२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जालाई

उपाधि विजेता स्याङजा। तस्बिरः नागरिक

घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जाले हात पारेको छ।  

पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९.३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सफल भएको थियो। जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाले ३९ बल बाँकी छँदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो। उपाधिसंगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

कास्कीका भरपर्दाे मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए। उनलाई करण पंगेनीले रन आउट गरे। मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिशेक थापाले २५ बलमा १७ रन बनाए। सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिएका थिए। बागलुङका लागि ३.४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए।

जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए। विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गरेको थियो। स्याङजाका लागि करण पंगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए। अनिष ताम्राकारले ७ रन बनाए। उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए।  

स्याङजाका अर्का व्याट्सम्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे। सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए। उनलाई अभिषेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे। खेलमा स्याङजाका करण पगेनी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए।

जेठ ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए। उनीहरुले नगद सहित ट्रफी हात पारे।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको समापनका अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिबद्ध रहेको जनाउँदै यस प्रकारका प्रतियोगिताहरुले खेलाडीहरुमा उत्साह बढाउने भन्दै प्रंशसा गरे।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री पञ्चराम गुरुङले खेलकुदले पर्यटन प्रर्वद्धनमा समेत उल्लेख्य भूमिका खेलेको बताउँदै यूवाहरुलाई आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्न सुझाव दिए। प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले खेल क्षेत्रले पोखरालाई पनि चिनाउन सकेको बताए।  

प्रकाशित: ६ असार २०८१ १७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App