०८१ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App