२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेशमा शोषण: देश फर्केर गर्भपतन

बिदेसिनेका व्यथा

उनले वैदेशिक रोजगारीमा गएर धन कमाउने इच्छालाई थाती राखेर पेटको बच्चा तह लगाउन देश फर्किंदाको एउटा भयावह अनुभव गरेकी छन्। जीवनमा कहाँ गएर के हुन्छ पत्तै नहुने रहेछ।

‘त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ,’ उनले आफ्नो अनुभूतिको पोयो फुकाउँदै भनिन्, ‘सम्झँदा पनि कहाली लाग्छ। त्यो बेला म डरैडरले पाकेकी थिएँ।’

आफ्नो पेटको बच्चा फाल्ने निर्णय गरेर विदेशबाट देश आइपुगिन् उनी। काठमाडौं बल्खुस्थित वयोधा अस्पतालमा गएर ठुलै खर्च गरेर आफ्नो पेटमा रहेको बच्चा फालिन्। बच्चा फालेपछिको चार घण्टा उनी बेहोस भइन्।

‘होसमा आउँदा नजिकै रहेकी बहिनीलाई हेर्दै धेरै रोएँ,’ वैदेशिक रोजगारीमा युएई पुगेर गर्भसहित फर्केकी उनले भनिन्, ‘मलाई वार्डमा सारिएको थियो। बेडमा त्यस्तो अवस्थामा आफैंलाई देख्दा घृणा लाग्यो।’

बागमती प्रदेशकी एक महिला (गोपनीयताका निम्ति परिचय लुकाइएको) त्यो पीडादायी पल सम्झिँदै भन्छिन्, ‘कमाउन विदेश गएको मान्छे, यस्तो अवस्थामा देश फर्कनुपर्दा मर्न मन लागेको थियो।’

उनको त्यो बेलाको अनुभूति थियो–चार घण्टासम्म नब्युँझिएको मान्छे सधैंका लागि अस्ताएको भए पनि हुन्थ्यो।

बिहान शल्यक्रिया कक्षमा छिरेकी उनलाई घरमा गएर आराम गर्नू भन्दै बेलुका डिस्चार्ज गरिदिए। त्यसपछि उनी सकिनसकी ट्याक्सी लिएर दुई दिनदेखि बस्दै आएको एयरपोर्ट नजिकैको होटल पुगिन्। शरीर पूरै कमजोर भएर कामिरहेको थियो। कम्तीमा एक साता आराम गर्नू भनी चिकित्सकले भनेका थिए। तर, तीन दिनभन्दा बढी आराम गर्न पाइनन्।

उनी पहिल्यै एक सन्तानकी आमा हुन्। अहिले उनकी छोरी माध्यमिक विद्यालयमा अध्ययनरत छिन्। उनी वैदेशिक रोजगारीमा कसरी जान बाध्य भइन् भन्ने कथा लामो छ। ३२ वर्षीय ती महिलाको विवाह आफ्ना पिताको निधनपछि १४ वर्षको किशोरावस्थामै भएको थियो। पिताको निधनपछि उनकी आफ्नै आमा पनि दुई छोरालाई अनाथाश्रम र उनलाई मामाघरमा छाडेर कुवेत पसेकी थिइन्।  

मामाघरबाटै उनको विवाह भयो। मामामाइजूले एउटा ‘खान्दानी केटा’ भनेर विवाहको तारतम्य मिलाएका थिए। दुईचार वर्ष उनको वैवाहिक जीवन आनन्ददायक रह्यो। उनी र उनकी छोरीलाई सुखमा राख्ने वाचा गर्दै तिनका पति मलेसियातिर लागे। यस्तो सपनाको महल बिदेसिन चाहने सबैले मनमनै बनाइरहेका हुन्छन्। तर, उनका श्रीमान्ले विदेश गएपछि पत्नी र छोरीलाई सम्झेनन्।

विदेश गएको दुईतीन महिनासम्म सातआठ हजार रूपैयाँ पठाएका थिए। त्यसपछि दश वर्षसम्म सम्पर्कमा आएनन्। उनका कारणले छोरा नफर्केको आरोप लगाउँदै घर छाड्न बाध्य बनाइयो। उनी माइतीमा भाइबुहारीसँग बस्न थालिन्।

‘कोरोना अघि मात्रै मलाई खोज्दै श्रीमान् विदेशबाट रित्तो हात लिएर ससुराल आउनुभयो,’ उनले भनिन्, ‘उहाँ धेरै बिरामी भएर आउनुभएको रहेछ। उहाँको छसात महिना ऋण गरेरै उपचार गराएँ। सन्चो हुनेबित्तिकै उहाँ एक्कासी सम्बन्धविच्छेद गर्नतिर लाग्नुभयो।’

छोटो समय मात्र मायाको अनुभूति गरेकी उनलाई पति फर्केपछि मरुभूमिमा पानीको दुई थोपाजस्तो अनुभूति भयो। अब पतिको माया पाउनेमा उनी विश्वस्त भइन्। मायाको भिख मागिरहँदा पतिले मलेसियामै घरजम गरेको खबरले उनको मन छियाछिया भयो। उनी सिसाझैं टुक्राटुक्रा भइन्।

‘धेरै वर्षमा छोरी र मेरो मायाले उहाँलाई घर फर्कायो भन्ने ठानेँ,’ उनले भनिन्, ‘उहाँ त बिरामी भएर उपचार गराउन आउनुभएको रहेछ।’

विदेशमै अर्को विवाह गरेर बसेको उनले बताए। आफूहरूबीच कुनै सम्बन्ध नभएको उनले दाबी गरे। ‘मैले आमाबुबाका लागि बिहे गरिदिएको हो,’ उनले पत्नीलाई भने, ‘मेरी श्रीमती अर्कै छ, मलाई सम्बन्धविच्छेद चाहियो भनेपछि बाध्य भएँ सम्बन्धविच्छेद गर्न।’

माइतीको छहारी लिँदै आएकी ती महिलाले विदेशबाट बिरामी पति आएको देखेर खुसी हुँदै ऋणधन गरेर उपचार गराइन्। तर, ती महिलाले गरेको माया, सम्मान र सेवा उनका पतिलाई केही छेउ पनि लागेन। कोभिड–१९ कै बीचमा उनको  सम्बन्धविच्छेद भयो।

कसैको माया पाउने भाग्य नभएको भन्दै छोरी पढाउने अभियानमा उनी लागिन्। त्यही भएर ब्युटिपार्लरको तालिम लिएर विदेश जाने सोच बनाइन्। कोरोनाकै समयमा ऋण काढेर पार्लर त सिकिन् तर उनको विदेश जाने चाँजोपाँजो मिलेको थिएन।

एक रात आमासँग कुरा गरेको क्षण स्मरण गर्दै उनी भन्छिन्, ‘माइतमा पनि कति दिन बस्नु, छोरीलाई पढाउनुपर्‍यो। बरु विदेश जान्छु आमा। तपाईंहरूलाई पनि बुढेसकालले च्यापिसक्यो। अब त छोरी पनि ठुली भई।’

यसरी छोरीको बिलौना सुन्दै गर्दा आमाले धेरै वर्षपहिलेको पुरानो डायरी निकाल्दै भन्छिन्, ‘नानी, उतिबेला मलाई कुवेत पठाएको एजेन्टको नम्बर मैले यो कापीमा लेखेको छु, हेर् त। त्यो एजेन्टलाई फोन गर्न पाए विदेश पठाउँथ्यो कि।’

त्यो नोटबुक पल्टाएर हेर्दा ती महिलाले एक एजेन्टको नामसहित नम्बर फेला पारेर फोनमार्फत दुबईमा पार्लरको काममा पठाउने पक्कापक्की हुन्छ। विदेश जाने खुसी लिएर एजेन्टले भनेअनुसार काठमाडौंस्थित गौशालामा नाम थाहा नभएको एक म्यानपावर लेखिएको कम्पनीमा लगेर कुराकानी गराएको उनी सम्झन्छिन्।

विदेश जाने साइत जुरेको रहेछ भन्दै एजेन्टले सातदोबाटोमा बोलाएर युएईमा मासिक तलब नेपाली ३५ देखि ४० हजार हुन्छ तर लागत दुई लाख रूपैयाँ चाहिन्छ भनेको उनी सुनाउँछिन्।

उनको आर्थिक अवस्था निकै दयनीय थियो। उनी काठमाडौं आउँदा गाडीभाडा पनि गाउँमा सापटी मागेर आएकी थिइन्। त्यत्रो पैसै छैन भन्न नपाउँदै एजेन्टको भुइँमा खसेको बोली सम्झँदै उनी भन्छिन्, ‘ऋण गरेर भए पनि जाऊँ। दुईचार महिना काम गरिसकेपछि तलब पनि बढ्छ अनि ऋण तिर्न पनि गाह्रो हुँदैन। त्यसपछि कमाएको सबै पैसा आफ्नै त हो नि।’ उनलाई हो जस्तो लाग्छ।

ती एजेन्टले युएईमा रहेका नेपाली नै अर्का एजेन्टलाई महिलाको मोबाइलमार्फत सामाजिक सञ्जाल ह्वाट्सएपमा जोडे। ती महिलाको दुईचार दिन कुराकानी हुन्छ।

त्यसरी सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत कुराकानी गर्ने क्रममा तपाईंलाई एक हप्तापछि अन्तर्वार्ता लिन्छु, थप कुरा त्यति बेलै गरौंला, अहिले म व्यस्त छु भनेर युएईमा भएका एजेन्टले बताएको उनी सुनाउँछिन्।

उनलाई ह्वाट्सएपमार्फत अन्तर्वार्तामा सोधिएको प्रश्न हो, ‘तपाईंले कति पढ्नु भएको छ? बच्चाबच्ची छन् कि छैनन्? परिवारमा को को छन्? श्रीमान् भए कहाँ छन्? अहिलेसम्म कुनै देश जानुभएको छ छैन्?’

जालझेल नजानेकी गाउँकी सोझी उनले आफ्ना सबै कथा साँचो सुनाउँछिन्। पार्लरका लागि युएई आउन लागेको खबर युवतीले सुनाउँदा एजेन्टले भनेको थियो, ‘दुबईमा मेरो आफ्नै गल्स होस्टलको अफिस छ। यहाँ म धेरै बस्दिनँ। सोही अफिस मेरो ओमान र कुवेतमा पनि छ। मैले सबै ठाउँ भ्याउनुपर्छ। कहिलेकाहीं हेरविचार गर्न आउँछु। उक्त गल्स होस्टलमा खाना बनाउनुका साथै महिलाको रेखदेख गर्ने र क्लिनरको काम गर्ने मान्छे कोही छैन। तपाईं आउनुस्, राम्रो तलब दिन्छु।’

युएई आएमा खानबस्न सबै फ्री भएसँगै मासिक तलब ३५ हजार पाउने आस उनलाई देखाइन्छ। छोरीको पढाइले साह्रै पिरोलिरहेको नाजुक अवस्थामा युएई उड्न कम्मर कसिन्।

युएई एजेन्टले भनेअनुसार नै ती युवतीले सातदोबाटोस्थित एक फ्ल्याटमा पुरानै एजेन्टको परिवारसहित बस्दै आइन्। आजभोलि गर्दागर्दै ती महिलाको त्यहाँको बसाइ २९ दिन बित्तिसक्दा पनि भिसा आएन।

‘भिसा आज आउँछ, भोलि आउँछ भनेर महिना दिन लाग्यो। त्यो एजेन्टकी श्रीमती र छोरीका लुगा धुने र खाना बनाउने गर्दा महिना दिनपछि विदेश जाने मेरो पालो आयो,’ उनले बताइन्। आफू बसेको घरको एजेन्टलाई दुई लाख रूपैयाँ थमाएर ३० मे २०२२ मा युएईको एक फ्ल्याटमा पुगिन्। दुबईको एयरपोर्टमा उनलाई लिन अन्तर्वार्ता लिएकै नेपाली एजेन्ट आएको बताइन्।

‘मलाई एजेन्ट बसेकै फ्ल्याटमा लिएर गए। त्यहाँ कामकै लागि आएका दश जनाभन्दा बढी नेपाली दिदीबहिनी थिए,’ उनले भनिन्, ‘त्यो होस्टल थिएन। विभिन्न देश पठाउँछु भनेर युएईमा आफ्नै फ्ल्याटमा महिलाहरू राख्ने गरेको रहेछ। त्यसरी बसेका महिलाहरू हुल बाँधेर आउँथे र हुल बाँधेरै विभिन्न देश जान्थे। कहिले खाली हुन्थ्यो भने कहिले धेरै महिला आइपुग्थे।’

त्यसरी आएका महिलालाई खाना बनाएर दिने र सरसफाइ गर्ने काम छोरीलाई पढाउँछु भनेर युएई पुगेकी ती महिलाले गर्थिन्। ‘कोही नभएको बेलामा उक्त एजेन्टले रक्सी खाएर विभिन्न किसिमले शरीर छुने गर्थ्याे। त्यस्तो हुँदा हुँदै एकदिन शारीरिक सम्पर्कको प्रस्ताव पनि गर्‍यो,’ उनी रिसाउँदै भन्छिन्, ‘म यस्तो गलत काम गर्न आएको होइन। मलाई छिटो कम्पनीमा काम लगाइदिनुस्।’ उनी जति झर्किए पनि त्यो एजेन्टले उनीमाथि कुदृष्टि लगाउन छोडेन।

दिनहरू बित्दै जाँदा एजेन्टले भन्यो, ‘तिमीलाई धेरै माया गर्छु। हामी बिहे गरौं। तिम्रो घरको आर्थिक अवस्था सबै जिम्मा लिन्छु। तिमीलाई केही अप्ठ्यारो हुँदैन। हामी श्रीमान् श्रीमती हो भन्ने कागज सबै बनाइसकेको छु। हेर त, मैले तिम्रो र मेरो विवाहदर्तासमेत गराइसकेको छु। यहाँको कानुनअनुसार हामी श्रीमान श्रीमती नै हौं।’

उसले भन्दै गयो, ‘तिमी मेरी श्रीमती हौ। तिमी मेरो सास हौ। मैले भनेको मान। अब तिमीले यहाँ उजुर बाजुर गर्न पनि मिल्दैन। गरे पनि कतै लाग्दैन। तिमी यहाँबाट आफूखुसी कतै जान पनि सक्दिनौ। आफुखुसी कतै गइहाल्यौ भने पनि प्रहरीले समातेर वर्षौंवर्षसम्म जेल हाल्छ। तिमी कानुनविपरीत यहाँ बसिरहेकी छौ।’

यसरी यावत माया, डर, त्रास देखाएर आफूमाथि यौन शोषण गर्न थालेको उनी सुनाउँछिन्। नेपालमा भएको एजेन्टकी श्रीमतीलाई फोनमार्फत पीडित महिलाले हारगुहार गरिन्। ‘यहाँ ममाथि पटक यौन शोषण भइरहेको छ,’ उनले तिनलाई भनिन्, ‘मलाई उद्धार गरिदिनुस्, कि त पासपोर्ट मागेर अर्कै ठाउँमा काममा लगाइदिनू पनि भनें। तर, त्यहाँबाट केही साथ पाइनँ।’

उनी त्यसरी काम गर्दै एजेन्टको यौनदासी भएर बसेको वर्ष दिन हुन लागिसकेको थियो। एक दिनको कुरा हो, ती युवतीलाई टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुन थालेपछि पति बन्न खोज्ने एजेन्टले चेकजाँच गराउन मेडिकल लिएर गएको  उनी सुनाउँछिन्।

‘मेडिकल पुगेर चेकअप गर्दा म गर्भवती भएको करिब दुई महिना खुल्न आयो। त्यो देखेर छाँगाबाट खसेजस्तै भएँ,’ उनी भन्छिन्, ‘पेटमा बच्चा आयो। विदेशमा बच्चा फाल्नु भनेको अवैधानिक रहेछ। पेटमा एजेन्टको बच्चा हुर्किंदै जाँदा जन्माउनुपर्ने अवस्था हुन्छ। त्यसरी जन्मिएको बच्चालाई मैले के नाम दिने? परिवारभन्दा पनि छोरी बुझ्ने भएपछि के भन्छिन्? भन्ने ठुलो डर लाग्यो। उहाँले धेरै माया गर्छु भनिरहनुभएको थियो। मैले अरू विकल्प देखिनँ। उहासँग विवाह गर्नुबाहेक।’

ती महिलाको बाल्यकालमै विवाह भए पनि श्रीमान्बाट माया नपाउँदा अब चाहिँ माया पाउँछु कि भन्ने आसमा थिइन्। नेपालमै फर्किएर आधिकारिक रूपमा विवाह गर्छु भनेर आफू राजी हुँदा एजेन्ट भने नमानेको भनाइ उद्धृत गर्दै उनले नागरिककर्मीसँग भनिन्, ‘हेर, अहिले मेरो घरको आर्थिक अवस्था राम्रो छैन। म दुई बच्चाको बाबु हुँ। तत्कालै मैले आफ्नी श्रीमतीलाई भन्न पनि गाह्रो हुन्छ। तिमी पनि एक छोरीकी आमा हौ। तिम्री छोरी भन्नु नै मेरी पनि छोरी हुन्। ४/५ वर्षपछि सबै मिल्छ। मेरा छोराहरू पढाइ सकेर आफ्नो खुट्टामा उभिन्छन्। अनि हामी बिहे गर्ने हो, धुमधामले।’

उनले ती पुरुषको कुरा उदुधृत गर्दै भनिन्, ‘तिम्री छोरीलाई पनि अस्ट्रेलिया पठाउँछु। अहिले बिहेको कुरा नसोच। आफ्नोबारे भन्दा पनि छोरीका बारे सोच। यो पेटमा भएको बच्चालाई अहिले जन्माउनुहुन्न। तिमी नेपाल गएर यो बच्चा फालेर आऊ। म आउने जाने टिकट काटिदिन्छु। तिमी आजै नेपाल जाऊ अनि यो बच्चा फालिदेऊ। कति पैसा लाग्छ सबै म बेहोर्छु।’

यसरी एजेन्टले विभिन्न आश्वासन देखाएर उनलाई नेपाल फर्किन बाध्य बनायो। ‘नेपाल आउन मेरो मन मानेकै थिएन। वर्ष दिन भइसक्दा पनि मैले तलब पाएकी थिइनँ। मेरी आमा र छोरीलाई सम्झेर विदेश आएकी थिएँ। एक रूपैयाँ पनि पठाउन सकेकी थिइनँ। उनले खान, बस्न र अलिअलि खर्च दिए पनि तलब भनेर चाहिँ एक सुको पनि दिएका थिएनन्,’ ती युवतीले भनिन्।

दिनभरि एजेन्टले सम्झाइबुझाइ गरेर हप्तादिनको अन्तर राखेर आउनेजाने दुवै टिकट काटी नेपाल पठाएको उनी सुनाउँछिन्। एजेन्टले भनेअनुसार नै गर्भवती महिला करिब ६/७ महिनाअघि गर्भपतन गराउने भन्दै काठमाडौंस्थित बल्खुको वयोधा अस्पताल पुगिन्।

तर, त्यस अस्पतालका डाक्टरले गर्भपतन गराउन एक जना साक्षी चाहिन्छ भनेको भनाइ उद्धृत गर्दै गर्भवती महिला भन्छिन्, ‘हामी त्यतिकै गर्भपत गर्दैनौं। यस अस्पतालको नियमअनुसार कोही न कोही साक्षी बस्नुपर्छ। तपाईंलाई केही भयो भने हामी जिम्मेवार हुँदैनौं।’

अप्ठ्यारो परेको मान्छेलाई जता गए पनि अप्ठ्यारो नै हुन्छ। उनले पति मानेकी एजेन्टलाई फोन गरेर सबै व्यथा सुनाउँदा आफू विदेश जानुपूर्व जुन एजेन्टको घरमा बसेकी थिएँ, सोही एजेन्टकी छोरीको सहयोग माग्नु भनेको बताइन्।  

अस्पतालमा गर्भपतन गर्नुअघि एजेन्टले भनेको कुरा उनी सम्झिन्छिन्, ‘मेरो नाम नभन्नु त्यो नानीलाई। युएईमा एउटा ब्वाइफ्रेन्ड थियो। ऊसँगको सम्पर्कमा बच्चा बस्यो। त्यहाँ फाल्नलाई अवैधानिक रहेछ। त्यसैले यहाँ आएको हो। यति सहयोग गर न नानी।’

यसरी झुटो बोल्न लगाएकोमा उनी धेरै दुःखी थिइन्। ‘म तिम्रो श्रीमान् हुँ भन्नुहुन्थ्यो। तर, श्रीमान्ले माया गर्ने तरिका यही नै हो भन्ने अन्यौलमा थिएँ। उहाँले नभ्याएर यस्तो भन्नुभएको होला भन्ठानेर त्यही नानीको सहयोग लिई पेटमा भएको बच्चा फाल्न ३० हजार रूपैयाँ अस्पताललाई बुझाएँ।’

उनले आमा र छोरीलाई सम्झिएकै कारण युएई नजाने मनस्थिति बुनिन्। तर, होटलमा बस्दै गर्दा रातदिन एजेन्टले मायाको भावनाले फोन गरेर युएई बोलाएको उनी सुनाउँछिन्।

एजेन्टले सम्झाएको भनाइ उद्धृत गर्दै उनी भन्छिन्, ‘तिमी यहाँ आएपछि दुईचार महिना आराम नगर्दै पोर्चुगल पठाउँछु। तिमीसँग पैसा पनि छैन, के मुखले घर जान्छ्यौ ?’ उनी फेरि परिवारको आर्थिक भार उठाउनुपर्छ भन्ने सोचले एजेन्टले भनेअनुसार नै नेपाल छाड्न बाध्य भइन्।

युएई पुगेको केही समयपछि एजेन्टले पुनः प्रलोभनमा पारेको उनी सम्झन्छिन्, ‘युरोपको काम हुन समय लाग्ने जस्तो छ। यहाँ पनि काम भएको छैन। बरु तिमी कुवेतको एक कम्पनीमा काम गर्दै गर। त्यहाँ राम्रो तलब पनि छ।

कुवेतमा मासिक एक सय ५० केडी हुन्छ। तिमीलाई गाह्रो भएको बेला त्यहाँ धेरै सजिलो काम छ। अनि युरोपको भिसा लाग्नेबित्तिकै सबै पैसा हाल्दिएर म पठाउँला।’

उनी एजेन्टले थापेको काँडेबारको मायामा पूरै पग्लिरहेकी थिइन्। ‘उहाँको कुरा सुन्दै गर्दा हो जस्तो पनि लाग्यो। त्यही फ्ल्याटमा काम गरेको पैसा पनि पछि एकमुस्टमा दिन्छु भन्नुभएको थियो। उहाँले मलाई श्रीलंकाका नागरिकले चलाएको ‘अजित’ नामको एजेन्ट कार्यालयमा पठाउनुभयो।’

कुवेत पुग्नेबित्तिकै श्रीलंकाली एजेन्टले मोबाइल, पासपोर्टलगायत सम्पूर्ण कागजात थुतेको उनले सुनाइन्। उनका अनुसार त्यहाँ पुग्दा एक बन्ध कोठामा आफूलगायत अर्को नेपाली बहिनीलाई समेत राखेको थियो। अन्धकार कोठामा धुमधुम्ती बस्थ्यौं। कुनै काम दिएन। त्यहाँ विभिन्न देशका मजस्तै २२ जना महिला बन्धक थिए।  

‘त्यहाँ राम्रोसँग खान पनि पाइँदैनथ्यो। आफूसँग भएको पैसाले केही समय खानेकुरा किनेर खाएँ। श्रीलकंनसँग कराएको खण्डमा उल्दै मुक्कैमुक्काले कुट्ने गथ्र्यो। त्यसैले कोही बोल्न सक्दैनथे।

त्यसरी राखेको तीन महिनामा त्यहाँ प्रहरीको चेकिङ हुन थाल्यो। मलगायत ११ जनालाई नजिकै छुट्टै भाडामा लिएको कोठामा राखेर ताल्चा लगाइदियो,’ पीडित ती महिलाले भनिन्।

त्यहाँ पनि उनको नारकीय जीवन सुरु भयो। सबै बन्धक महिलालाई श्रीलंकाली एजेन्टले अर्को कोठामा दैनिक एकएक गरेर शारीरिक शोषण गर्न थालेको उनी बताउँछिन्।

एक दिन खाना पुर्‍याउन आउने गरेकी बंगाली महिलाको मोबाइलमार्फत ती महिलाले युएई एजेन्टलाई फोन गर्दै गाली गरिन्, ‘तँ यतिसम्मको खुरापाती थिइस् भनेर कहिल्यै सोच्न सकिनँ। मैले तँलाई आफ्नी आमा र छोरीलाई भन्दा बढी विश्वास गरेकी थिएँ। मलाई यहाँ श्रीलंकालीको कुटाइ र स्वास्नी बनाउन पठाएको हो ? मेरो माया नै लाग्दैनथ्यो भने बरु नेपाल पठाइदिएको भए हुन्थ्यो। यस्तो नर्कमा पठाउन तेरो मैले के बिगारेकी थिएँ र?’

ती महिलाको हारगुहार माग्ने ठाउँ कहीं नहुँदा पुनः मलिनो स्वरमा आसु पुछ्दै एजेन्टलाई भन्छिन्, ‘तपाईंलाई मेरो माया नै लाग्दैन भने मानवताका नाताले भए पनि यहाँबाट उद्धार गरिदिनुस्। यही मेरो अन्तिम बिन्ती छ।’

‘लौ, त्यस्तो पो भयो र ? त्यस्तो त हुन नपर्ने हो। त्यो मान्छे राम्रै थियो,’ युएईको एजेन्टले यति भनेर फोन काटेको उनी सुनाउँछिन्। उनलाई अब नेपाल फर्किन सकिन्छ भन्ने आसै थिएन।

स्वदेशी वातावरणसँग रमेकी उनी कुवेतको बन्धक जीवनले धेरै कमजोर बनाएको थियो। त्यस्तो अवस्थामा पनि श्रीलंकालीले शारीरिक सम्पर्क राख्न नछोडेको उनी सम्झन्छिन्, ‘धेरै शारीरिक सम्पर्क राखेर होला, एक जना भारततिरकी महिला भित्रभित्रै कुहिएकी थिइन्। उनका भित्री अंगबाट पिप, रगतको धारा लाग्ने गरेको थियो। आजित भएपछि काममा नलगाउने भए आआफ्नो देश फर्काइदेऊ भनेर  बिन्ती बिसायौं।’

‘धेरै हल्ला नगर। चुप लागेर बस्ने र भनेको मान्ने। होइन भने राम्रो हुन्न। तेरो एजेन्टले कुवेती १५ सय केडीमा बेचेको हो। धेरै करायो भने यतैको जेलमा सडाइदिन्छु। होइन भने त्यो पैसा फिर्ता गर, नेपाल पठाइदिन्छु,’ धम्की दिँदै श्रीलंकालीले भनेको उनी सुनाउँछिन्।

उनी झन् ठुलो बज्रपातमा परिन्। विश्वास गरेको मान्छेले आफूलाई बेच्न सक्छ भनेर उनले कहिल्यै कल्पना पनि गरेकी थिइनन्। तर मानसिक, शारीरिक र आर्थिक स्थितिको धज्जी उडाएर आफूमाथि खेलवाड गरेको उनी गुनासो गर्छिन्। उनलाई नेपालदेखि विदेशसम्म भेटिएका श्रीलंकालीसहितले धरधरी रुवाएका थिए।  

उनीसँगै बन्धक बनेकी एक नेपाली युवतीलाई घरमा काम गर्ने अवसर जुरेको थियो। उनी केही दिनपछि नजिकै रहेको प्रहरी चौकीमा आफूहरूलाई यौन शोषण गरेको आरोप बोकेर पुग्दा उनीविरुद्ध नै त्यहाँ उजुरी परेको थियो।

नेपाली केटीले १० हजार केडी चोरी गरेको ठगी केसमा श्रीलंकालीले उनीविरुद्ध पहिले नै उजुरी दिएको रहेछ। उजुरी दिन पुगेकी पीडित आफैं पीडक हो भनेर थुनामा परिन्। आजसम्म पनि ती युवती कुवेतको जेलमा रहेको खबर पीडित महिलाले खुलाइन्।

‘जिन्दगीमा त्यस्तो डर लागेको थिएन। तर, जेल परिन्छ कि भन्ने ठुलो डरले युएई एजेन्टलाई पटक पटक हार गुहार गर्दा कुनै वास्ता गरेन। उल्टै तँलाई साइड लगाउन कुवेत पठाएको भन्थ्यो। अब त्यहाँ गुहार माग्ने ठाउँ थिएन,’ पीडित युवतीले भनिन्। आफ्नो ज्यान कसरी जोगाएर नेपाल फर्किने भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो।

‘त्यहाँको चौकीमा उजुरी दिनुपूर्व नै हामीविरुद्ध केही न केही आरोपमा उजुरी हालेर जेल जानुपथ्र्यो। त्यसैले मैले नेपाल फर्किने अठोट गरें,’ उनले भनिन्।  

छोरी नभएको भए केही हुन्नथ्यो, नानी मेरो नाम नखुलाइदिनु है भन्दै नागरिककर्मीसँग भन्छिन्, ‘मेरै आफ्नै कान्छो भाइ साउदी गएर फर्केको खबर पाएँ। आफ्नै भाइलाई सबै बेलिविस्तार लगाउन सकिनँ। कुवेतमा अवैधानिक तवरले आएकी छु। यहाँ काम केही भएन। नेपाल फर्कन पनि नमिल्ने रहेछ। वैधानिक तरिकाले फर्किनलाई करिब सात लाख चाहिने भयो।’

नेपाली युवती जेलमा परेको देखेर उनलाई पनि त्यो डरले चारैतिर हात फैलाउन बाध्य पा¥यो। पीडित महिलाले भाइसँग रोइकराइ गरी पाँच लाख र अन्य आफन्तसँग दुई लाख रूपैयाँ मागेर नेपाल फर्किन सफल भएको उनको कहानी छ।

‘मैले श्रीलंकालीलाई कुवेती १५ सय केडी नै बुझाएपछि आफ्नै पासपोर्टमा अनुहार देख्न पाएँ,’ पासपोर्ट पाएको समयलाई स्मरण गर्दै नागरिककर्मीसँग उनी मुस्कुराउँदै थिइन्। ‘बाँचेर फर्किन्छु भन्ने केही आसै थिएन। पढेर केही सिक्दिनथेँ होला, परेर त्यति धेरै सिकियो नानी,’ मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन आएकी ती महिलाले नागरिककर्मीसँग सबै बेलिविस्तार लगाइन्।

जीवन यस्ता अनपेक्षित घटनाको संयोग हो। राज्यले यस्तो अवस्था आउन नदिन भूमिका खेल्न सक्ने भए पनि केही गरेको अनुभूति यी महिलाले गरेकी छैनन्। 

प्रकाशित: ८ असार २०८१ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App