२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ। स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो।

४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताए। ‘खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ।’

स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो। चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ।

स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराएका थिए। हाल हङ्कङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा १८ लाख छ हजार एक सय ५३, बेलायतमा रहेका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा छ लाख ९१ हजार, अष्ट्रेलियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा रु दुई लाख १५ हजार र सिङ्गापुरबाट एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ।

रघुगङ्गा गाउँपालिकाले चालु आव २०८०/८१ मा सात लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले आठ लाख १८ हजार पाँच सहयोग गरेका छन्।

पाखापानीका एक सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन्। थिरवाङ टोलवासीले गिट्टी र १२ हजार नगद सहयोग गरेका थिए। कमनाथबाट ११ हजार र पाखापानी गाउँबाट नौ हजार सहयोग प्राप्त भएको थियो।

स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उहाँका छोराहरू खिम पुन र भीम पुनले तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गरे। खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताए।-रासस

प्रकाशित: १८ असार २०८१ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App