२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एसयुभीले २० प्रतिशत कार्बन उत्सर्जन बढाउने

तपाईंले कत्तिको विचार गरिरहनु भएको छ, काठमाडौं र अन्य शहरहरूमा परैबाट अलग्गै देखिने एसयुभीहरूको संख्या बढ्दै गइरहेको छ नि!

नेपालमा मात्र होइन, संसारभर नै एसयुभी गाडीको आकर्षण बढेर गएको छ। सन् २०२३ मा विश्वभर एसयुभीको बिक्री अन्य कारको तुलनामा बढी हुन थालेको छ। विज्ञहरूका अनुसार पछिल्लो समय कारप्रेमीहरूको झुकाव एसयुभीतर्फ बढी हुन थालेको हो। यस्ता ठूला सवारीको बिक्रीले कार्बन उत्सर्जन बढाउने र विश्वको तापमान बढाउन भूमिका खेल्ने बताइएको छ।

इन्टरनेसनल इनर्जी एजेन्सी (आइइए) ले गरेको अध्ययनमा एसयुभीले सन् २०२३ मा २० प्रतिशत कार्बन उत्सर्जन गर्ने गरेको छ। संसारभरिका एसयुभी भेला पारेर तिनले उत्सर्जन गर्ने कार्बन जोड्ने हो भने संसारको पाँचौं सबैभन्दा बढी कार्बन उत्सर्जक बन्ने देखिएको आइइएले जनाएको छ।

यसको अर्थ, सबै एसयुभीले उत्सर्जन गर्ने कार्बन जापान र जर्मनीले उत्सर्जन गर्ने कार्बनभन्दा बढी हो। कोभिडको महामारीपछि कार्बन उत्सर्जन अचाक्ली बढेको समेत आइइएले जनाएको छ। पछिल्लो समय एसयुभीको बिक्री १५ प्रतिशतले बढेको छ। जबकि अन्य सामान्य कारहरूको बिक्री तीन प्रतिशत मात्र रहेको छ।

एसयुभी पछिल्लो समय प्रतिष्ठाको संकेत भएकाले पनि यसको बिक्री ह्वात्तै बढेको बताइएको छ। खासगरी कार उत्पादकहरूले अन्य कारको तुलनामा एसयुभी बढी सहज र आरामदायी हुने बढ्तै विज्ञापन गरेका कारण सर्वसाधारणको रुचि एसयुभीतर्फ बढेको आइइएको निष्कर्ष छ।

एसयुभीले बढी ठाउँ खाने हुनाले केहीले यसलाई असहज सवारी पनि मान्छन् तर पछिल्लो समय एसयुभी २० प्रतिशतभन्दा बढी बिक्री भएको छ । यस्ता एसयुभी प्रायः हाइब्रिड वा इलेक्ट्रिक छन्।

ट्रान्सपोर्ट एन्ड इन्भारोन्मेन्ट थिंक ट्यांकका जेम्स निक्स भन्छन्, ‘पछिल्लो समय एकपछि अर्को ठूला कारहरू फेसनमा आउन थालेका छन् । जति ठूलो कार भयो, उति मान सम्मान पाइने भ्रमका कारण सर्वसाधारणले महँगा र ठूला कार चढ्न थालेका छन्।’

उत्तरी अमेरिकामा त ठूला कार एउटा फेसन भइसकेको छ। युरोपमा पनि त्यसको देखासिकी बढ्न थालेकामा उनी चिन्तित छन्। त्यसैले यस्ता कारलाई दुरुत्साहित गर्न नयाँ नियम ल्याउनुपर्ने उनको धारणा छ।

उनी भन्छन्, ‘सामान्य सवारीका लागि ठूला कार किन चाहियो ? खासगरी बस र ट्रकका लागि चाहिने इन्जिन यस्ता कारमा हाल्नुले समाजमा देखावटी बढ्न थालेको प्रस्टिन्छ। यसलाई निरुत्साहित गर्न कारको आकार, तिनमा लाग्ने कर, पार्किङ शुल्कजस्ता कुरामा बाँधिनु पर्छ। यसो भयो भने एसयुभी किन्ने कुरामा लगाम लगाउन सकिएला!’

सन् २०२३ मा संसारभर ३६० मिलियन एसयुभी प्रयोगमा थिए। तिनले वार्षिक एक अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन गर्छन्। सन् २०२२ को तुलनामा यो १० प्रतिशतले बढी रहेको अध्येताहरूको दाबी छ। यस्ता कारको प्रयोग बढेका कारण संसारभर ६ लाख ब्यारेल प्रतिदिन खपत हुन थालेको छ।

यो भनेको संसारभर खपत हुने तेलको एक तिहाइ हो। एउटा एसयुभी कारको वजन दुई सयदेखि तीन सय केजी हुने गर्छ। यसले अन्य कारको तुलनामा २० प्रतिशत कार्बनडाइअक्साइड उत्सर्जन गर्ने गर्छ ।

सन् २०२३ मा धनी मुलुकमा दुई करोडभन्दा बढी एसयुभी बिक्री गरिएको थियो। यसको अर्थ बिक्री भएका कारहरूमध्ये एसयुभीको भागमा ५० प्रतिशत पर्नु हो।

त्यसो त विद्युतीय एसयुभीको बिक्री पनि निकै बढेको छ। सन् २०२२ को तुलनामा सन् २०२३ मा विद्युतीय एसयुभीको बिक्री ५५ प्रतिशतले बढेको छ। फ्रान्स, नर्वे र आयरल्यान्डले एसयुभी मोह घटाउन पार्किङ शुल्क चर्को पारेका छन्।

यदि यो शुल्क बढ्दा एसयुभी प्रयोगमा कमी हुने देखिए लन्डनमा पनि सोही कुराको सिको गरिने लन्डनका मेयर सादिक खानले हालै बताएका छन्।

प्रकाशित: २० जेष्ठ २०८१ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App