२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भूमिगत तार बिछ्याउने काम सुस्त

काठमाडौं उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम सुस्त देखिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ सुरु गरेको तार भूमिगत गर्ने कार्य चार वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो।

काठमाडौं उपत्यकामा पहिलो पटक २०७६ फागुन २७ गते भूमिगत तार बिछ्याउने काम रत्नपार्क–महाराजखण्डबाट सुरु भएको हो। निर्माण थालेको झन्डै चार वर्ष बितिसक्दा पनि हालसम्म काम पूरा हुन भने सकेको छैन।

हालसम्म काठमाडौं उपत्यकामा भूमिगत तार बिछ्याउने काम ६० प्रतिशत मात्र सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

कोरोना महामारी लगायतका कारणले भूमिगत तार व्यवस्थापनमा ढिलाइ भएको प्राधिकरणले जनाएको छ। आगामी डेढ महिनाभित्र काठमाडौं र ललितपुरक्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने काम पूरा हुने प्राधिकरणको दाबी छ।

‘हालसम्म समग्रमा ६० प्रतिशतभन्दा बढी ठाउँमा भूमिगत तार बिछ्याउने काम सकिएको छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने, ‘आगामी ४५ दिनभित्र सक्ने गरी निर्माण प्रक्रियालाई तीव्रता दिएका छौं।’

उनका अनुसार, भक्तपुर क्षेत्रमा भने भूमिगत तार बिछ्याउने काम निकै सुस्त छ। भक्तपुरक्षेत्रमा भूमिगत तार बिछ्याउने काम बल्ल सुरु भएको उनले बताए।

प्राधिकरणका प्रवक्ता घोषले ४५ दिनभित्र भूमिगत तार व्यवस्थापनको काम सकिने बताए पनि अहिलेकै गतिले निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न हुने अवस्था भने देखिँदैन।

कारण, मुख्य मुख्य सहरक्षेत्र र चक्रपथक्षेत्रमा तार भूमिगत गर्ने काम अघि बढ्न सकेको छैन। त्यति मात्र होइन, केही हप्ताभित्र नेपालमा भित्रिने ‘मनसुन’ का कारणले पनि निर्माण कार्यमा केही न केही ढिलाइ हुने देखिन्छ।

मौसमविद्का अनुसार यसपालीको बर्खायाममा सबैभन्दा बढी पानी पर्ने प्रक्षेपण छ। वर्षायाममा काम नहुने हुँदा प्राधिकरणले भने जसरी डेढ महिनाभित्र काठमाडौं र ललितपुर क्षेत्रको भूमिगत तार व्यवस्थापनको काम सपम्न्न हुन चुनौतीपूर्ण छ।

पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम करिब ९० प्रतिशत सम्पन्न भएको छ। त्यसबाहेक अन्य वितरण केन्द्रहरूमा भूमिगत तार व्यवस्थापनको काम भइरहेको छ। कतिपय वितरण केन्द्रका क्षेत्रहरूमा भने अहिलेसम्म पनि भूमिगत तार बिछ्याउने काम सुरु हुन सकेको छैन्।

मुख्य गरी कोर बजार क्षेत्र र सडक विभागअन्तर्गत पर्ने सडकखण्डमा भूमिगत तार व्यवस्थापनमा समस्या देखिएको प्राधिकरणले जनाएको छ। दोस्रो चरणको चक्रपथखण्ड अन्तर्गत पर्ने कलंकीदेखि चाबहिलसम्मको खण्डमा भूमिगत तार बिछ्याउने काम अघि बढ्न सकेको छैन। चक्रपथ विस्तार नगरेसम्म सो सडकखण्डमा भूमिगत तार बिछ्याउँदा समस्या हुने देखिएको छ।

बानेश्वर, बालाजु, पुतलीसडक, न्यूरोड, लैनचौर, माइतीघर, थापाथली, तीनकुने, एयरपोर्ट आसपासका क्षेत्रमा पनि भूमिगत तार बिछ्याउने काम अघि बढ्न सकेको छैन।

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भूमिगत तार बिछ्याउने काम केही हदसम्म सन्तोषजनक देखिए पनि भक्तपुर जिल्लामा भइरहेको निर्माण कार्य निकै सुस्त ढंगले भइरहेको देखिन्छ।

ललितपुर क्षेत्रमा भूगित तार बिछ्याउने काम १० प्रतिशतमात्र भएको प्राधिकरणले जनाएको छ। यसअघि कोभिडका बेला निर्माण कार्य झन्डै डेढ वर्ष अवरुद्ध हुन पुगेको थियो।

कोभिड महामारीका कारण जारी बन्दाबन्दीका बेला संक्रमण हुने जोखिम बढेपछि कतिपय श्रमिक तथा मजदुरहरू आफ्नो गाउँ फर्किएकाले निर्माण कार्य रोकिन पुगेको थियो। त्यसकारण पनि निर्माणले अपेक्षित गति लिन नसकेको प्राधिकरण स्रोत बताउँछ।

बिजुलीका पोल पोलमा गुजुल्टिएका तारहरूले सहरी सौन्दर्य कायम गर्न नसकेको र विद्युतीय जोखिम बढाएसँगै सरकारले बिजुली, इन्टरनेटलगायतका तारहरू भूमिगत गर्नुपर्छ भन्ने अवधारणा लिएको थियो।

विद्युतीय तार भूमिगत गर्न अहिलेको सडक भत्काउनुपर्छ। सडक खन्नका लागि प्राधिकरणले सडक विभागलगायतका निकायबाट समेत अनुमति लिनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको प्राधिकरणले दाबी गरेको छ।

कोरोना महामारीका बेला निर्माण अवरुद्ध भएपछि १५ महिना म्याद थप गरिएको थियो। थपिएको समयसीमा २०७९ माघमा सकिएपछि सरकारले पुनः म्याद थप गर्दै आएको छ। विद्युतीय तार भूमिगत गर्ने निर्माणको जिम्मा भने भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडले लिएको थियो।

कुल सात अर्ब लागत अनुमान गरिएको भूमिगत तार बिछ्याउने काममा ढिलाइ हुँदा लागतसमेत बढ्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकाभित्र विभिन्न तीन वटा छुट्टाछुट्टै ठेक्कामा तार भूमिगत गर्ने काम अघि बढेको छ। 

प्रकाशित: ७ जेष्ठ २०८१ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App