२० असार २०८१ बिहीबार
image/svg+xml
कला

सकियो आरोहण नाटक महोत्सव

‘शत्रु’ नामक नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ।

हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि सुरु भएको महोत्सवमा अन्तिम तथा छैटौं नाटकका रूपमा बुधबार कलालय इटहरीले विश्वेश्वरप्रसाद कोइरालाका कथामा आधारित नाटक मञ्चन गरेको थियो। सुगम दुलालको नाट्यकरण तथा प्रज्ज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकमा एउटा व्यक्तिको मनोविज्ञान देखाइएको छ।

नकारात्मक तत्वहरूले मानिसको सकारात्मक मनस्थितिलाई कसरी बिगार्दै शत्रुताको विशाल आधार खडा गर्छ भन्ने पक्षलाई नाटकमा देखाइएको थियो। नाटकमा प्रजल दुलाल, आशिष पुरी, करण प्याकुरेल, नीतिका घिमिरेलगायतले अभिनय गरेका थिए।

यससँगै असार १ देखि सुरु भएको नाटक महोत्सव पनि सकिएको छ। आयोजक आरोहण गुरुकुल विराटनगरले चौथो अध्याय मञ्चन गर्दै सुरु भएको महोत्सवमा दोस्रो दिन कदम थिएटरले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’, तेस्रो दिन ह्वी क्यानले स्कुल र पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरे। चौथो दिन गौरादह जेसिज तथा झोराहाट नाट्य समूहले सुरुङ मञ्चन गरेको थियो।

कोशी प्रदेशका नाट्यकर्मी तथा साहित्यकारहरूको जमघट र आपसी सांस्कृतिक आदानप्रदान भएको महोत्सवले आगामी दिनमा कार्यक्रम आयोजना गर्न हौसला मिलेको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए।

प्रकाशित: ६ असार २०८१ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App