२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

‘नेपालमै देखिंदैछ छोरीको संकट’

राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालमा छोरीको संख्या घट्दै गएको छ। यसैगरी छोरीको संख्या घट्दै गए अबको दशकपछि छोराको संख्या बढी र छोरीको संख्या कम हुन गई बिहेवारीमा समस्या हुनेछ। केही वर्षअघिसम्म भारतका केही प्रान्त र चीनमा विवाहका लागि केटी नपाइएको समाचार पढ्दै आएका नेपालीले अब आफ्नै देशमा यस्तो समस्या भोग्ने स्थिति आउन लागेको तथ्यांकले देखाएको हो।

त्यसै पनि प्राकृतिक रूपमा छोरी कम जन्मछन्। पितृसत्ता प्रधान नेपाली समाजमा छोराको मोह बढी छ । विभिन्न कारणले छोरीकोे जन्मदर कम हुँदै गएको तथ्यांक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा एक महिलाले प्रजनन अवधि (१५–४९ वर्ष) मा जन्माउने छोरीको संख्या (कुल पुनरुत्पादन दर) ०.७३ छ। अर्थात् नेपालमा एक सय महिलाले प्रजनन अवधिभर जन्माउने कुल छोरीको संख्या ७३ छ।

तथ्यांकअनुसार कर्णाली प्रदेशमा भने सबैभन्दा बढी छोरी जन्मने गरेका छन्। कर्णाली प्रदेशका एक सय महिलाले प्रजनन अवधिभर ९६ जना छोरी जन्माउँछन्। यो संख्या बागमती र गण्डकी प्रदेशमा कम छ। बागमती र गण्डकी प्रदेशका एक सय महिलाले प्रजनन अविधिभर ५९/५९ जना छोरी जन्माउँछन्। मधेस र सुदूरपश्चिम प्रदेशमा एक महिलाले प्रजनन अवधिभर जम्माजम्मी जन्माउने छोरीको संख्या ०.८४ छ। अर्थात् यी दुई प्रदेशमा एक सय महिलाले प्रजनन अवधिभर ८४/८४ जना छोरी जन्माउँछन् । लुम्बिनी प्रदेशमा एक सय महिलाले प्रजनन अवधिभर ७४ र कोसी प्रदेशमा ७० जना छोरी जन्माउँछन्। यसले छोरीको जन्मदर घट्दै गएको देखाउँछ।

छोरीको जन्मदर घट्दै जाने हो भने भविष्यमा गम्भीर समस्या भोग्नुपर्ने जनसंख्याविद्को विश्लेषण छ। अहिले चीनमा जस्तै नेपालमा पनि भविष्यमा बिहेका लागि कन्या नपाउने अवस्था आउन सक्ने तथ्यांकले संकेत गरेको विज्ञहरूको भनाइ छ। कर्णाली प्रदेशका केही हदसम्म छोरीको जन्मदर राम्रो भए पनि अन्य प्रदेशमा चिन्ताजनक छ। छोरा र छोरीको संख्यामा हुने असन्तुलनले भविष्यमा प्रजनन दरमा पनि कमी आउनेछ।

तथ्यांक कार्यालयका निर्देशक ढुण्ढीराज लामिछानेका अनुसार छोरीले नै सन्तान जन्माउने भएकाले उनीहरूकै जन्म कम भएपछि प्रजनन दर पनि घट्छ। यसले अबका केही वर्षमा सामाजिक र आर्थिक रूपमा ठुलो असर निम्तिने संकेत गरेको उनले बताए।

‘हाल नेपालको कुल प्रजनन दर १.९४ छ,’ लामिछानेले भने, ‘महिलाले बच्चा जन्माउने हो। एकातिर कुल प्रजनन दर दुईभन्दा कम छ भने अर्कातिर छोरीको जन्मदर पनि कम छ। जहाँ बढी छोरी जन्मन्छन्, त्यहाँको जनसंख्या लाभांश बढी हुन्छ। कर्णालीमा छोरी बढी जन्मिनु भनेको जनसंख्या लाभांश राम्रो हुनु हो। गण्डकी र बागमती प्रदेशमा छोरी कम जन्मनु भनेको जनसंख्या लाभांश कम हुनु हो।’ नेपालमा २०२८ सालमा ६.३ रहेको कुल प्रजनन दर २०७८ सालमा आइपुग्दा घटेर १.९४ भएको छ।

जीवित जन्मको लैंगिक अनुपात २०७८ मा ११२ छ। अर्थात् प्राकृतिक रूपमा एक सय छोरी जन्मदा ११२ जना छोरा जन्मन्छन्। यो अनुपातको खाडल क्रमशः बढ्दै गएको देखिन्छ। २०५८ सालमा १०० जीवित जन्मको लैंगिक अनुपात १०४ र २०६८ मा १०६ थियो। उमेर समूहअनुसार पनि छोराभन्दा छोरीको संख्या कम रहेको तथ्य बाहिर आएको छ।

२०७८ को जनगणनाअनुसार ०–४ वर्ष उमेर समूहमा छोराभन्दा छोरी एक लाख ४१ हजार ७ सय ६७ ले कम छन्। त्यस्तै ५–९ वर्ष उमेर समूहमा छोराभन्दा छोरी एक लाख २० हजार ३ सय ८३ ले कम छन्। १०–१४ वर्ष उमेर समूहमा यो अन्तर बढी छ।

यो उमेर समूहमा छोराभन्दा छोरी ८२ हजार ४३ संख्याले कम छ। त्रिभुवन विश्वविद्यालय जनसंख्या केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्र गुरुङका अनुसार अबको डेढ दशकपछि नेपालमा बिहे गर्दा कन्या पाउन मुस्किल पर्ने देखिन्छ। छोरीसँगै कुल जनसंख्या कम हुन गई स्कुल/कलेज मर्ज/बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनको आकलन छ। 

‘०–४ वर्ष उमेर समूह हेर्दा अबको डेढ दशकपछि केटाहरूको बिहे गर्न केटी पाउन मुस्किल पर्नेछ। ५–९ वर्षको उमेर समूह हेर्दा अबको ११ वर्षमा बिहेका लागि केटी पाउन समस्या हुन्छ। १०–१४ वर्षको उमेर समूह हेर्दा ६ वर्षभित्रै यो समूहका पुरुषलाई बिहे गर्न केटी नपाइने समस्या आउँछ,’ गुरुङको विश्लेषण छ।

उनका अनुसार मधेसमा भने छोरीको संख्या कम हुँदा दाइजो प्रथामा कमी आउने आशा गर्न सकिन्छ । किनभने अहिले पनि मधेशतिर केटीको कमी देखिन थालेको छ। उनी भन्छन्, ‘पहिले प्रजनन दर उच्च हुँदा छोराछोरी दुवै भए। अहिले प्रजनन दर कम छ। आधुनिकीकरणको पहुँच बढेको छ। छोराप्रति बढी मोह छ। त्यसैले छोरी कम जन्माउन थालियो। यसले सामाजिक समस्या निम्त्याउँछ। अब राज्यले जनसंख्या नीति परिवर्तन गर्नुपर्छ।’

जनसंख्या विषयका सह–प्राध्यापक डा. भेषनाथ सापकोटाका अनुसार अबको केही वर्षपछि विहेवारी गर्दा केटीको अभाव हुने संकेत जनगणनाको तथ्यांकले गरेको छ। उनले आधुनिकीकरणका कारण गर्भमै लिंग पहिचान गरी छोरी भए पतन गराउने प्रवृत्ति बढेका कारण छोरीको जन्मदरमा कमी आएको बताए।

‘छोरी कम जन्मनु भनेको प्रजनन् दर घटेर जनसंख्या कम हुँदै जानु हो। प्राकृतिक रूपमै सयजना छोरी जन्मन्दा ११२ जना छोरा जन्मन्छन्,’ सापकोटाले भने, ‘यसै त छोरी कम जन्मन्छन्, त्यसमाथि गर्भमै लिंग पहिचान गर्ने र छोरी भए पतन गराउने प्रवृत्ति बढेको छ।’ उनका अनुसार यस्तै अवस्था रहे भविष्यमा नेपालमा छोरीको संख्या कम हुन गई विहेवारी गर्न समस्या आउँछ। यसबाट आर्थिक र सामाजिक क्षेत्रमा ठुलो असर पर्छ । उनले भने, ‘अब सरकार जनसंख्या नियन्त्रणभन्दा व्यवस्थापनसम्बन्धी नीति लिएर अघि बढ्नुपर्छ।’  

प्रकाशित: ७ असार २०८१ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App