२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

रुकुम घटनाका दुई वर्षः पीडितलाई न्याय माग्दै राजधानीमा प्रदर्शन

दुइ वर्ष अघि रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेमको सम्वन्धको विषयलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

प्रर्दशनमा उनीहरूले नवराज विकसहित ६ जना युवाको हत्या भएको दुई वर्ष बितिसक्दा पनि न्यायिक प्रक्रियमा ढिलाइ भएको र घटनामा संलग्न कतिपय अभियुक्तलाई धरौटीमा छोड्ने जस्ता गैरन्यायिक क्रियाकलाप भएको भन्दै घटनाका दोषी उपर उचित कारवाहीको माग गरेका छन्। रुकुम घटनालाई लिएर जात व्यवस्था उन्मुलन मोर्चाले यो वर्षदेखि हरेक वर्ष जेठ १० गतेलाई जात व्यवस्था विद्रोह दिवस’ मनाउने निर्णय गरेको हो।

२०७७ साल जेठ १० गते जाजरकोटवाट रुकुमको चौरझारी भन्ने ठाउँमा मल्ल थरकी युवती प्रेमिकाले विवाहको लागि बोलाएपछि बेहुली लिन हिंडेका नवराज विकसहित उनका ५ जना साथीहरूलाई केटी पक्षसहित गाउँलेहरूले मारेर भेरीमा बगाएका थिए। बृहत नागरिक आन्दोलन, जात व्यवस्थाविरुद्धको मार्चा नेपाल र अन्य दलित अधिकारकर्मीले प्रर्दशन गरेक हुन्। जात व्यवस्था उन्मुलन मोर्चाले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रर्दशनको क्रममा घटनामा हत्या भएका नवराज विककी आमासहित अन्य युवाहरूको आमा माइतीघर मण्डलामा आएका थिए। उनीहरूले आफ्ना छोराहरूकोे जातीय विभेदकै कारण हत्या भएको कुराको धेरै प्रमाण र आधारले पुष्टि गर्दागर्दै अपराधीलाई उन्मुक्ति दिने र मुद्दाको फैसलामा ढिला गर्ने जस्ता कार्यहरू भइरहेकोप्रति आपत्ति जनाए।

सोती घटनामै मारिएका युवक लोकन्द्र सुनारकी आमा लक्ष्मी सुनारले दुई वर्ष पुगिसक्दा पनि न्याय पाउन नसकेको गुनासो गरिन्। उनले पोस्टमार्टमा रिपोर्ट, मुचुल्का मल्ल ठकुरीले दिएको कारण बिग्रको, मन्त्री जनार्दन शर्माले पीडकको संरक्षण हुने गरी संसद्मा अभिव्यक्ति दिएकोमा आपत्ति जनाइन्। ‘हाम्रा छोराहरू भेरीमा पौडी खेलेर तर्न सक्ने थिए, भेरीमा बगेर मरे भनेर भने, हामीलाई जनार्दनले भनेको कुराले दुःख लाग्छ,’ लक्ष्मीले भनिन्। हुँदाहुँदा न्यायिक प्रक्रियामा अन्याय हुँदै गएको बताइन्। ‘प्रत्यक्षदर्शी प्रहरीले समेत मेरो छोराको शव डोरीले बाँधेको थियो भनेका थिए, तर आफैं डोरी बेरिएको भनियो’ उनले भनिन्।

सोही क्रममै उनले छोराहरूलाई बञ्चरो, हँसिया,कोदालो प्रयोग गरेर मारेकोले त्यसैगरी अपराधीहरूलाई आजीवन जेल सजाय भएमा मात्र मृतक छोरलाई शान्ति मिल्ने बताइन्। दलित र गरिब भएर हामीले न्याय नपाएको उनको गुनासो छ। ‘हामी साना बच्चा छोडेर ढोका लगाएर हिँडेका छौं, यदि अरू जातको बच्चा मारिएको भए अहिलेसम्म न्याय पाउँथे,’ उनले भक्कानिदै भनिन्।

सोही क्रममा बोल्दै नवराज विककी आमा उर्मिला विकले घटनाको दुई वर्ष बितिसक्दा पनि न्याय पाउन नसकेको बताइन्। ‘अहिलेसम्म अपराध गर्नेलाई कारबाही भएन, हामीले न्याय पाउन सकेनौं,’ उनले भनिन्। प्रदर्शनमा सरिक युवाका आमाहरूको आँखामा आँसु बगिरहेको दृष्यले अन्य सहभागीहरू भावुक बने।  बृहत् नागरिक आन्दोलनको तर्फबाट सरिक भएका शिवहरि ज्ञवालीले रुकुम नरसंहारको घटना संरक्षण गर्ने काम राज्यवाटै भएको बताए। घटनाको दुई वर्ष बितिसक्दा घटनाको दोषीउपर कारबाही हुन नसकेको बताए।

विगत एक वर्षदेखि नागरिक आन्दोलन जात व्यवस्थाको जात व्यवस्थाविरुद्धको प्रतिरोध दिवसमा ऐक्यबद्धता जनाइरहेको बताए। उनीहरूले ‘भेरी प्रतिरोध मार्च २०७९’ कार्यक्रममार्फत विरोध जनाएका हुन्। जात व्यवस्थाले अन्य जातिलाई समेत असर परेकोले यसको अन्त्यको लागि बृहत नागरिक आन्दानेलन सरिक भएको ज्ञवालीले बताए। नागरिक आन्दोलनकर्मीले मंगलबार नै भेरी नदी, जाजरकोटलगायतका ठाउँहरूमा विरोध प्रदर्शन गरेका छन्। 

प्रकाशित: ११ जेष्ठ २०७९ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App