२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्ट्रबेरी बेचेर मनग्य कमाउने गोपाल भन्छन्– जति खेती बढायो, त्यति आम्दानी बढ्छ

जुम्लाको हिमा गाउँपालिका ३ मोफ्ला गाउँका ४३ वर्षीया गोपाल रोकाया स्ट्रबेरी (भुइँ काफल) खेतीमै दिन बिताउँछन्। उनी अहिले स्ट्रबेरी टिप्ने र बेच्ने गर्छन्। उनले भने, ‘टिपेको स्ट्रबेरी बारीमै लिन आउँछन् केहीले बजारबाट त कहिले सरकारी कार्यालयबाट अडर गर्छन्।’ जति बिरुवा लगाउन सक्यो, उति फाइदा हुने उनी बताउँछन्।

यो वर्ष मात्रै रोकायाले ९० हजार रुपैयाँभन्दा बढी स्ट्रबेरी बेचे। ‘जतिसक्दो बढी बिरुवा रोप्न सक्यो, त्यति नै आम्दानी हुन्छ’, उनले जुम्लाको सदरमुकाम खलंगामा ८ सय वर्ग मिटर जग्गामा एक लाख बिरुवा लगाएका छन्। अब स्ट्रबेरीका बिरुवा पनि बेच्ने उनले बताए। प्रति बिरुवा ५ रुपैयाँ पर्छ।

उनले १० वर्षका लागि भाडामा लिएर स्ट्रबेरी खेती सुरु गरेका हुन्। पहिलो वर्ष उनले १२ बिरुवा लगाएर यसको खेती सुरु गरेका थिए। ‘मार्सी धान फल्यो भने भाउ पनि आउँदैन’, उनले भने, ‘स्ट्रबेरी त फलकै किलोको पाँच सय रुपैयाँमा बिक्री हुन्छ।’

अन्य खेतीभन्दा स्ट्रबेरीले फाइदा भएको उनी बताउँछन्। स्ट्रबेरीकै कमाइले बच्चा पढाउन र घर खर्च चलाउन सहज बनाएको छ। गोपाल रोकाया २०७६ सालदेखि व्यावसायिक रुपमा स्ट्रबेरी खेतीमा लागेका हुन्। उनले फलफूल उत्पादन तथा नर्सरी जडीबुटी प्रशोधन उद्योगसमेत सुरु गरेका छन्।

रोकायाले जुम्लामै व्यावसायिक हिसाबले पहिलोपटक स्ट्रबेरी खेती सुरु गरेको दाबी गरे। उनले भने, ‘जुम्लाको हावापानीमा स्ट्रबेरीको खेती हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न खेती सुरु गरेको थिएँ। अनुसन्धानकै लागि स्ट्रबेरी खेती सुरु गरेको हुँ।’

‘पहिलो वर्ष अलिअलि फलेको थियोे, प्रचार–प्रसार मात्रै भयो। पछिल्लो वर्ष ६० देखि ७०  हजार रुपैयाँ आम्दानी भयो’, यो  वर्ष एक सय ८० केजी उत्पादन भयो। त्यति रकम ‘धान, मकै, आलु, सिमी, जौ, गहुँ र कोदो बेच्दा पनि आउँदैनथ्यो’, उनले भने, ‘यो खेती फाइदा छ।’

स्ट्रबेरी बालबालिकाको रोजाइमा पर्ने गरेको उनले बताए। यसका बिरुवा साना र लहरा जाने किसिमका भएकाले जग्गाको तयारीमा निकै ध्यान पु¥याउनु पर्दछ। माटोलाई २–३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई खुकुलो र बुरबुराउँदो बनाउनुपर्ने उनको अनुभव छ। जराहरू माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनु हुँदैन।

वैदेशिक रोजगारीभन्दा स्वदेशमा कमाइ हुने उनी बताउँछन्। ‘विदेशमा गए पनि दुःख गर्नुपर्छ’, उनले भने, ‘दुःख गर्दा यहीं पैसा छ।’ स्ट्रबेरी खेतीलाई प्रोत्साहित गर्ने काम कतैबाट नभएको उनको गुनासो छ। उत्पादित स्ट्रबेरी जुम्ला, नाग्मा र सुर्खेत, मुगु बजारसम्म पु¥याउने गरिएको छ।

सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलितपूर्ण यन्त्र खरिद गर्न र बाहिर निकासी गर्न सहज बनाइदिएमा किसानले राम्रो आम्दानी लिन सक्ने रोकाया बताउँछन्। विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने उनको अनुभव छ। बजारमा स्ट्रबेरीको माग बढ्दो देखिन्छ।

प्रकाशित: २७ जेष्ठ २०८१ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App