२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

बागमती र गण्डकीलाई उपाधि

सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि बागमती र गण्डकी प्रदेशले जितेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिपद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा महिलातर्फ बागमतीले लुम्बिनी र पुरुषतर्फ गण्डकीले लुम्बिनीलाई पराजित गर्दै उपाधि हासिल गरेका हुन्।

समूह ‘ए’ मा विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको बागमतीले कोसी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको थियो । अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल पुगेको लुम्बिनीले भने गण्डकी प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गर्दै बागमतीसँगको उपाधि भिडन्त पक्का गरेको थियो। तर, अधिकांश राष्ट्रिय टोलीका र एभरेस्ट भलिबल क्लबका खेलाडी लिएर उत्रिएको लुम्बिनीले फाइनलमा अघिल्ला चरणमा जस्तो उत्कृष्ट खेल देखाउन सकेन।

पहिलो सेटदेखि नै दबाब झेलेको लुम्बिनीले २५–२१, २५–१६ र २५–१८ को नतिजा बागमतीलाई सुम्पियो र उपाधि गुमायो। महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले कोसी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्‍यो।

पहिलो सेट २५–१६, दोस्रो १५–२२ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट २०–२५ ले गुमायो। त्यसपछिको सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै गण्डकी तेस्रो स्थान हासिल गर्न सफल भयो। पुरुषतर्फको अर्को खेलमा भने दोस्रो सेटमा पुनरागमन गरिसकेको लुम्बिनीले गण्डकी प्रदेशलाई ३–१ को नतिजा सुम्पियो।

पहिलो सेट २५–१५ ले जितेको गण्डकीले दोस्रो सेट २०–२५ ले गुमाएको थियो। तर, त्यसपछिका दुई सेट २५–२० ले जित्दै गण्डकीले उपाधि उचालेको हो। गण्डकी समूह ‘बी’ को उपविजेता र लुम्बिनी समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए। गण्डकीले सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ३–१ र लुम्बिनीले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का  गरेका थिए ।

पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। २५–१९, २५–२३, २५–२१ ले खेल जित्दै सुदूरपश्चिम तेस्रो हुन सफल भयो। उपाधिसँगै बागमती र गण्डकीले समान तीन लाख हात पारे। उपविजेता बनेको लुम्बिनीले समान दुई लाखमा चित्त बुझायो। तेस्रो स्थान हात पारेको सुदूरपश्चिम र गण्डकीले एक/एक लाखमा चित्त बुझाए।

महिलातर्फ बेस्ट लिबेरो अञ्जली प्रधान, बेस्ट सेटर भावना तामाङ, बेस्ट स्पाइकर सलिना बुढामगर र उत्कृष्ट खेलाडी जेनिशा विश्वकर्मा घोषित भइन्। उनीहरू बागमतीकी हुन्। यस्तै, बेस्ट सर्भर गण्डकीकी सोइङ थापा र बेस्ट ब्लकर लुम्बिनीका निशा चौधरी चुनिइन्।

पुरुषतर्फ बेस्ट लिबेरो जितबहादुर सार्की, बेस्ट सर्भर सूर्य विश्वकर्मा र उत्कृष्ट खेलाडी विश्वास अधिकारी घोषित भए। उनीहरू गण्डकीका हुन्। बेस्ट सेटर लुम्बिनीका दीपेश कुँवर, बेस्ट स्पाइकर लुम्बिनीकै सागर रसाइली र बेस्ट ब्लकर सुदूरपश्चिमका अर्जुन नेपाली घोषित भए। दुई उत्कृष्ट खेलाडीले जनही २५ हजार र अरूले १० हजार रूपैयाँ प्राप्त गरे।

प्रकाशित: १६ असार २०८१ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App