२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटन विकासका लागि त्रिभुज परियोजना

इच्छाकामनाको नीति तथा कार्यक्रम

चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रममा गाउँपालिकाले उपरदाङगढी, सिराइचुली र इच्छाकामना मन्दिरलगायत पर्यटकीय क्षेत्रलाई जोड्ने गरी ‘इच्छाकामना त्रिभुज परियोजना’ अघि सारेको हो।

उपरदाङगढी क्षेत्रको ऐतिहासिक र पुरातात्त्विक महत्त्व झल्किने गरी गढी दरबारको निर्माण गरी पुरातात्त्विक तथा ऐतिहासिक सङ्ग्रहालयको रूपमा विकास गरिने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सिराईचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्ग विकास र विस्तारलाई जोड दिइने भन्दै इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाहरूको विकास र विस्तारलाई जोड दिइने अध्यक्ष गुरुङले बताए।

लामो झरना, बालगौरी पाथिभरा मन्दिर, महादेवस्थान, हात्तीबाङ, कुरिनघाट शिवालयजस्ता धार्मिक एतिहासिक पुरातात्त्विक एवं पर्यटकीय स्थलहरूको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने उनले बताए।

यस्तै गाउँपालिकाले ‘सुखी खुसी समृद्ध इच्छाकामनाः कृषि पर्यटन पूर्वाधार विकास हाम्रो चाहना’ भन्ने नारालाई आत्मसात् गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। ‘सुलभ स्वास्थ्य सेवाः नागरिकलाई टेवा अभियान’अन्तर्गत इच्छाकामना आधारभूत अस्पतालको निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

२४सै घण्टा प्रयोगशाला सेवासहितको चिकित्सकीय सेवालाई थप सुदृढीकरण गर्दै अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने अध्यक्ष दानबहादुर गुरुङले बताए।

उनले तोकिएका औषधिको निःशुल्क उपलब्धता, विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने जानकारी दिए।

पालिकाले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ। ‘गाउँपालिकाको इच्छा गरिखाने शिक्षा’ स्वर्णिम योजनाअन्तर्गत सीपमूलक र व्यावहारिक शिक्षासहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनोपयोगी शिक्षा, मेरो विद्यालय म बनाउँछु, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीहरूको सक्रिय सहभागितालगायत कार्यक्रम समावेश गरेको छ।

गाउँपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन, विद्यार्थीको पोषण सुधार र विद्यार्थीलाई स्थानीय आवश्यकताअनुसारको सिप विकास गर्न एक विद्यालय एक करेसाबारी, एक विद्यालय एक पूर्वाधार सुधार कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएको छ।

यस्तै ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने अवधारणाअनुरूप शिक्षक दरबन्दी मिलानको आवश्यक व्यवस्था मिलाइने अध्यक्ष गुरुङद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गाउँपालिकाले युवालक्षित रोजगारका कार्यक्रम ल्याउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई समाजमा पुनः एकीकरण गर्दै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सृजना गरी बाध्यतावश वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गरिने जनाएको छ। स्थानीय रोजगारीका अवसर सृजना गर्न अध्यक्षसँग युवा तथा खेलकुद र उपाध्यक्षसँग महिला तथा सिप विकास कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

‘कृषकको उन्नति गाउँपालिकाको समुन्नति’ अभियानलाई प्राथमिकता प्राप्त योजनाको रूपमा अगाडि बढाउन कृषि बाली र पशुपक्षीमा देखा पर्ने संक्रामक रोग नियन्त्रणका लागि गाउँपालिकास्तरीय क्युआरटी गठन गरी परिचालनलाई प्रभावकारी बनाइने उल्लेख छ।

कृषकको सानो–सानो उत्पादनलाई सिधै बजारसँग पहुँच स्थापना गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी र जनताको अपनत्व हुनेगरी सञ्चालन गरिने अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेश छ।

खानेपानी विस्तार, सडक पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने योजना ल्याएको गाउँपालिकाले ‘मेरो गाउँ उज्यालो ठाउँ’को अवधारणा अनुरूप ग्रामीण र दुर्गम क्षेत्रमा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने जनाएको छ। यस्तै गाउँपालिकाले पालिकाको मुख्य बजार क्षेत्रमा सडक बत्ती र मास लाइटको व्यवस्था गर्ने जनाएको छ।

पालिकामा सुशासन तथा संस्थागत क्षमता विकास नीतिअनुरूप ‘पालिकाले देख्छ: गलत कार्यलाई छेक्छ’ योजनाभित्र मातहतका कार्यालयमा विद्युतीय हाजिरी प्रणालीको जडान र विस्तार गरी गाउँपालिकाको कार्यालयबाट अनुगमन र नियमन गर्ने प्रणालीको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पालिकाले गाउँगाउँमा पोखरी निर्माणसँगै पानीका स्रोत संरक्षणका लागि कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएको छ।  

प्रकाशित: ८ असार २०८१ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App