२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेले सहकारीको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट भइसकेको बताएका छन् । सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले संसदीय छानविन समितिले त्यसलाई अझ प्रष्टरुपमा जनता माझ ल्याउने विश्वास व्यक्त गरे ।  

मन्त्रिपरिषद् पुर्नगठनमा दुई दलबीच सहमति हुन नसक्दा तत्कालीन कांग्रेस र माओवादीबीचको गठबन्धन भत्किएको बताउँदै उनले मन्त्रिपरिषद् पुर्नगठनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्वार आग्रह गरेको भएपनि कांग्रेसले सहमति नदिएको बताए ।

‘स्थानीय तह, प्रदेश र संघको निर्वाचनका जाँदा माओवादीसँगको गठबन्धन आउँदो चुनावसम्म कायम राख्ने सहमति थियो,’ उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको निहुँ बनाएर गठबन्धन भत्काउनुभयो ।’  

प्रधानमन्त्रीले कांग्रेसको महासमितिमा पेश भएका दस्तावेजलाई प्रमुख कारण भएको बताए पनि उक्त कुरामा सत्यता नभएको निधिको भनाइ छ । उनले पाँच वर्षको अवधिमा पहिलो कार्यकाल माओवादी केन्द्रका अध्यक्ष दाहाल, दोस्रो कार्यकाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएपनि प्रधानमन्त्रीका कारण समझदारी टिक्न नसकेको बताए ।  

नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनका लागि कांग्रेसको भूमिका अझ महत्वपूर्ण रहेको बताउँदै संविधानमा लेखिए अनुसार प्रदेश र स्थानीय तहलाई कानुन बनाएर अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए । निधिले २०८४ मा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए ।

प्रकाशित: २५ जेष्ठ २०८१ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App