२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

महत्त्वपूर्ण नियुक्तिलाई प्राथमिकतामा राखेर धमाधम अन्तर्वार्ता लिँदै सरकार

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला सरकारले महत्त्वपूर्ण नियुक्तिलाई प्राथमिकतामा राखेर अन्तर्वार्ता लिन सुरु गरेको छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी)नियुक्तिका लागि बिहीबारबाट अन्तर्वार्ता लिन थालेको हो । यो क्रम शुक्रबार विहान, दिउँसो पनि कायम रहेको थियो । नेकपा एमालेले सरकार अल्पमत परिसकेको र विश्वासको मत फिर्ता लिएको अवस्थामा कुनै नियुक्ति, सरुवा र बढुवा नगर्न आग्रह गरिसकेको अवस्थामा सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी)नियुक्तिका लागि अन्तर्वार्ता लिन थालेको हो । 

अन्तर्वार्ता सूचना तथा सञ्चार मन्त्रालयमा लिइएको थियो । बिहीबार साँझ अनिलकुमार झा र कमल लामिछानेको अन्तर्वार्ता लिइएको थियो । शुक्रबार विहान कृष्णप्रसाद भण्डारी र केदारनाथ कोइरालाको अन्तर्वार्ता लिइसकेको छ भने अहिले चिन्तामणी बराल र नगेन्द्रकुमार दासको अन्तर्वार्ता चलिरहेको छ । 

वर्तमान सरकारको सहयात्री नेकपा एमालेले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रससँगको नयाँ समीकरण बनाएर अध्यक्ष एमाले केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने तयारी थालेपछि सरकारले टेलिकमको एमडी नियुक्तिका लागि अन्तर्वार्ता लिन थालेको छ । 

यसअघि असार १० गते नेपालका प्रहरीका डिआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरेको भएपनि मन्त्रिपरिषद बैठकले बढुवा गर्न नसकी विदा गरेको थियो । बिहीबार मन्त्रिपरिषदको बैठक बसेको भएपनि डीआइजी पोखरेलको बढुवा गरेको थिएन । 

एमालेको कारण देखाएर डीआइजी पोखरेललाई विदा गरेको सरकारले नेपाल टेलिकमको एमडीमा भने आफ्ना मान्छे नियुक्तिका लागि अन्तर्वार्ता लिन थालेको हो । अन्तर्वार्ताको क्रम असार २२ गते अर्थात् शनिवार ६ बजेसम्म चल्नेछ । शनिवार अन्तर्वार्ता लिएपछि सरकारले आइतबार नै टेलिकमको नियुक्ति गर्ने बताइएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयमा अन्तर्वार्ता चलिरहेको बताए । ‘नेपाल टेलिकमको एमडीका लागि अन्र्तवार्ता चलिरहेको छ, ’ सहसचिव ठाकुृरले भने । उनका यो क्रम आइतबारसम्म चल्ने पनि बताए । ‘अन्तर्वार्ता आइतबारसम्म छ तर यसको नतिाजा कहिल आउछ त्यो भने थाह छैन’, उनले भने । मन्त्रालयले अन्तर्वार्ताका लागि पठाएको समय तालिकामा भने शनिवार साँझ उल्लेख छ । 

मन्त्रालयका उपसचिव इन्द्रप्रसाद बस्यालले असार १७ गते जारी सूचनामा शनिवारसम्मको समयतालिका रहेको छ । नेपाल टेलिकमको एमडी बनाउनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका एमडी अनिलकुमार झालाई ल्याउन गरी अन्र्तवार्ता सुरु गरिएको स्रोतको दावी छ । त्यसका लागि २० गते बिहीबारदेखि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता सुरु भएको हो । सरकार फेरिने भएपछि झाको पक्षमा निर्णय लिन सञ्चार मन्त्रालयका केही अधिकारीहरु समेत लागेको स्रोतको दावी छ ।

प्रकाशित: २१ असार २०८१ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App