२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रमाधान मेलामा जागिर खोज्नेभन्दा दिने धेरै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको बागमती प्रदेशस्तरीय दुई दिवसीय श्रमाधान मेलामा रोजगारी खोज्नेहरू नपुगेपछि आयोजक चिन्तित बनेका छन्। पाटन क्याम्पसपरिसरमा आयोजित मेलामा ‘रोजगारी दिन्छु’ भन्दा पनि काम खोज्नेहरू नआएको एक रोजगारदाताले बताए। ‘रोजगारी दिन्छु भन्दा पनि मानिस आएनन्,’ एक रोजगारदाताले नागरिकसँग भने, ‘सोचेजस्तो भएन।’

दिउँसोको चर्को घाममा रातोपिरो हुँदै सिभी मिडिया एजेन्सीअन्तर्गत भगिनी संस्थाका एक रोजगारदाता विदुर गिरी चिच्याउँदै थिए, ‘यहाँ कोही ग्राफिक डिजाइनसम्बन्धी काम गर्न इच्छुक हुनुहुन्छ । हामी यससम्बन्धी तालिम र रोजगारी नै दिन्छौं । तपाईंहरूका लागि सुनौलो अवसर आएको छ ।’

उनी भनिरहेका थिए, ‘हामी तपाईंलाई आवश्यक पर्ने सीपका लागि भरपुर सहयोग गर्नेछौं।’ गिरीका अनुसार साँझसम्म दुईजना मात्र कामदार रोजगारीको खोजीमा आएका छन्। रोजगारदाता श्रमिक आउने आसमा एकोहोरो कराइरहे पनि साँझसम्म इच्छुकहरू त्यहाँ पुगेका छैनन् । तैपनि बुधबार रोजगार खोज्नेहरू आउने अपेक्षा रोजगारदाताहरूको छ। मेलामा १५ जनालाई रोजगार दिनसक्ने गिरीले बताए। श्रमिक १५ जना पनि आउँछन् कि आउँदैनन् भन्ने अन्योल यथावत् छ। आफ्नो संस्थामा रोजगारीमा आउन चाहनेलाई विविध सीप प्रदान गर्ने उनीहरूको योजना छ। एसइई उत्तीर्ण युवालाई ग्राफिक डिजाइन, भिडियो रिसर्च र कन्टेन्ट राइटर चाहिएको गिरीले बताए।

गाउँघरमा रोजगारीको खोजी भए पनि काठमाडौंमा कमै मात्र माग रहेको अनुभव रोजगारदातालाई भएको छ। चाहिएसँगै उनीहरूलाई तालिम दिएर रोजगार दिन्छौं भन्दा पनि फर्म भर्न नआएको उनले बताए। दुरदराजतिरका मानिस रोजगारको खाँचोले छपटाइरहेका छन्। श्रमाधान मेला त्यस्तो ठाउँमा सुरु गरेसँगै पहिले विभिन्न कामसम्बन्धी सिप दिएर रोजगार दिन सकेमा धेरै राम्रो हुने उनले बताए। ‘ललितपुर भित्रका कतिपय भेगतिर धेरै मानिस अझै पनि बेरोजगार छन्। तिनीहरूलाई उपत्यकासम्म आएर काम गर्न धेरै कठिन हुन्छ । त्यसका लागि गाउँपालिकामै पाइने विभिन्न कामको सीप प्रदान गरेर त्यतै रोजगार दिन सकेमा धेरै राम्रो हुन्थ्यो,’ रोजगारदाता गिरीले भने।

यसैगरी रोजगारी चाहिएको खण्डमा हामीलाई सम्पर्क गर्नुहोस् भन्दै मेलामा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आठ हजार ३५० जना कामदारको माग गरेका छन् । तर, यति धेरै श्रमिकका लागि रोजगार प्रदान गर्छु भनेर स्टलसहित बसेका रोजगारदाता रोजगारी खोज्न श्रमिक नआएको देखेर पहिलो दिनमै आश्चर्यमा परेका छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले कटिङमा सय जना, सिलाइमा पाँच सय, लास्टिङमा दुई हजार पाँच सय, पेस्टिङमा पाँच सय, फिनिसिङमा दुई सय र डिजाइनमा ५० जना कामदारको माग गरेका छन्। उक्त एसोसिएसनलाई रोजगार खोज्न अत्यधिक कामदार आउँछन् भन्ने विश्वास थियो। तर सोचेको झै पूरा नहुँदा नमज्जा लागेको रोजगारदाताले बताए।

‘पहिलो दिनमै जति मानिस आउनुपथ्र्यो त्यति आएनन्,’ रोजगारदाताले भने, ‘बिहानैदेखि कामदार आउने आश्वासनमा थियौं। कुनै बेला हुल बाँधेरै आउँछन्। अनि हेरेर गइहाल्छन्। के काम हो ? कसरी गर्ने हो भनेर खासै चासो भने देखाएका छैनन्। हामीले फर्म भर्न लगाएका कामदारमा पनि त्यस्तो रुचि देखेका छैनौं। कामदारले साँच्चै काम गर्ने हो भने त्यसको प्रकृतिबारे धेरै चासो राखेर बुझ्ने गर्छ ।’ रोजगार दिन्छौं भनेर बस्दा पनि खासै श्रमिक नआएको एसोसिएसन प्रतिनिधिले जानकारी दिए।

मेला उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले रोजगारीको अवसर मात्रै होइन, करिअर काउन्सिलिङको काम पनि गर्ने बताइन् । मुलुकभित्रै रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारीका लागि युवालाई प्रेरित गर्न सहकार्यका लागि पनि छलफल चलाइनेसमेत उनले बताइन्। ‘यस्तो खालको मेला अति नै आवश्यक छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलिङ सुरु गर्दै छ।’

मन्त्री श्रेष्ठले मेला अति नै आवश्यक छ भने पनि जसका लागि यो आयोजना गरिएको तिनै थिएनन् । यसको अर्थ श्रमको अवसर यहाँ नचाहिएको भन्ने होइन। श्रमिकलाई सेवासुविधासहित रोजगारी चाहिएको छ। रोजगारसम्बन्धी तालिम दिएर अवसर दिने उद्देश्यले स्टल राखिएको रोजगारदाताले बताए।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार वैदेशिक रोजगारीमा युवा गइरहेको अवस्थामा मेलाले थोरै भए पनि नेपालभित्रै रोजगार दिनसक्ने अवस्था आउनु ठूलो उपलब्धि रहेको बताए।

मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघको संयोजनमा यसअघि कोसी प्रदेशको विराटनगर, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रमाधान मेला सञ्चालन भइसकेका छन्।

प्रकाशित: ३० जेष्ठ २०८१ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App