२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौं महानगरमा केको ‘धङधङी’?

काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक आइतबार सुरु भएको केही समयमै स्थगित भयो। नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बैठक सुरु हुनासाथ बहिष्कार गरेको भन्दै असार १० गतेसम्मका लागि मेयर बालेन्द्र (बालेन) साहले बैठक स्थगित भएको घोषणा गरे।

लगत्तै साहले सामाजिक सञ्जालमार्फत एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनीसमेत दिए। ‘तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो। काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला,’ फेसबुकमा साहले लेखेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन।’

साहले प्रयोग गरेको ‘धङधङी’ शब्दको निकै चर्चा चलेको छ। नेपाली शब्दकोशमा धङधङीको अर्थ रोग तथा नसाको मस्तिष्कमा प्रभाव अथवा अघिल्लो दिनको मातको अवशेष भन्ने उल्लेख छ। कसैले यसलाई मेयर साहले दाबी गरेजस्तै ‘दल’को धङधङीका रूपमा लिएका छन् त कसैले मेयरको एक्लै अगाडि बढ्ने धङधङीका रूपमा लिएका छन्।

‘चुनाव जुनसुकै पार्टीबाट जिते पनि जनप्रतिनिधि सबैको हुनुपर्ने हो। जनताका पक्षमा र विकासको अभियानमा पार्टीको राजनीति गर्नु दुर्भाग्य हो,’ सामाजिक सञ्जालमा शिरीष देवकोटा लेख्छन्, ‘सुन्दर काठमाडौं बनाउने यो दुर्लभ र ऐतिहासिक अभियानमा सबैले साथ दिनु श्रेयष्कर छ।’

देवकोटाले मेयरको पक्षमा आफ्नो धारणा राखे पनि कतिपयले भने नेतालाई गाली गरेर मात्र नबस्न साहलाई सुझाएका छन्। ‘आज त्यति शब्द लेख्न र जसरी पनि बोल्न छुट दिने प्रजातन्त्रले हो। त्यो प्रजातन्त्र ल्याएर यति स्वतन्त्र बनाउने तिनै कांग्रेस र एमाले हुन्,’ सामाजिक सञ्जालमा शिवकुमार शर्मा लेख्छन्, ‘त्योभित्र केही पात्र खराब होलान् तर बहुदलको कुनै विकल्प खोज्न सकिन्न!’

के भएको थियो आइतबारको बैठकमा?

बैठक सुरु हुनासाथ महानगर प्रमुख साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। लगत्तै कांग्रेस र एमालेका केही जनप्रतिनिधि सभा हलबाट उठेर गए। केही समयपछि मेयर बालेनले नगरसभा बैठक स्थगित भएको घोषणा गरे।

न्युरोडको नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टि जनाएर केही कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेको कुरा बाहिरिएको थियो।

तर महानगर वडा ३२ का अध्यक्ष चिनकाजी महर्जनले भने आफूहरूले बैठक बहिष्कार गरेको नभई दलहरूको कुरा मान्न तयार नभएर मेयर साहले स्थगन गरेको आरोप लगाएका छन्।

‘वडा १५ का अध्यक्ष इन्द्रमान डंगोल (नेकपा एस), १७ का नवीन मानन्धर (कांग्रेस) र ३२ का नवराज पराजुली (एमाले) एकै ठाउँमा बसेर नीति तथा कार्यक्रमको विषयमा साझा धारणा बनाउँदै हुनुहुन्थ्यो,’ महर्जनले भने, ‘तर मेयरले समय छैन भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभयो।’

समाचारहरूमा बहिष्कार गरेको कुरा आए पनि आफूहरूले त्यसो नगरेको वडाध्यक्ष महर्जनले बताए। बैठक स्थगित हुँदा आफ्ना कुरा राख्न नपाइएको गुनासो उनले गरे। बैठक स्थगनपछि मेयर साहले सामाजिक सञ्जालमा राखेको स्टाटसका बारेमा पनि महर्जनले आपत्ति जनाए। ‘राजनीतिक दलप्रति मेयरको केको धङधङी हो,’ उनले भने, ‘देशमा लोकतन्त्र ल्याउने दलप्रति किन त्यत्रो पूर्वाग्रह?’

प्रकाशित: ४ असार २०८१ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App