२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीको निष्कर्ष: प्रधानमन्त्रीले राजीनामा नदिने, राष्ट्रिय सहमतिको सरकार असम्भव

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले विश्वासको मतको प्रक्रियामा जाने निर्णय गरेको हो।

‘प्रधानमन्त्री ज्यु विश्वासको मतको प्रक्रियामा जानुहुन्छ । त्यो भनेको अहिले नै राजीनामा नदिने हो,’ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने।

यस्तै राष्ट्रिय सहमतिको सरकार पनि बन्न नसक्ने माओवादी केन्द्रको निष्कर्ष निकालेको छ। ‘दुई दलको छलफलले मात्रै राष्ट्रिय सहमतिको सरकार बन्छ भन्ने भ्रम पार्न खोजिएको छ। त्यो सम्भव हुन्न भन्ने बैठकको अर्को निष्कर्ष हो,’ सचिव पौडेलले भने, ‘राष्ट्रिय हितका विषय दुई दलको छलफलले मात्र सम्भव हुन्न।’

प्रधानमन्त्री दाहालले राजीनामा नदिने भएपछि नयाँ सरकार बन्न महिना दिन लाग्न सक्ने देखिएको छ। 

संविधानको धारा १०० को उपधारा ४ अनुसार प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्ष भित्र अविश्वासको प्रस्ताव पेश गर्न नपाउने व्यवस्था छ। दाहाल प्रधानमन्त्री नियुक्त भएको १८ महिना मात्रै पुगेकाले उनी विरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने अवस्था छैन।

तर, सोही धाराको उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिन सक्ने व्यवस्था छ। जसमा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भनिएको छ।

एमाले र कांग्रेसबीच भएको पछिल्लो सहमतिअनुसार एमालेले सम्भवतः मंगलबारै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने छ। आफू अल्पमतमा परेपछि दाहालले राजीनामा दिनेमा एमाले–कांग्रेसको विश्वास थियो। जसअनुसार तत्कालै सरकार बनाउने कुरा आइरहेको थियो। माओवादी केन्द्रको निर्णयपछि नयाँ सरकार बन्न महिना दिन कुर्नुपर्ने अवस्था आउन सक्ने देखिएको हो।

प्रकाशित: १८ असार २०८१ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App