२० असार २०८१ बिहीबार
image/svg+xml
प्रवास

कोरिया जस्तो आएको थिएँ, त्यस्तै नेपाल फर्कन सकूँ : यमुना राना (भिडियोसहित)

दैलेखमा जन्मिएकी यमुना राना वैदेशिक रोजगारका क्रममा यो बेला दक्षिण कोरियामा छन् । १८ महिनाअघि ईपीएस कामदारका रूपमा कोरिया पुगेकी उनको भोगाइमा वैदेशिक रोजगार कति सहज अनि कति असहज ? उनको अनुभव यस्तो छ...

नमस्कार

म यमुना राना। मेरो जन्मघर दैलेख हो। अहिले दक्षिण कोरियामा ईपीएस कामदारको रूपमा कार्यरत छु। म यहाँ आएको डेढ वर्ष हुन लाग्यो। मैले अहिलेसम्म चिकन काट्ने कम्पनीमा काम गर्दै आइरहेको छु। मेरो कामको बारेमा भन्नुपर्दा, मलाई सुरुमा एकदमै गाह्रो भएको थियो।  २-३ महिना मैले रोएरै काम गरेभन्दा पनि हुन्छ। त्यसपछि काममा बानी पर्न ६-७  महिना नै लाग्यो। अहिले पनि उत्तिकै गाह्रो हुन्छ काम गर्नलाई।  

नेपालबाट पनि कोरियामा गएर अलि गाह्रो कामहरु नै गर्नुपर्छ भन्ने कुरा थाहा थियो, तर यतिधेरै गाह्रो होला भनेर सोचेको पनि थिएन मैले। यति धेरै परिश्रम गरेअनुसार आम्दानी पनि भएकै हो भन्नु पर्छ।  

महत्त्वपूर्ण कुरा भनेको चै हामीले कमाएको पैसा बचत हुन्छ कि हुँदैन भन्ने हो। हामीले विशेष गरेर आफ्नो परिवारलाई नै नेपालमा पैसा पठाउने हो। त्यसैले वैदेशिक रोजगारमा हुने सबै साथीहरु र मेरोतर्फबाट आफन्तजन, परिवारजनलाई आग्रह छ, यदि तपाईंका छोराछोरी, दाजुभाइ, दिदीबहिनी, श्रीमान्श्रीमतीहरु जो पनि वैदेशिक रोजगारमा हुनुहुन्छ र उहाँहरुले तपाईलाई पैसा पठाउनुहुन्छ भने उहाँहरुलाई माया गरेजस्तै गरेर पैसालाई पनि माया गर्नुहोला। बचत गरेर राखिदिनुहोस् र सही ठाउँमा सदुपयोग गरिदिनुहोस्।  

कोरियामा श्रमको बारेमा कुरा गर्नुपर्दा, हामी १२ देखि १४ घण्टासम्म रेगुलर खटिएर काम गर्छौ। यसले श्रम गर्ने बानी भने बस्छ। यो भनेको एकदमै राम्रो पक्ष हो। नेपालमा हाम्रो यतिधेरै शारिरिकरूपमा श्रम गर्ने बानी छैन। अर्को कुरा भनेको कृषिमा गरिने काम भनेको हाम्रो लागि ठूलो सिप पनि हो। यहाँ आधुनिकरूपमा खेतिपाति गरिने हुँदा नेपालमा गएर त्यसलाई सदुपयोग नै गर्न सकिन्छ भन्ने जस्तो लाग्छ ।  

म यहाँ कोरियामा आइसकेपछि केही समय बसेर, पैसा कमाएर नेपालमा फर्केर आफ्नै केही गर्ने योजना छ। मलाई एकदमै मनपर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो। कृषि क्षेत्रमै केही गर्छु भन्ने योजना पनि मसँग छ।  

अर्को कुरा, कोरियामा रहँदाबस्दा स्वस्थ हुनु पनि महत्त्वपूर्ण कुरा हो। त्यही भएर साथीहरुलाई स्वास्थ्यमा एकदमै ध्यान दिन आग्रह गर्छु। काम गर्ने ठाउँमा सुरक्षित भएर पनि काम गर्न आवश्यक छ। हामी जस्तो आएका थियौं, त्यस्तै नेपाल फर्कन सकूँ भन्ने अनुरोध गर्दै बिदा हुन्छु ।  

नमस्कार ।  

प्रकाशित: ४ असार २०८१ १८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App