२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छः प्रधानमन्त्री

हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल । तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री पुष्पकमल दाहाल (Pushpa Kamal Dahal) ले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पर्वतीय समुदाय र उनीहरूले प्रदान गर्ने पारिस्थितिकीय सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन हुनुपर्ने बताएका हुन्। 

पर्वतीय देशका मान्यता प्रवर्द्धनका लागि सामूहिक यात्रा सकारात्मकरूपमा अघि बढेको र जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिने दरलाई तीब्र भएको उनको भनाइ छ।  

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रका बासिन्दाहरुको संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावहरूले पर्वतीय जीविकोपार्जनलाई गम्भीर असर पु¥याएको जिकिर गरे। 

तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय

उनले हिमाली क्षेत्रका जनताको कल्याण गर्न, पारिस्थितिकी प्रणालीको विविधता, स्थिरता र स्थायित्व बढाउन र स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै दिगो विकासका विकल्पहरू पहिचान गर्न क्षेत्रीय र विश्वव्यापी सहयोगमा ध्यान केन्द्रित हुने पनि बताए।

उनले भने, ‘म जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का हालैका प्रतिवेदनहरू उल्लेख गर्न चाहन्छु, जसले पर्वतहरूमा जलवायु परिवर्तनको प्रभाव अकल्पनीय रहेको सङ्केत गरेको छ। यो स्पष्ट छ कि संसार जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेका पर्वतीय देशहरू तातोको प्रतिकुल प्रभावले अत्यधिक प्रभावित भएका छन्। यसले पर्वतीय क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिने दरलाई तिब्र बनाउँदै लगेको छ। जल उपलब्धता परिवर्तन गर्दै चरम अवस्था निम्त्याइरहेको छ। यसले जल सुरक्षामा गम्भीर चुनौती पैदा गरेको छ र यी जल स्रोतहरूमा निर्भर रहेका लाखौं मानिस र माथिल्लो र तल्लो भेगका देशहरूलाई असर पुर्‍याइरहेका छन्। हामीले जसरी हाम्रा स्वच्छ प्राकृतिक स्रोतहरूको सङ्कट अनुभव गरिरहेका छौँ, यो जलवायु परिवर्तन हाम्रा लागि गम्भीर चिन्ताको विषय हो। पर्वतहरूमा तापक्रम वृद्धिदर समथर भूभागमा भन्दा उच्च छ।’ 

तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय

‘पर्वतीय समुदायहरू र उनीहरूले प्रदान गर्ने पारिस्थितिकी सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन गर्नुपर्छ भन्नेमा विश्वस्त छु। तापक्रम १.५ डिग्री सेल्सियसमा सिमित गर्न, तत्कालताका साथसाथै हिमाली क्षेत्रका जनताको कल्याण गर्न, पारिस्थितिकी प्रणालीको विविधता, स्थिरता र स्थायित्व बढाउन र स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै दिगो विकासका विकल्पहरू पहिचान गर्न क्षेत्रीय र विश्वव्यापी सहयोगमा ध्यान केन्द्रित गर्नुपर्नेछ,’उनले भने।

तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय

यस्तै,प्रधानमन्त्री दाहालले पर्वतीय मुद्दाहरूलाई अगाडि बढाउन एवं पर्वत र समस्याको दिगो समाधान खोज्नका लागि विश्वव्यापी सहमति र समर्थनको आवश्यकता रहेको बताउँदै जलवायु परिवर्तनसँग सामना गर्नुपर्ने तत्कालको आवश्यकता बुझेर नै नेपालले अन्तर्राष्ट्रिय संवाद आयोजना गरेको समेत बताए।

प्रकाशित: ९ जेष्ठ २०८१ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App