२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘ओभर स्टे’ पर्यटकको काम: दैनिक मजदुरी

गतसाता १२ जनालाई स्वदेश फर्काइयो

पर्यटकीय सहर पोखरा।

पर्यटक प्रहरी कार्यालय पोखराले केहीदिन अघि विभिन्न मुलुकका १२ जना पर्यटकलाई पक्राउ गर्यो। प्रहरीले ‘ओभर स्टे’ (तोकिएको भन्दा बढी समय बसेको) बसेको भन्दै ती पर्यटकलाई पोखरा क्षेत्रमा पक्राउ गरेर अध्यागमन कार्यालयलाई बुझाएको थियो। पक्राउ परेका उनीहरुमध्ये धेरैजसो अध्यागमन हुँदै स्वदेश पुगिसकेका छन्।  

पर्यटक प्रहरीका अनुसार पोखरा क्षेत्रमा लामो समयदेखि लुकिछिपि ती पर्यटक बसेका थिए। ती मध्ये केहीले त पोखरामै ज्याला मजदुरी समेत गर्दै आएका थिए । केही घुमफिरका लागि मात्र बस्ने गरेका थिए। पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी निरिक्षक जगदिश रेग्मीका अनुसार पक्राउ परेका एकजना विदेशी पर्यटक चारवर्षदेखि पोखरामै बसिरहेका थिए।

‘चारवर्षदेखि पोखरामै बसिरहेका ती पर्यटक कोभिड संक्रमणपछि स्वदेश फर्केका थिएनन। पोखरामा लुकिछिपि बसेका ती पर्यटकले ज्यालादारी काम गरेर जिविका चलाउने गरेका थिए,’ उनले भने, ‘ती विदेशी पर्यटकले आम्दानीका लागि घरमा रंगरोगनको काम समेत गर्ने गरेका थिए। आएको ज्यालाले खर्च धानेका थिए।’ रेग्मीका अनुसार पर्यटक भिषामा आएका विदेशी नागरिक वर्षमा बढीमा १ सय ५० दिनसम्म मात्र नेपाल बस्न पाउँछन। तर, कतिपय विदेशी भने भिसा अवधि सकिएपछि पनि लुकिछिपि बस्ने गरेका छन।  

रेग्मीका अनुसार क्यानडा, जर्मनी, बेलायत, इजरायल लगायतका मुलुकका ती पर्यटक पोखरामा फेला परेका थिए। ‘पर्यटकको भेषमा भित्रिएका उनीहरु कुनै न कुनै निहुँ पारेर पोखरा क्षेत्रमा बस्ने गरेका थिए। प्रहरी सम्पर्कमा आउन पनि नखोज्ने उनीहरु सहरका कुनाकाप्चामा बस्ने गरेका रहेछन,’ उनले भने। उनका अनुसार भिसा अवधि सकिएपछि पनि विभिन्न कारणले पर्यटकले नेपाल छाड्न चाहेनन।  

‘सस्तोमा बस्न पाइने भनेर पनि केहीले बुझेका रहेछन। त्यसबाहेक केहीले त मागेरै गुजारा पनि चलाएको पाईयो। केहीले लेकसाइड क्षेत्रमा मनोरञ्जनात्मक गतिविधि गरेर बस्ने गरेको पनि भेटियो,’ उनले भने, ‘लेकसाइडमा बेलुकीतिर गितार बजाउने र अरु विदेशीसँग पैसा मागेर खर्च धान्ने पर्यटक पनि भेटिए।’ सस्तोमा बस्न पाइने भएपछि लुकिछिपि बस्ने गरेको उनले बताए।  

पोखराको मौसम राम्रो भएको र थोरै रकमले पनि खर्च धान्ने भएकोले केही पर्यटक पोखरामा बस्ने गरेको उनले बताए। ‘विदेशी पर्यटक भएपनि उनीहरुसँग भिसा नवीकरण गर्दा लाग्ने जरिवाना तिर्ने रकम पनि थिएन,’ उनले भने, ‘सस्तोमा बस्न पाइने भन्दै कतिपय विदेशी पोखरामा बस्न रुचाउँछन।’ कुनै अप्ठेरो नपरेसम्म प्रहरीको सम्पर्कमा पनि त्यस्ता पर्यटकले आउन नचाहेको उनले सुनाए।  

‘पोखरालाई सस्तो गन्तव्यको रुपमा विदेशीले बुझेका छन। विदेशी पर्यटकले दिनमा निश्चित रकम खर्च गर्नैपर्ने बाध्यकारी नभएपछि यस्तो अवस्था आउँछ,’ उनले भने, ‘तोकिएको रकम खर्चन बाध्यता भए विदेशी हच्किन्थे। तर, त्यो बाध्यता छैन।’ लुकिछिपि बस्ने ती पर्यटक मुख्य क्षेत्रमा भन्दा सहरका भित्री गल्लीमा बस्ने गरेको उनले बताए।  

‘केही त बालबच्चासहितका पनि थिए,’ उनले भने, ‘नेपालको नीति नियमलाई कमजोर ठानेर पनि केही विदेशी ओभरस्टे बस्ने गरेका छन।’ अध्यागमन कार्यालयले खोजतलासका लागि भनेपछि बल्ल ती पाहुना पहिचान भएको पनि रेग्मीले बताए। ‘बाटोमा हिडेका सबै पर्यटकको पासपोर्ट परीक्षण गर्न मिलेन। त्यही भएर ओभर स्टे बस्ने पर्यटकको पहिचानमा पनि सकस छ,’ उनले भने।

पर्यटन व्यावसायीका अनुसार आफ्नो देशमा कुनै समस्या भएका पर्यटक नेपाल आएर ओभर स्टे बस्ने गरेको पाइएको छ। एकल व्यक्ति, परिवारमा कुनै जिम्मेवारी नभएका, मानसिक रुपमा समस्याग्रस्त रहेका व्यक्ति ओभरस्टे बस्ने गरेको पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा बताउँछन।

‘नेपालमा वर्षमा १ सय ५० दिन भन्दा बढी बस्न पाइँदैन। तर, पर्यटकहरु लामो समयदेखि बस्ने गरेका हुन्छन,’ उनले भने, ‘नेपालमा कडाई नहुँदा पनि पाहुनाको ओभर स्टे हुने गरेको छ । हत्तपत्ति खोजी नै हुँदैन।’

स्वदेशमा कमजोर आयश्रोत भएका व्यक्ति पनि नेपालमा लुकेर बस्ने गरेको उनले बताए। ‘धेरै जसो एकल व्यक्ति हुन्छन। ती बाहेक मानसिक रुपमा समस्यामा रहेका व्यक्ति पनि त्यसरी बस्ने गरेका छन। एकल वा परिवारप्रति जिम्मेवारविहीन व्यक्ति बसाई अवधि तोकिएभन्दा बढी हुनसक्छ,’ उनले भने,‘केहीका व्यक्तिगत स्वार्थ पनि हुनसक्छन।’

अध्यागमन कार्यालय पोखराका प्रमुख नवराज शर्मा दोरङगाका अनुसार पर्यटक भिसामा आएका कुनैपनि विदेशी वर्षमा बढिमा १ सय ५० दिन भन्दा बढी बस्न पाउँदैनन। तर, कतिपय पर्यटक सरकारी निकायको आँखा छलेर लामो समय बस्ने गरेका छन।

‘सस्तोमा बस्ने र खान पाउने भन्दै केहीले नेपाललाई ओभरस्टेको गन्तव्य पनि बनाएका हुन्छन,’ उनले भने, ‘कडाईका साथ खोजी नहुने भएकोले पनि केही लुकिछिपि बस्न सक्छन।’ ओभरस्टे बस्ने पर्यटकको पहिचान गर्न सहज नहुने पनि उनले बताए। उनका अनुसार पोखरा सहरका आसपासका कुनाकाप्चामा ओभरस्टे बस्ने पर्यटकको बसाई हुने पाइएको छ। 

प्रकाशित: ९ असार २०८१ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App