२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

एसइई नतिजामा इलामका पालिका: फाकफोकथुममा २० विद्यार्थी मात्रै पास

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा इलाममा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा केही पालिकाको उत्तीर्ण प्रतिशत निकै कम देखिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये फाकफोकथुम गाउँपालिकाको उत्तीर्णदर सबैभन्दा थोरै ७.९ प्रतिशत छ।

फाकफोकथुममा दुई सय ५३ जना विद्यार्थीले परीक्षा दिएकोमा २० जना मात्रै विद्यार्थी उत्तीर्ण भए। अरू पालिकाले एसइईको नतिजा विश्लेषणसहित सुधारका उपाय खोजिरहेका बेला फाकफोकथुमले भने नतिजा विवरणसमेत संकलन नगरेको पाइएको छ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख मताबसिंह लिम्बूले सुरुमा पालिकाका विद्यालयहरूबाट २० विद्यार्थी उत्तीर्ण भएको आफूले थाहा पाएपनि कति विद्यार्थीले परीक्षा दिएका थिए भन्ने विवरण नभएको जबाफ दिए।

‘मलाई उत्तीर्ण भएको संख्या थाहा छ, जम्मा कति जनाले परीक्षा दिए भन्ने त अहिलेसम्म खोजिएकै पो छैन,’ उनले नागरिकन्युजसँग भने, ‘अब चाहिँ यसो संख्या भेला गर्नुपर्ला।’ त्यसको एक घन्टापछि मात्र उनले पालिकाका विद्यालयबाट एसइई परीक्षा दिने विद्यार्थीको जम्मा संख्याबारे जानकारी दिए।

माइजोगमाई गाउँपालिकाबाट ९.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। दुई सय ६६ विद्यार्थीले परीक्षा दिएकामा २६ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनायो। शाखा प्रमुख करुणा नेपालले पालिको नतिजा अनपेक्षित आएपछि पालिका तुरुन्त त्यसको विश्लेषण र समाधानमा लागेको बताइन्। ‘अहिले पनि हामी यही विषयको बैठकमा थियौं,’ उनले भनिन्, ‘अबचाहिँ पालिकाले विगतका कमी–कमजोरी सच्याएर शिक्षा विकासका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गर्दैछ।’

उनले यसपटकको परीक्षामा धेरै विद्यार्थी नन् ग्रेडेड हुनुमा एउटैमात्र कारण नरहेको बताइन्। ‘शिक्षा प्रणाली, विद्यार्थीको यसअघि झैं पास भइहालिन्छ भन्ने मनस्थिति, शैक्षिक सत्रको बीचमा शिक्षक सरुवा, स्तरीकृत परीक्षा अभावजस्ता कारणले यो पटक उत्तीर्ण संख्या घटेको हामीले विश्लेषण गरेका छौं,’ उनले भनिन्, ‘आगामी दिनमा यो नतिजा सुधारमा पालिकाले कार्यक्रम ल्याउनेछ।’

यस्तै, ज्यादै कम संख्याका विद्यार्थीमात्रै उत्तीर्ण भएको अर्काे पालिका माङ्सेबुङ हो। माङ्सेबुङबाट यो वर्ष १०.९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए। दुई सय २० विद्यार्थीले परीक्षा दिएकामा २४ जना उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख बुद्धि खतिवडाले बताए। ‘खै के कारणले नतिजा राम्रो नआएको हो भन्ने टुंगो नै पो भएन,’ उनले भने, ‘राष्ट्रिय रूपमै यसपटक त्यस्तै नतिजा आएर होला।’

सन्दकपुर गाउँपालिकाबाट पनि १२.१९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन्। शिक्षा शाखाका अनुसार एक सय ६४ विद्यार्थीले परीक्षा दिएकामा २० जनामात्रै उत्तीर्ण भएको शाखा प्रमुख कल्पना ढकालले जानकारी दिइन्। माई नगरपालिकाबाट पनि १८.८४ प्रतिशत मात्र उत्तीर्ण भए। तीन सय ९८ जनाले परीक्षा दिएकामा ७५ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ।

रोङ गाउँपालिकामा पनि २०.१४ प्रतिशत उत्तीर्ण भएका छन्। शिक्षा शाखा प्रमुख सृष्टि तामाङका अनुसार एक सय ३९ जनाले परीक्षा दिएकामा २८ जना उत्तीर्ण भएका हुन्। तामाङले नतिजा सुधार्न पालिकाले छलफल आयोजना गर्ने र विद्यालयलाई सुझाव दिने बताइन्।

देउमाईमा तीन सय ८१ विद्यार्थी सहभागी भएकामा ९२ जना (२४.१४ प्रतिशत) उत्तीर्ण भए। नगरका शिक्षा शाखा प्रमुख रुपेन्द्रराज न्यापानेले पढाइमा निकै मेहनत गरेका विद्यालयको समेत नतिजा सन्तोषजनक आउन नसकेको बताए। 

‘हामीलाई यो नतिजाले निरास बनाएको छ,’ उनले भने, ‘विद्यालयको मात्रै कमजोरीले नतिजा राम्रो नआएको भन्न सकिने अवस्था छैन, धेरैथोक सुधार्नुपर्छ।’ उनले पालिकाले शिक्षा क्षेत्र सुधारका काम अघि बढाउने उनको भनाइ छ।

सूर्याेदय नगरपालिकाबाट ३६.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले पाँच सय ५९ विद्यार्थीले परीक्षा दिएकामा दुई सय दुई जना उत्तीर्ण भएको बताए।

चुलाचुली गाउँपालिकामा ५४.७७ प्रतिशत उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताए। उनका अनुसार दुई सय ८३ विद्यार्थीले परीक्षा दिएकामा एक सय ५५ उत्तीर्ण भएका छन्।

इलाम नगरपालिकाबाट सबैभन्दा धेरै ५५.८१ प्रतिशत उत्तीर्ण भएका छन्। इलाम नगर स्वास्थ्य शाखा प्रमुख राधिका घिमिरेका अनुसार सात सय ७४ विद्यार्थीमध्ये चार सय ३२ जना उत्तीर्ण भएका हुन्।

इलाम नगरका १५ सामुदायिक र १३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षमा सामेल थिए। शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लका १४ विद्यालयको नतिजा भने शून्य आएको छ। 

प्रकाशित: २१ असार २०८१ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App