२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अन्योलमा दोस्रो चक्रपथ विस्तार आयोजना : आयोजनास्थल ‘खण्डहर’, अझै आएन चिनियाँ कम्पनी

काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको सडक विस्तार कार्य चिनियाँ पक्षको चरम ढिलासुस्तीका कारण अन्योल सिर्जना भएको छ।

आयोजनास्थलमा पूर्वतयारीको काम सकिएको डेढ वर्षभन्दा बढी भइसकेको छ तर चिनियाँ निर्माण कम्पनीले अहिलेसम्म विस्तार कार्य सुरु गर्न सकेको छैन।

आयोजनास्थलमा पर्ने रुख, खानेपानीका पाइप, बिजुलीको पोल हटाउनेलगायतका पूर्वतयारीको सम्पूर्ण काम सकेर सरकारले चिनियाँ पक्षलाई कुरिरहेको छ। चिनियाँ पक्ष भने निरन्तर आलटाल गर्दै आएको छ।

लामो समयसम्म विस्तार कार्य अघि बढ्न नसक्दा अहिले आयोजनास्थल खण्डहर जस्तै देखिन थालेको छ। सडकको सर्भिस लेन रहने दुवै किनारामा निर्माण सामग्री थुपार्न र सवारी साधन पार्किङ गर्न बढी प्रयोग हुन थालेको छ। साइट क्लियर गर्ने क्रममा खनिएको माटोको थुप्रो नहट्दा सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

नेपालमा ‘मनसुन’ भित्रिन केही हप्तामात्र बाँकी छ। गर्मीयाममा धुलो र पानी पर्नासाथ सडक हिलाम्मे हुने, माटो खनिएका ठाउँमा पानी जम्ने गरेकाले हिँड्न र सवारी साधन चलाउनै नसकिने अवस्थाको सामना गर्न पनि महानगरबासी बाध्य छन्।  

चक्रपथ विस्तार कार्य सुरु गर्न आलटाल गरिरहेको चिनियाँ पक्षले अहिलेसम्म आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) समेत दिन सकेको छैन। यसअघि चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको एक प्राविधिक टोलीले आयोजनास्थलमा पुगेर दुई महिनाभित्र डिजाइनको काम सक्ने प्रतिबद्धता जनाएका थिए।

२०७९ फागुनमा सो प्राविधिक टोलीले आयोजनाको डिपीआर बनाउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म डिपीआर समेत तयार गरिएको छैन।

कंलकीदेखि चाबहिल (धोबीखोला पुल) सम्म विस्तार गर्नुपर्ने भए पनि नारायणगोपालचोक देखि चाबहिलतर्फ ठूला पूर्वाधार संरचना हटाउनुपर्ने, जग्गा अधिग्रहणलगायतको समस्याका कारण चिनियाँले बसुन्धरा चौकीसम्म मात्र विस्तार गर्ने बताएको थियो। सो सडक खण्ड साढे आठ किलोमिटर पर्छ।

यसअघि साइट क्लियरेन्स हुनासाथ साइटमा आउने बताइरहेको चिनियाँ पक्ष अहिले सम्पर्कविहीन भएको सरकारी अधिकारीहरू बताउँछन्। छिट्टै आउने बताए पनि अहिलेसम्म चिनियाँ पक्ष आउने जानकारी अझै नपाएको सडक विभागअन्तर्गत विकास सहायता समवन्य महाशाखाका प्रमुख विजय जैसीले बताए। ‘छिट्टै आउने कुरा भएको हो तर अहिलेसम्म कहिले आउने भन्ने जानकारी भने आएको छैन,’ जैसी भन्छन्, ‘चिनियाँ पक्ष पछिल्लो समय सम्पर्कमै छैन।’

चार लेनको सो सडक आठ लेनमा विस्तार गर्ने लक्ष्य छ। कलंकी–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। डिजाइनको फाइनल रिपोर्ट अझै नआएकाले लागतसमेत यकिन हुन सकेको छैन।

सो खण्डका विभिन्न तीन ठाउँमा आकासे पुल निर्माण गर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। चिनियाँ कम्पनीले यसअघि नै सो खण्डको प्रारम्भिक सर्भे तथा अध्ययनको काम गरिसकेको छ। डिपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनी आफैंले गर्ने गरी आयोजना अघि बढाइने योजना छ।

यसअघि २०७९ फागुन १९ गते तत्कालीन उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छङ सोनलगायतको संयुक्त टोलीले आयोजनाको स्थलगत अवलोकन गरेको थियो।

त्यतिबेलै दुई महिनाभित्र डिजाइनको काम सकेर ठेक्का प्रक्रियामा लैजाने बताएका सरकारी अधिकारीहरू समेत चिनियाँ पक्षका कारण अलमलमा छन्। पछिल्लो समय त आयोजनाको ढिलासुस्तीप्रति काठमाडौं महानगर असन्तुष्ट छ।

समयमै काम सुरु नहुँदा आयोजना निर्माण कार्यमा अन्योल बढदै गएको छ भने अर्कोतर्फ भत्किएका सडक बर्सातको समयमा हिलाम्मे र धुलाम्मे हुँदा महानगरबासीले दुःख पाएको विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र साहसमेत असन्तुष्ट छन्।

गत २०८० फागुन ३० मा सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर साहले आयोजनाको डिजाइन सम्झौता भएको पाँच वर्षसम्म पनि प्रगति नभएको बताएका छन्।

दुई वर्षभित्र दोस्रो चरणको चक्रपथ विस्तार गरिसक्ने गरी चिनियाँ पक्षलाई आयोजना हस्तान्तरण गर्ने सरकारको तयारी छ। चक्रपथ विस्तारको काम चिनियाँ अनुदानमै बन्ने छ। यसअघि पनि पहिलो खण्डअन्तर्गत कलंकी-कोटेश्वर चक्रपथ पनि चिनियाँ सरकारकै सहयोगमा निर्माण भएको थियो।

प्रकाशित: ३ जेष्ठ २०८१ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App