२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

१० वर्ष जेल भोगेर पनि पुरानै धन्दा

कानुनका दृष्टिमा सबै बराबर हुन्छन्। अपराध गरेपछि कानुनतः सजाय हुन्छ। सजाय भोगिसकेपछि ती सामान्य जीवनमा फर्कन्छन्। तर एकथरी विगतको अपराधमा सजाय भोगिसकेपछि पनि झन् ठूलो अपराध गर्ने सोचमा हुन्छन्।

बिग्रेको मान्छेको भत्केको जीवनजस्तो स्थिति हुन्छ। इज्जत भए पो बेइज्जत हुनु भन्दै फेरि पुरानै आपराधिक कार्यमा फर्केका धेरै छन्। मानब बेचबिखन मुद्दामा १० वर्ष जेल परेर निस्किएका काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का स्थानीय सम्बरबहादुर तामाङ पुनः आपराधिक कार्यमा सहभागी भए। उनलाई नेपालको कानुनले दिलाएको सजायले नपुगेकै कारण पुरानै धन्दामा फर्किएका हुन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ३९ वर्षीय तामाङ मानब बेचबिखन मुद्दामा एक दशक जेल परेर गत वर्ष वैशाखमा मात्रै निस्किएका हुन्। थुनामुक्त भएपछि त्यही महिना उनी भारत गई नेपालबाट महिला तथा बालिकालाई लैजाने योजना बुन्न थाले। एक वर्ष भारतको बसाइमा उनले त्यहाँ रहेका विभिन्न बेचबिखन गर्ने दलालसँग मिलेर कामको नमुना तयार गरेसँगै कति नेपालीलाई भारत पुर्‍याए भन्ने थाहा नभएको ब्युरोले बताएको छ। तर दुरदराजका बालिकालाई भारत पुर्‍याउन उनी सक्रिय भएको प्रहरीले जनाएको छ।

थुनामुक्त तामाङले पोखरामा आफ्नो होटल रहेको र त्यहाँ मासिक २० हजार तलब दिलाउँछु भन्दै १४ वर्षीय किशोरीलाई ललितपुरको चापागाउँ, हेटौंडा र वीरगञ्ज हुँदै रक्सौल नाकाबाट भारत लैजान लागेका थिए। चापागाउँमा बास बसेको घरबाट उनको योजना चकनाचुर भएको हो । चेक प्वाइन्टमा किशोरीलाई उनले ‘बिना तामाङ’ नामको नागरिकता देखाउन भनेपछि उनको गलत प्रयासबारे मानव बेचबिखन ब्युरोका अनुसन्धान अधिकृतले चाल पाए ।

यसरी उनले वर्षौं थुनामा बसेर बुनेको सपना केही समयमै टुट्यो । उनको पुरानै धन्दामा फर्किने योजना असफल भयो। भारत पुर्‍याउने भनिएकी किशोरीलाई सम्बरको सम्पर्कमा लैजाने नुवाकोट तादी गाउँपालिका घर भई टोखामा बस्ने इन्दिरा कटुवाललाई पनि ब्युरोले पक्राउ गरेको सूचना अधिकारी एसपी गौतम मिश्रले जानकारी दिए।

उनले १० वर्षपहिले पनि नेपाली चेलीलाई भारत पुर्‍याउँदै आएका थिए। नेपालको सोझा महिलालाई काम लगाइदिने विश्वासमा पारेर भारतमा पुर्‍याएसँगै वेश्यावृत्तिमा लगाउने मुद्दामा पहिले थुनामा परेको मिश्रले जानकारी दिए।

आर्थिक अवस्था कमजोर भएकी बालिकालाई सम्बरले विश्वासमा पारेर भारतमा लैजाँदै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता मिश्रले बताए। सम्बरको साथबाट दिनेश थकुरा तामाङको नाममा रहेको भारतीय आधार कार्डसँगै भारतीय रूपैयाँ र बिना तामाङको नामको नेपाली नागरिकता पनि रहेको एसपी मिश्रले जानकारी गराए।

ब्युरोका प्रहरीको अनुसन्धानअनुसार भारतमा वेश्यालय सञ्चालन गर्ने एकजना महिलासँग सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत सम्बरको नियमित कुरा हुन्थ्यो । सामाजिक सञ्जालमार्फत नेपाली महिला तथा नाबालिकालाई भारत पुर्‍याउनेजस्ता अन्तरक्रिया हुने गरेको ब्युरोको अनुसन्धानबाट खुल्न आएको हो।

प्रकाशित: २९ जेष्ठ २०८१ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App