२० असार २०८१ बिहीबार
image/svg+xml
प्रवास

थाइल्याण्डका लागि नेपाली राजदूत ओलीले गरे नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।  

राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे।

राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए। 

क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको उनको भनाइ छ।

राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए।

प्रत्युत्तरमा  थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरे। निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरे। ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित थिए।

थाइल्याण्डमा कार्यभार समालेका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उनको कार्यकालको सफलताको कामना गरे।-रासस

प्रकाशित: ९ असार २०८१ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App