१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सुरक्षित गर्भपतनकाे सेवापछि दुर्गमका स्थानीय महिलाका अनुहारमा खुसी‍‍‍...

बैतडीको दुर्गम गाउँमा रहेको कटौजपानी स्वास्थ्य चौकीले सुरक्षित गर्भपतन सेवा दिन सुरु गरेको छ। जिल्लामै विकट मानिने दोगडाकेदार गाउँपालिका वडा नम्बर-८ कालागाउँमा रहेको उक्त चौकीले वडाभरिका मात्रै नभएर छिमेकी पुर्चौडी नगरपालिकाका महिलाहरुलाई समेत सुरक्षित गर्भपतन सेवा तथा अन्य स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आएको हो।

उक्त वडामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य चौकीमा कार्यरत अनमी रमिता जोशीले जानकारी दिइन्। उक्त वडाकाे जनसंख्या १९ सय ४१ छ।

फागुनदेखि सञ्चालनमा आएको उक्त सेवा एक महिनामा ४ देखि ५ जना महिलाले लिएको उनले बताइन्। सुरुमा सेवा लिनेको सङ्ख्या धेरै कम थियो। अहिले बिस्तारै त्यो क्रममा बढ्दै गएको उनको भनाइ छ।

यस्तै, अनमी जोशीका अनुसार ‘सबै टोलमा आमा समूह छन्। कतिपय ठाउँमा हामी आफै जान्छौ। जहाँ स्वास्थ्य आमा समूहको बैठक बस्छ त्यहाँ हामी एक जना अनिवार्य जान्छौं। चौकीमा सुरुवातदेखि नै प्रसूति सेवा चौबिसै घण्टा सञ्चालन छ।’

उनले भनिन्, ‘प्रत्येक दिन चौकीमा सामान्य रुघाखोकी सुरक्षित मातृत्वदेखि अन्य खालका १५ देखि २० जना बिरामी आउने गर्छन्। हाम्रो चौकीभित्रका स्थानीय नागरिक मात्रै होइनन्, पुर्चौडी नगरपालिकाको वडा नं-९ तल्लादेही र वडा नं-१० बिजयपुरका अधिकांश नागरिकहरुले समेत सेवा लिने गर्छन्। हामीले अन्य बिरामीहरुको उपचार समेत गर्ने गरेका छौँ।’

महिनौं पिच्छे गाउँमा रुवाबासी चल्दथ्यो, हातमै कोदाली हुन्थ्यो, खोलाका किनारहरू भरिएका हुन्थे, तर आज त्यो देख्न र सुन्न नपरेको र दुःखदायी दिनहरुको अहिले गाउँमा पूर्ण रूपमा अन्त्य भएको त्यहाँका स्थानीयहरु बताउँछन्।

यो सेवा सञ्चालन भएपछि धेरै सजिलो भएको स्थानीय महिला सरिता बिष्टले बताइन्। चौकीमा उक्त सेवा दिन थालेपछि आफुहरु निकै खुसी भएको त्यहाँका महिलाहरुको भनाइ छ। सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा सरकारले लागू गरेको छ।

इच्छा नभएका गर्भ पतन गराउन नचाहने महिला तथा किशोरीलाई सुरक्षित रुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु चौकीको मुख्य उद्देश्य रहेको चौकीका इन्चार्ज महेश सिंह बिष्टले बताए।

उनले गर्भपतन गर्नुपर्छ भन्ने उद्देश्य नभएको तर असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पुर्‍याउने उनको भनाइ छ। सुरक्षित गर्भपतन गर्दा हुने सहजता र सेवाका बारेमा महिलालाई परामर्श तथा सल्लाह दिई गर्भपतन गराउने गरेको उनले सुनाए।

खासगरी, उक्त ठाउँमा सञ्चार नेटवर्कको समस्या छ। नेटवर्क नहुँदा स्थानीय चौकीका काम प्रभावित हुने गरेको छ। कुनै ठाउँमा घटना, दुर्घटना हुँदा प्रहरीलाई खबर गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ। पहिले घाम लाग्दा आउने सञ्चार सेवा अहिले घाम लागेको बेला पनि आउँदैन्।

डिलासैनी गाउँपालिका-४ बलालीमा रहेको नेपाल टेलिकमको नमस्ते टावरमा विद्युत् सेवा नहुँदा सोलार प्रविधिबाट जडान गरिएकाले समय समयमा फोनलाइनमै समस्या आउने गरेको नेपाल टेलिकम शाखा बैतडीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८० ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App