२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

मन त जित्यौ, खेल कहिले जित्ने

क्रिकेटमा रमाइरहेका स्वदेशी दर्शक बंगलादेशी बलिङको आँधीमा नेपाली खेलाडीजस्तै टिक्न सकेनन्। यो खेलमा नेपाललाई बंगलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने अवसर थियो । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित भएका थियो। त्यतिबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बंगलादेशसँग नेट रन रेटमा पछि पर्दै समूह चरणबाटै बाहिरिएको थियो।

दश वर्षपछि विश्वकप खेलेको नेपालले बिहानको पहिलो इनिङमा बंगलादेशी ‘टाइगर’ सँग सिंहजस्तै लड्यो। टेस्ट क्रिकेट खेल्ने देशलाई नेपाली खेलाडीले टस हारेर पहिला ब्याटिङ गर्न मैदान उत्रेको बंगलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै एक सय ६ रनमा समेटिन बाध्य बनायो।

सुरुदेखि नै दबाबमा रहेको बंगलादेशका कुनै पनि खेलाडीले २० रनसमेत कटाउन सकेनन्। ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा साकिब अल हसनले १७ रन जोडे। महमुदुल्लाह र रिसज होसेनले समान १३–१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२–१२ रन बनाए। कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए।

बंगलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २–२ विकेट हात पारे। बलिङमा सिंहजस्तै गर्जेको नेपाल ब्याटिङमा भने बिरालोको जस्तै निरीह अवस्थामा देखियो। नेपालको जितको प्रतीक्षामा रहेको दर्शक हारसँगै निराश देखिए । ‘हातमा आइसकेको तारा भुईंमा खसेजस्तै भयो’, विजय केसी लेख्छन्, ‘अफ्रिकाले दिएको दुःखको आँसु पुछ्ने रुमाल अचानक गुम्न पुग्यो।’ उनले भनेजस्तै बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउँदै नेपाली टिम पराजित बन्न पुग्यो। क्रिकेटले दिएको घाउमा क्रिकेटकै मलम लगाउन चाहने नेपाली निराश बने।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए भने आसिफ शेखले १७ रनको पारी खेले। त्यसबाहेक नेपालका कुनै पनि खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन्। नेपालका अनिल साह, गुल्सन झा, सोमपाल कामी र अविनाश बोहरा शून्य रनमै आउट भए भने सन्दीप जोरा र कप्तान रोहित पौडेलले समान १/१ रन बनाएर पभेलियन फर्किए। कुशल भुर्तेल भने ४ रन बनाएर आउट भए।

नेपाललाई जितबाट रोक्नका लागि बंगलादेशका तान्जिम हसन साकिबले सर्वाधिक ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट लिए। साकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट हात पारे। बंगाली बलिङको आँधीमा निराश नेपाली समर्थकले सुस्केरा हाल्नुको सिवाय अर्को उपाय नरहेको सुनाए। ‘जितको आशा देखाएर निराशा बनाएर गए’, सामाजिक सञ्जालमा उमेश निरौला लेख्छन्, ‘आशापछिको निराशाले धेरै पोल्दो रहेछ।’

मन जित्ने तर खेल नजित्ने

त्यसो त नेपाल बंगलादेशको खेलअगावै सुपर ८ को दौडबाट भने बाहिरिएको थियो। नेपालका लागि बंगलादेशसँगको यो खेल प्रतिष्ठाको लडाइँ मात्र थियो। नेपालले पहिलो खेलमा नेदरल्यान्डससँग हारेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण रद्द भएको थियो। त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपर ८ को दौडबाट बाहिरिएको थियो।

तर दक्षिण अफ्रिकासँग भएको खेल निकै उत्कृष्ट थियो। विश्वकै उत्कृष्ट टिम मानिने दक्षिण अफ्रिकालाई नेपाली टिमले १ सय १५ रनमा समेट्यो। जितका लागि उसले एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो।

उक्त खेलमा नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन जोडेका थिए। ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे। अनिल शाहले २७ रन जोडे। उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले मात्र १९ रन दिएर चार विकेट हात पारे। अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।

दक्षिण अफ्रिकाविरुद्ध नेपाली टिमले देखाएको उत्कृष्ट प्रदर्शनले घरेलु दर्शकको मात्र हैन, विश्वभरका कतिपय क्रिकेट दिग्गज र नामी क्रिकेट टिमहरूको समेत मन जित्न सफल भयो। नेपाली क्रिकेट टिमको अगाडिको बाटो उज्ज्वल छ।

‘एउटा गर्व गर्नलायक पर्फमेन्स, शिर ठाडो राख’, अन्तर्राष्ट्रिय क्रिकेट कमिटीले सामाजिक सञ्जालमा लेखेको छ। त्यसैगरी मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्सलगायतका उत्कृष्ट टिमले पनि जितको निकै नजिक पुगेको भन्दै खुसी हुन सुझाए। त्यसैगरी विश्वका अन्य नाम चलेका क्रिकेटरले पनि नेपाली खेलाडीको संघर्षको प्रशंसा गर्दे आफ्नो धारणा राखे। कतिपयले भारतीयले नेपाली खेलाडीको प्रशंसामा ब्लग बनाए। तर नेपालीलाई तारिफले मात्र पुगेको छैन।

‘यो सबै ठिकै हो, राम्रो खेलेको हो’, सामाजिक सञ्जालमा प्रमोद कार्की लेख्छन्, ‘मन धेरै जित्यौ। अब खेल पनि जित, हामीलाई सानदार जित हेर्ने रहर छ।’

प्रकाशित: ४ असार २०८१ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App