२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कोशीका ६ सहकारी सञ्चालकलाई कारबाही गर्न पत्राचार

बचतकर्ताको रकम अपचलन गरेपछि कोशी प्रदेशका छ ठूला सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाउन कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।

सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले इलामको सानीमाई चिया उद्योग, ओखलढुङ्गाको ककनी गैरीवन सहकारी, इटहरीको अम्बे कोशी बचत तथा ऋण सहकारी, झापा भद्रपुरको सुभसाइत, झापाकै बुद्दशान्तिमा रहेको जयपुर बहुउद्देश्यीय सहकारी र खोटाङ्को लालपाते बहुउद्देश्यीय सहकारी संस्थालाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको जनाएको छ।

इलामको सानीमाई चिया उद्योगले बचतकर्ताको ४२ लाख रुपैयाँ अपचलन गरेको छ। यो रकम अपचलनमा सञ्चालक समिति र व्यवस्थापकलाई कारबाही गर्न पत्राचार गरिएको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका निम्ति प्रमुख हरिबहादुर खत्रीले जानकरी दिए।

यसैगरी, ओखलढुङ्गाको ककनी गैरीवन कृषि सहकारी संस्थाका सञ्चालक र कर्मचारीले दुई करोड अपचलन गरेको खुलेको छ। यसमा ५ सय भन्दा बढी बचतकर्ताले उजुरी गरेपछि अपचलन गरेको खुलेको हो।

इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले पनि २०७२ सालदेखि यता पुरै चल्तीमा रहेकोमा ६१ करोड रुपैयाँ हाराहारी हिनामिना गरेको खुलेको छ। यसका अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि जेल चलान भएका छन्। मगरसहित पाँच जनाविरुद्ध मुद्दा चले पनि अरु केही समय पुर्पक्ष बसेर छुटेका छन्।

प्रदेश सहकारी रजिष्टार कार्यालय इनरुवाका अनुसार अम्बे कोशी सहकारी संस्थाका सबै सञ्चालकविरुद्ध मुद्दा दायर गरिएकाले जुनसुकै बेला पक्राउ गरी अनुसन्धान गरिनेछ। यसका सञ्चालक यति बेला फरार छन्। हिनामिना गरेको सबैभन्दा बढी पैसाको जिम्मेवारी अध्यक्ष मगरले लिएका छन्।

झापा भद्रपुरको शुभ साइत सहकारी संस्थाबाट बचतकर्ताकाे दुई करोड हाराहारी अपचलन भएको खुलेको छ। यसका पनि सञ्चालक र कर्मचारीलाई कारबाही गर्न पत्राचार गरिएको छ।यस संस्थामा एक हजार दुई सय हाराहारीले बचत गरेका थिए।

यस्तै, झापाकै बुद्दशान्तिमा रहेको जयपुर बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले बचत गरेको चार करोड अपचलन भएको छ। खोटाङमा रहेको लालपाते बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताकाे १८ करोड हिनामिना भएकोमा यति बेला पैसा तिर्न मिलापत्र भएको छ।

कोशी प्रदेशभित्र सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा माताहात एक हजार ८८ सहकारी संस्था रहेका छन्।

‘केही सञ्चालकले गलत नियत राखेर अपचलन गरेका छन्, यसले गर्दा राम्रा सहकारीलाई जोगाउन समस्या पर्ने अवस्था भएको छ,’ रजिस्ट्रार कार्यालयका निम्ति प्रमुख खत्रीले भने, ‘ऋण नतिर्ने ट्रेन्ड पनि बढ्दो छ, आएको बचत पनि त्यही बढ्दै छ। सहकारी त पैसा बेच्ने संस्था हो।’

प्रकाशित: २९ जेष्ठ २०८१ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App