२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

समयमा तलबभत्ता नपाउँदा स्वास्थ्यकर्मी आन्दोलित

नौ महिनादेखिको तलबभत्ता नपाएको भन्दै कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।  

गाउँपालिकाका विभिन्न स्वास्थ्य ईकाईमा कार्यरत ४७ जना स्वास्थ्यकर्मीहरु हातमा कालो पट्टी बाँधेर पालिका अघि धर्नामा बसेका छन्। उनीहरु सबैजना स्थानीय तहमा समायोजन भएर आएका हुन ।  

‘कात्तिक महिनादेखिको तलबभत्ता पाएका छैनौं’ जगतपुर आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख बिष्णु थापाले भने,‘ऋण सापटी गरेर घरपरिवार पाल्न परेको छ ।’

तलबभत्ता नियमित नभएसम्म काममा नफर्किने बताउँदै थापाले आफूहरुको माग सुनुवाइ नभए आन्दोलन कडा हुनसक्ने चेतावनी समेत दिए।  

सरकारले समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुलाई अपुग हुने गरी पालिकामा तलबभत्ता पठाउने गरेको छ । सरकारले कर्मचारी समायोजन गरेपनि साविककै स्वास्थ्यकर्मीलाई पुग्ने गरी तलबभत्ता पठाउदा अपुग हुने गरेको थापाको भनाइ छ।  

कालो पट्टी बाँधेर पालिका अघि धर्नामा बसेका जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी । तस्बिर: योगेश रावल/ नागरिक

स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावित बनेको छ। स्वास्थ्य संस्थामा करारमा कार्यरत सीमित स्वास्थ्यकर्मीमात्र काममा छन्। उनीहरुले भने गाउँपालिकाको आन्तरिक आयबाट नियमित तलबभत्ता पाईरहेका छन्।  

यस्तो समस्या धनगढी उपमहानगरपालिकाका साथै गोदावरी, गौरीगंगा, टीकापुर नगरपालिकामा समेत रहेको छ। यी पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले समेत नियमित तलबभत्ता पाउने गरेका छैनन्।  

टीकापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले समेत विगत तीन महिनादेखिको तलबभत्ता नपाएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए। उनले नगरसभा अघि नै आफूहरुले ज्ञापनपत्र बुझाएको बताए।  

त्यस्तै गौरीगंगा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले समेत ज्ञापनपत्र बुझाएका छन्। उनीहरु समेत समयमा माग सम्बोधन नभए आन्दोलनको तयारीमा रहेको बताइएको छ। केही महिनाअघि धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु समेत समयमा तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए ।  

 

प्रकाशित: २० असार २०८१ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App