२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

टेबल टेनिस पदक विजेतालाई बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई बधाई दिएका छन्। त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा खेलाडीसँगको भेटमा सदस्य–सचिव घिसिङले सफलताको प्रशंसा गर्दै बधाई दिएका हुन्।

सदस्य–सचिव घिसिङले टेबल टेनिसले छनोट चरण पार्दै पेरिस ओलम्पिकमा सहभागिता सुनिश्चित गरिसकेको अवस्थामा अबका जुनियर खेलाडीलाई त्यो विरासत कायम गर्ने गरी खेलमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले खेलाडीलाई आगामी प्रतियोगिताको तयारीमा केन्द्रित हुन सुझाए।

टोलीका प्रशिक्षक सञ्जीव ढुंगेलले खेलाडीले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताउँदै खेलाडीको नतिजाबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए। टोलीकी व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्दै राम्रो नतिजा हात पारेको बताउँदै सहभागिताका लागि सहयोग गरेकोमा राखेप र सदस्य–सचिव घिसिङलाई धन्यवाद दिइन्।

टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले सदस्य–सचिवकै सहयोगका कारण टिम सहभागी हुन पाएको स्मरण गरे। पदक विजेता खेलाडीले प्रतियोगिताबाट अनुभव बटुल्ने अवसर पाएको बताउँदै आफ्नो कमीकमजोरी थाहा पाउने अवसर पनि मिलेको बताए।

श्रीलंकाको क्यान्डीमा जेठ १३ देखि १६ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र ५ कांस्य जितेको थियो । यु–१९ गल्र्स डबल्समा इभाना थापा मगर र बियंका राईले रजत जिते। यु–१९ टिम इभेन्टको ब्वाइजमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा गल्र्समा बियंका राई, इभाना थापा र योङ्गी पौडेलले कांस्य हात पारे।

गल्र्स यु–१५ को सिंगल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र सुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र सुरम्य शाक्यले कांस्य प्राप्त गरे।

प्रकाशित: २२ जेष्ठ २०८१ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App