२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘मदिरा सेवनका कारण बर्सेनि ३० लाखको मृत्यु’

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनका कारण बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ।

मङ्गलवार एक प्रतिवेदन सार्वजनिक गर्दै सङ्गठनले हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको बताएको छ।

मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष विश्वभर हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ।

उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाखको मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ। यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत रहेको थियो। यसमा करिब तीन–चौथाई पुरुषहरू रहेका थिए।

सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हनोम घेब्रेयसुसले बताए।

युवाहरू असमानरूपमा प्रभावित भएको उल्लेख गर्दै उनले भने, ‘तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ।’

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको उनको भनाइ छ।

मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको प्रतिवेदनमा उल्लेख छ। सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसङ्क्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा भनिएको छ।

यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो।

प्रतिवेदनले मदिराको दुरुपयोगले मानिसहरूलाई क्षयरोग, एचआइभी र निमोनियाजस्ता सङ्क्रामक रोगप्रति अधिक संवेदनशील बनाउने औँल्याएको छ।

सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए। यो विश्व जनसङ्ख्याको तीन दशमलव सात प्रतिशत हो।

प्रतिवेदनले सबैभन्दा कम खपत मुख्यगरी उत्तरी अफ्रिका, मध्यपूर्व र एसियाका मुस्लिम मुलुकहरूमा रहेको बताएको छ। रासस

प्रकाशित: १२ असार २०८१ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App