२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक

उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

चांैथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुगेकी उपसभामुख राना र चीनका विदेशमन्त्री वाङबीच बिहीवार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्।

‘नेपाल चीनको घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकी हो। यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौं’, उनले भनिन्, ‘नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति रहेको र हामी त्यसमा प्रतिबद्ध छौँं।’  

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधै कदर गर्ने पनि उपसभामुख रानाले बताइन्।

भेटका क्रममा उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न गम्भीरताका साथ काम गरिरहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया संसदबाट छिट्टै पूरा हुनेमा आशावादी रहेको बताइन्।

नेपालको ध्यान समृद्धिको लागि दिगो, समावेशी र उच्च आर्थिक वृद्धि ल्याउनेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो।

अर्को प्रसंगमा उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन्।

उनले हिमालय क्षेत्रका देशहरुका बिचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रर्बद्धन गर्न र आपसी सहयोग विकास गर्न महत्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास पनि व्यक्त गरिन्।

उनले यो फोरमले बीआरआईलाई मात्र नभई देशहरूबीचको व्यापार, पारवहन र लगानीलगायतका सामाजिक–आर्थिक सहकार्यलाई पनि प्रवर्द्धन गर्ने भन्दै ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठूला परियोजनाहरूलाई कार्यान्वयनको आवश्यकता औल्याइन्।

प्रकाशित: २१ असार २०८१ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App