२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेल जालान् ट्रम्प?

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कैयौं काण्ड मच्चाएका छन्। उनीमाथि यौन दुर्व्यहारका कैयौं आरोप लागेका छन्। उनले गरेका आर्थिक गडबडीको संख्या पनि निकै छ।

दुईपटक महाभियोग लगाइएका राष्ट्रपति पनि उनी नै बनेका छन्। बिहीबार भने न्युयोर्कको जिल्ला अदालतले आफ्ना बारेमा मुख नखोल्न र चुप लाग्न पैसा खुवाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ। अब उनको राष्ट्रपतीय चुनावी दौड के होला भन्ने प्रश्न गम्भीर बन्न पुगेको छ।

आगामी नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपतिको चुनाव हुँदैछ। यससँगै एउटा गम्भीर अपराध गरेका व्यक्तिले नैतिक रूपमा चुनाव लड्न हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठेको छ। चुनाव लडे पनि जित्ने सम्भावना के होला? जितेपछि झन् के होला? यस्ता अनेकन् प्रश्न उठेका छन्।

अदालतले दोषी करार गरेपछि प्रतिक्रियास्वरूप ट्रम्पले भनेका छन्, ‘यस्तो निर्णय आउनु दुःखद हो। म ज्यादै निर्दोष व्यक्ति हुँ। तर पनि ठिकै छ। म देशका लागि यी सारा कुरामा लड्नभिड्न तयार छु।’ यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको उनको भनाइ छ। अन्तिम अवस्थासम्म आफू यसमा भिड्ने र जितिछाड्ने प्रतिक्रिया उनले दिएका छन्। उनले वास्तविक निर्णय राष्ट्रपति चुनावका बेला आउने बताएका छन्।

जेल जान सक्छन्?

सम्भवतः ट्रम्प जेल जान सक्छन् र केही समय जेलमै पनि बस्न सक्छन्। उनको जेलयात्रा अपराधको प्रवृत्ति हेरी चार वर्षसम्म रहेको छ तर ट्रम्पको प्रवृत्ति हेरी अझ कडा दण्ड पनि करार गर्न सकिने सम्भावना छ। तर ट्रम्प ७७ वर्षका छन्। उनको अपराध हिंस्रक किसिमको नभएकाले उनले जेल नै जानुपर्छ भन्ने छैन। त्यसमाथि उनी पूर्वराष्ट्रपति भएका कारण जेल नै हाल्नुपर्नेमा न्यायाधीशहरू सहमत नहुन सक्छन्। यसको साटो ट्रम्पलाई स्वतन्त्रताको बदलामा भारी शुल्क तिर्नुपर्ने हुन सक्छ।

उनलाई जेल नै हाले पनि ट्रम्पले न्यायाधीशहरूसँग जेल सजायका लागि पुनरावेदन गर्न सक्छन्। पुनरावेदनका क्रममा उनलाई जेलबाहिरै लड्ने सुविधासँगै उनले राष्ट्रपति चुनाव जित्न सक्छन्। उनले चुनाव जिते भने उनलाई जेल हाल्ने सम्भावना रहँदैन। उनको राष्ट्रपतीय जिम्मेवारीबीच जेल हाल्ने सम्भावना ज्यादै न्यून हुन्छ।

कहिले निर्णय हुन्छ?

उनको अन्तिम सुनुवाइ जुलाई ११ मा छ। यो भनेको रिपब्लिकन पार्टीको महाधिवेशनको केही दिनअघि मात्र हो। यस अवधिमा उनको आपराधिक चरित्रबारे साथीभाइ, परिवार र अन्य सहयोगीबाट प्रमाण जुटाइने सम्भावना छ। त्यसो हुँदा उनी जेलबाहिरै हुने सम्भावना बढी छ।

अपराधी ठहरिए चुनाव लड्न सक्छन्?

अमेरिकी संविधानले अपराधी घोषित व्यक्तिलाई राष्ट्रपति चुनाव लड्न कुनै बाधा गर्दैन। संविधानले खुला छाडे पनि राजनीतिक रूपमा उनको पार्टीले भने उनलाई उठाउने कि नउठाउने भन्नेमा निर्णय गर्न सक्छ। तर अदालती कारणले भने उनलाई चुनाव  लड्नबाट रोक्न सक्ने देखिँदैन।

पुनरावेदन गर्न सक्छन्?

ट्रम्पले न्युयोर्कस्थित म्यानहटनको स्टेट कोर्टबाट आएको पछिल्लो फैसलालाई पुनरावेदन गर्छन् नै। ट्रम्पले आफ्नो पक्षमा पुनरावेदन गर्ने पर्याप्त बहसका विषयहरू छन् भनी उनको आपराधिक प्रतिरक्षामा उत्रिएका वकिलहरूले बताएका छन्। तर यसको अर्थ ती प्रतिरक्षाका बहस विषयले सफलता नै पाउँछन् भन्ने छैन।

खासगरी ट्रम्पले आफूमाथि इबी साँधिएको, अनुचित तरिकाले मुद्दा चलाइएको भन्न सक्छन्। उनको मुद्दा क्षेत्राधिकारबाहिर गएको भन्ने ठाउँ पनि छ। उनीमाथि लगाइएको अभियोग यति बृहत् छ कि त्यसको प्रतिरक्षाका लागि आफूले पर्याप्त गृहकार्य गर्न नपाएको भन्न पनि सक्छन्।

उता ट्रम्पको कानुनी टोलीले प्रौढ चलचित्रकी अभिनेत्री स्टर्मी ड्यानियल्सको बयानलाई केही न्यायाधीशहरूले सही ठहर्‍याउनुमा उनीहरूको ट्रम्पप्रतिको पूर्वधारणाले भूमिका खेलेको जस्ता केही विषय उठान हुन सक्ने सम्भावना पनि छ।

पुनरावेदनका लागि कति समय लाग्ला?

विषयको गम्भीरता हेरी उच्च न्यायालयले यो मुद्दा हेर्‍यो भने एक वर्ष लाग्न सक्छ। अझ चासो बढ्दै गएको खण्डमा कुरो सुप्रिम कोर्टसम्म पनि पुग्न सक्छ। यसो हुँदा समय अझ लम्बिने सम्भावना हुन्छ। पछिल्लो निर्णय आफूविरोधी हो भन्ने पुनरावेदन अदालतलाई बुझाउन ट्रम्प सफल भए भने राष्ट्रपतीय चुनाव भइसकेपछि नै उनको पुनरावेदनले गति समाउने छ।

अन्य कानुनी परीक्षणबाट गुज्रनुपर्छ?

यसबाहेक पनि ट्रम्पले थप तीनवटा आपराधिक मुद्दाबाट गुज्रनुपर्ने देखिन्छ। दुई वटा संघीय छन् भने एउटा जर्जिया राज्यको छ। उनी ह्वाइट हाउसमा छादा गोप्य डकुमेन्टलाई उचित तरिकाले व्यवस्थापन नगरेको, चुनावलाई प्रभावित तुल्याएको जस्ता मामिलामा उनीमाथि अदालतले तान्ने सम्भावना छ। तर जर्जियाको घटनालाई अहिले नै तुरुन्त सक्रिय पार्ने सम्भावना छैन। राष्ट्रपतीय चुनावपछि नै सो मुद्दा अघि बढ्न सक्ने सम्भावना छ।

आफैंलाई माफी दिन मिल्छ?

उनले आफू राष्ट्रपतिका रूपमा निर्वाचित भइसकेपछि आफैंलाई माफी दिन सक्छन् तर अपराधीका रूपमा न्युयोर्कको म्यानहटन अदालतले जे सजाय सुनाएको छ, त्यसलाई पूर्णतः गलत साबित गर्न सक्दैनन्।

फौजदारी मुद्दामा दोषी ठहर

एन्थोनी जर्चर (बिबिसी)– घटनालाई गुपचुप राख्न रकम दिएको (हस मनी) अभियोगमा न्युयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ। कुनै पूर्व अथवा वर्तमान अमेरिकी राष्ट्रपतिलाई फौजदारी अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो।

सन् २००६ मा प्रौढ चलचित्रकी अभिनेत्री स्टार्मी डेनियल्ससँग यौन सम्बन्ध भएको र उनलाई चुप राख्न ट्रम्पका वकिलले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप उनलाई लागेको थियो। यस प्रकारको हस मनी गैरकानुनी नभए पनि यो खर्चको शोधभर्ना लिन ट्रम्पले कानुनी खर्चका रूपमा रेकर्ड गरेको अदालतको आरोप छ। यसैगरी आफ्ना व्यावसायिक रेकर्डमा घटीबढी गरेको विषयसँग सम्बद्ध अन्य ३४ मुद्दामा ट्रम्प दोषी ठहरिएका छन्।

हस मनी मामिलामा ट्रम्पले उच्च अदालतमा पुनरावेदन गर्ने योजना बनाइरहेका छन्। तर उनी जिल्ला अदालतले आगामी जुलाई ११ मा  के सजाय सुनाउनेछ भन्ने पर्खाइमा छन्। उनलाई जेल सजाय र जरिवाना भारी हुन सक्छ। तर यसको राजनीतिक प्रभाव चर्काे हुने देखिएको छ। अमेरिको इतिहासमा यसअघि कहिल्यै नभएको यो घटना आफैंमा अद्वितीय मानिएको छ।

‘यस मामिलामा के भएको थियो भनेर जान्न प्रायः हामी इतिहासमा फर्कन्छौं तर इतिहासमा त्यस्तो अथवा यस्तै कुनै रेकर्ड छैन,’ साउथर्न मेथोडिस्ट विश्वविद्यालयको सेन्टर फर प्रेसिडेन्सियल हिस्ट्रीका निर्देशक जेफ्री एंगेलले भने। ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका लागि उम्मेदवार हुने दौडमा छन् र सजाय सुनाउनुभन्दा केही दिनअगाडि पार्टीको महाधिवेशन तय गरिएको छ।

पछिल्ला चुनावी सर्वेक्षणअनुसार उनी र राष्ट्रपति जो बाइडेनबीच टक्कर देखिन्छ। जोकसैलाई मत दिन सक्ने खाका कतिपय राज्यमा ट्रम्पको केही अग्रता रहेकाले यसले चुनावको नतिजालाई उनको पक्षमा पार्न सक्ने आकलन गरिएको थियो।

गत हिउँदमा रिपब्लिकन पार्टीको प्राइमरी चुनावको समयमा गरिएको सर्वेक्षणमा, केही मतदाताले ट्रम्प दोषी ठहरिए मतदान नगर्ने बताएका थिए। गत अप्रिलमा इप्सास र एबिसी न्युजले गरेको सर्वेक्षणले ट्रम्पलाई समर्थन गर्ने १६ प्रतिशतले यस्तो अवस्थामा आफूले आफ्नो समर्थनबारे ‘फेरि सोच्ने’ बताएका थिए।

त्यतिबेला ट्रम्पलाई दोषी ठहर गरिएको थिएन र उनी त्यतिबेला चार फरक आपराधिक मुद्दाको सामना गरिरहेका थिए। तीमध्ये २०२० को चुनावी नतिजा उल्टाउन कथित षड्यन्त्र गरेको र ह्वाइट हाउसबाट बाहिरिने क्रममा गोप्य कागजातलाई अदलबदल गरेको आरोप उनी माथि थियो।

न्युयोर्कको अदालतले गरेको पछिल्लो निर्णयपछि ती मतदाताहरूले परिवर्तित परिस्थितिका आधारमा आफ्नो निर्णय लिन सक्छन्।सजायको निर्णय सुनेलगत्तै ट्रम्प अदालतबाट बाहिरिँदा ट्रम्पले भने, ‘वास्तविक निर्णय अदालत होइन, नोभेम्बर ५ मा जनताले लिनेछन्।

डेमोक्र्याटिक पार्टीका पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग काम गरेका चुनावी विशेषज्ञ डाउ सोनका अनुसार यो मुद्दा आठ वर्षअघिदेखि चलिरहेको विषय भएकाले मतदाताहरूले कसरी लिन्छन् भन्नेमा यसै भन्न सकिने अवस्था छैन।

‘मतदाताहरूले यो विषयबाहेक हालको मुद्रास्फीति, दक्षिणी सिमाना, चीन र रुससँगको प्रतिस्पर्धा, युक्रेन र इजरायलमा खर्च भइरहेको डलरको विषयमा ध्यान दिन सक्छन्,’ उनी भन्छन्। यद्यपि ट्रम्पको समर्थनमा आउने अलिकति गिरावटले पनि राष्ट्रपति चुनावको नतिजालाई उल्टाउन सक्ने कतिपयको ठम्याइ छ।

विस्कन्सिन र पेन्सिल्भेनियाजस्ता प्रमुख राज्यहरूमा पूर्वराष्ट्रपतिलाई समर्थन गर्ने केही हजार मतदाता ‘मौन’ रहे यसले ठुलो प्रभाव पार्न सक्छ। रिपब्लिकन वुमन फर प्रोग्रेसका सहसंस्थापक एली हिल–डेभिसका अनुसार युवा मतदाताहरू, कलेजका शिक्षित व्यक्तिहरू र सहरहरूमा बस्ने मानिसहरू ट्रम्पको आचरण र प्रशासकीय शैलीबाट खुसी छैनन्।

उनी भन्छिन्, ‘डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको रिपब्लिकन पार्टीका साथमा उभिन यी मतदाताहरूमा हिचकिचाहट छ।’ अमेरिकी तल्लो सदनका सभामुख माइक जोनसनले यसलाई अमेरिकी इतिहासको लाजमर्दो दिनको संज्ञा दिँदै ‘यो विशुद्ध राजनीतिक कार्य थियो, कानुनी होइन’ भनेका छन्।

प्रकाशित: १९ जेष्ठ २०८१ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App