२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

आइसिसी ट्वान्टी–२० विश्वकप: इतिहास रच्न आतुर चार टोली

आइसिसी ट्वान्टी–२० विश्वकप फाइनलमा को कायम रहन्छ र कसको यात्रा पूर्णविराम लाग्छ, त्यसको छिनोफानो आज हुँदैछ। जति बेला डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डले भारतको सामना गर्नेछ। आज दुवै सेमिफाइनल हुँदैछन्। पहिलो सेमिफाइनलमा अफगानिस्तान र दक्षिण अफ्रिका भिडिरहेका छन्।

पहिलोपल्ट २० टोलीको सहभागिता रहेको विश्वकपमा भारत र दक्षिण अफ्रिकाले अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएका छन्। अफगानिस्तानले ऐतिहासिक रूपमा पहिलोपल्ट अन्तिम चारमा स्थान बनाउँदा इङ्ल्यान्डको यात्रा भने अलिक कठिन बनेको थियो। जे होस्, भारत र इङ्ल्यान्डले योभन्दा माथिको यात्रा यसअघि पनि तय गरिसकेका छन्। त्यसैले सबैको नजर हुनेछ, अफगानिस्तान र दक्षिण अफ्रिकामा। यी दुई टोली कुनै पनि ‘फर्म्याट’ को विश्वकपमा पहिलोपल्ट फाइनलमा स्थान बनाउन आतुर छन्। सन् २००० सुरुदेखि नै क्रिकेट खेल्न थालेको अफगानिस्तान यो प्रतियोगिताको मुख्य आकर्षक टोली हो।

बन्दुकको नालमा रहेर क्रिकेट खेलेको अफगानिस्तानले यस प्रतियोगितामा जुझारु खेल प्रदर्शन गरेको छ। रासिद खानको कप्तानीमा रहेको टोलीले सेमिफाइनलमा स्थान बनाउन सन् २०२१ को विश्वविजेता अस्ट्रेलियालाई २१ रनले पाखा लगाएको थियो। यो नतिजा धेरै हदसम्म अनपेक्षित थियो।

यसको श्रेय जान्छ, रासिद र उनको बलिङ ‘डिपार्ट’लाई। लेग स्पिनर रासिदले प्रतियोगितामा सदाबहार बलिङ देखाइरहेका छन्। तीव्र गतिका बलर फजलहक फारुकी र नविन उल हकले टोलीलाई सुरुवाती सफलता दिलाएका छन्। गुलबदिन नइबले अस्ट्रेलियाविरुद्ध चार ओभरमा २० रन खर्चिएर चार विकेट लिँदै चामत्कारिक ‘स्पेल’ देखाएका थिए भने मोहम्मद नाबीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

यसअघिका संस्करणमा सर्वाधिक विकेट लिने सूचीमा भारत, इङ्ल्यान्ड र अस्ट्रेलियाजस्ता देशका स्टार खेलाडी हुन्थे। तर, योपटक तथ्य फेरिएको छ। १६ विकेट लिएका अफगानी बलर फारुकी शीर्ष स्थानमा छन्। रासिदले १४ र नविनले १३ विकेट आफ्नो खातामा लेखाइसकेका छन्। ब्याटिङमा पनि अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाज शीर्ष स्थानमा छन्। उनले २८१ रन बनाएका छन्।

क्रिकेट खेल्न थालेको छोटो समय भए पनि अफगानिस्तानले सबै ‘फम्र्याट’ मा ठूला टोलीहरूसँग प्रतिस्पर्धात्मक क्रिकेट खेलेर भरपूर अनुभव बटुलेको छ। त्यसैले यस पटक दक्षिण अफ्रिकालाई अफगानिस्तानले चुनौती दिने आशा गरिएको छ। यता, दक्षिण अफ्रिकाको विश्वकप घाउ निकै गहिरो छ।

सन् १९९१ मा विश्व क्रिकेटमा प्रवेश गरेयता ट्वान्टी–२० र ५० ओभरको विश्वकप उपाधिनजिक टोली पुग्न सकेको छैन। सन् २००९ मा पाकिस्तान र २०१६ मा भारतसँग सेमिफाइनलमा हार बेहोर्दै बाहिरिएको यो टोलीले जारी प्रतियोगितामा अहिलेसम्म धैर्यतापूर्ण प्रदर्शन गर्दै केही निकै नजिकका खेल जितेको छ। प्रतियोगितामा नेपालविरुद्ध एक, बंगलादेशविरुद्ध चार रन र वेस्ट इन्डिजविरुद्ध तीन विकेटको झीनो जित हासिल गर्नुलाई यसैको उदाहरणका रूपमा लिन सकिन्छ।

दक्षिण अफ्रिकाको टोली विगतमा यस्ता परिस्थितिमा असफल हुँदै आएको थियो। तर, एडेन मार्करामको कप्तानीमा रहेको टोलीले यस पटक उल्लेखनीय सुधार गरेको छ। प्रतियोगिताका शीर्ष १० ब्याट्सम्यानको सूचीमा दक्षिण अफ्रिकाका एक मात्र खेलाडी छन्, क्विन्टन डी कक। सात खेलमा १९९ रन बनाएका उनी छैटौं स्थानमा छन्। यद्यपि, कुनै बलर शीर्ष १० मा अटाउन सकेका छैनन्। तर, दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेल्दै सेमिफाइनलमा स्थान बनाएको छ। त्यसकारण टोलीले अफगानिस्तानविरुद्ध साना र महत्त्वपूर्ण क्षणहरूको सामना गर्नुपर्नेछ। अफगानिस्तानले पनि स्थिति नियन्त्रणमा राख्यो भने उत्कृष्ट खेल देख्न सकिन्छ।

इङ्ल्यान्ड र भारत

१९ महिनाअघि एडिलेडमा जस बटलर र एलेक्स हेल्सको सानदार ओपनिङ साझेदारीसँगै इङ्ल्यान्डले ट्वान्टी–२० विश्वकप सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेको थियो। यस पटक पनि कप्तान बटलर र उनको नयाँ ओपनिङ जोडी फिल सल्ट उत्कृष्ट लयमा छन्। यो टोली विश्वकपमा इतिहास रच्न दुई जित मात्र टाढा छ। यी दुई खेल जिते क्रिकेटको सबैभन्दा छोटो ‘फम्र्याट’ मा वेस्ट इन्डिजलाई पछि पार्दै तीनपल्ट विश्वकप जित्ने पहिलो टोली बन्नेछ। सन् २००७ को पहिलो संस्करणयता भारतले उपाधि जित्न सकेको छैन। सन् २०११ को ५० ओभरको प्रतियोगिता जितेको भारत त्यसपछि कुनै पनि ‘फम्र्याट’ मा पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ।

जर्जटाउनको बाहिरी इलाकामा रहेको गुयना राष्ट्रिय रंगशाला २० हजार सिट क्षमताको छ। प्रतियोगिता अवधिभर यस रंगशालामा हुने यो छैटौँ तथा अन्तिम खेल हो। समूह ‘सी’ को पहिलो चरणका अन्तिम पाँच खेल यही रंगशालामा भएका थिए । यस रंगशालाको पिचमा स्पिनर निकै प्रभावकारी देखिए पनि तीव्र गतिका बलरले पनि केही हदसम्म राम्रो प्रदर्शन गरेका थिए। क्यानडाविरुद्धको खेल वर्षाका कारण रद्द भए पनि त्यसपछिका हरेक खेलमा भारतले जित हासिल गरेको छ। बंगलादेश, अफगानिस्तान र अस्ट्रेलियामाथि प्रभावशाली जित निकाल्दै भारतले सजिलै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। त्यसको ठीक विपरीत इङ्ल्यान्डलाई यहाँसम्म पुग्न निकै संघर्ष गर्नुपर्‍यो। स्कटल्यान्डविरुद्धको खेल वर्षाले अवरुद्ध गरेको थियो। चिर प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ३६ रनको हार बेहोरेको इङ्ल्यान्डलाई ‘सुपर एट’ मा पुग्न ठूलो जित र अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था थियो। यस्तो अवस्थामा इङ्ल्यान्डले नेट रनरेटमा स्कटल्यान्डलाई उछिन्दै अघिल्लो चरणको यात्रा तय गर्‍यो। यसमा उसले धन्यवाद दिनैपर्छ, अस्ट्रेलियालाई। जसले समूहचरणको अन्तिम खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गर्दै स्थिति सहज बनाइदियो। ‘सुपर एट’ मा दक्षिण अफ्रिकासँग सात रनले पराजित भएको इङ्ल्यान्डले त्यसपछिका खेलमा भने पुनरागमन गर्‍यो। आयोजक वेस्ट इन्डिजलाई आठ विकेटले सहजै हराउनुले पनि इङ्ल्यान्डलाई यहाँसम्म पुर्‍याउन धेरै मद्दत गर्‍यो। यो नतिजासँगै नेट रनरेटमा उल्लेख्य सुधार गरेको इङ्ल्यान्डले संयुक्त राज्य अमेरिकालाई १० विकेटले पराजित गरेको थियो।

अर्कोतर्फ वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको जितले इङ्ल्यान्डलाई दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुर्‍याउन थप मद्दत गर्‍यो। भारतले आफ्नो ‘सुपर एट’ मा एक स्थिर टोली छनोट गरेको थियो, जसमा समूह चरणका खेलमा सानदार प्रदर्शन गरेका मोहम्मद सिराजको स्थानमा कुलदीप यादवलाई खेलाइएको थियो। टोलीसँग तीन तीव्र गतिका बलर र तीन स्पिनरसहित ६ ‘फ्रन्टलाइन’ बलिङ विकल्प रहेको छ । त्यसैले समान सन्तुलनका साथ भारत अघि बढ्ने सम्भावना छ।

प्रकाशित: १३ असार २०८१ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App