२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पीडितमाथि नै थपिन्छ पीडा: न फ्री भिसा न फ्री टिकट

बिदेशिनेकाे व्यथा

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि भिसा आइसकेपछि युवा समूह खडा गर्दै भिडियो गर्छन्, ‘हामीले तपाईंहरूसँग एक रुपैयाँ पनि लिएका छौं त?’ जवाफमा पीडितलाई भन्न लगाइन्छ, ‘छैन, हजुर।’ मोबाइलमा रेकर्ड गर्दै म्यानपावर कम्पनीवालाहरूले फेरि भन्छन्, ‘तपाईंहरू फ्री भिसा फ्री टिकटमा विदेश जान लाग्नुभएको हो नि?’ जवाफमा पीडितहरू भन्छन्, ‘हो हजुर।’

यसरी वैदेशिक रोजगारीमा जाने युवाबाट म्यानपावर कम्पनीहरूले घुमाउरो तरिकाले लाखौं रुपैयाँ असुल्ने गरेका छन्। रोजगारीका लागि विभिन्न देशबाट कामदारका लागि माग आउँछ।

नेपाल सरकारमा दर्तावाल म्यानपावर कम्पनीहरूले सरकारले तोकेका नीतिनियम पालना गरी विदेश पठाउनुपर्छ। तर प्रायः म्यानपावर कम्पनीहरूले १०/१५ जना एजेन्ट खटाएर वैदेशिक रोजगारीमा जान भौंतारिरहेका युवासँग आफूले चाहेअनुसारको पैसा उठाउने र विभिन्न देशसम्बन्धी जानकारी दिने गरेका हुन्छन्।

वैदेशिक रोजगारीका लागि बिनाएजेन्ट कुनै म्यानपावर कम्पनीमा पुगे पनि युवालाई सहयोग हुँदैन। उनीहरूलाई भनिन्छ, ‘यहाँ कुनै देशबाट पनि माग आएको छैन, दुईचार दिनमा राम्रा देशहरूबाट माग आउनेवाला छ। एकजना हाम्रै मान्छे हुनुहुन्छ, उहाँको सम्पर्क नम्बर लैजानुस्, उहासँगै कुराकानी गर्नुस् है।’

बिनाएजेन्ट वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीहरूको ढोका ढकढक्याउन पुगेका युवालाई उनीहरूले विभिन्न बहानामा फर्काउने गरेका छन्। एजेन्ट लिएर म्यापावरको दैलोमा युवा पुगेपछि मात्रै विभिन्न देशबाट कामदारको माग आएको बताइन्छ।

युवाले जान चाहेका देशबारे म्यानपावर कम्पनीका कर्मचारीले जाने प्रक्रिया र त्यहाँको सेवासुविधा सबै भन्छन्। तर त्यसका लागि लाग्ने रकम र बुझाउनुपर्ने बैंकको नाम भने उनीहरूले भन्दैनन्। वैदेशिक रोजगारीमा जान तयार भएका युवाले ‘पैसा कति लाग्ला हजुर’ भनेर प्रश्न राख्दा जवाफमा म्यानपावरवालाले भन्छन्, ‘तपाईं जाने सम्बन्धित देशबारे सबै जानकारी गरायौं। अब पैसाबारे हामीलाई थाहा हुँदैन्। यसको जिम्मा तपाईंसँग आउनु भएएका एजेन्टलाई दिएका छौं। उहासँग कुरा गर्नुस् न, तपाईंलाई अप्ठेरोमा नपारी मिलाएर गर्नु हुन्छ। म आफैं पनि कुरा गर्दिउँला।’

वैदेशिक रोजगारीमा जान चाहने युवाबाट अधिकांश म्यानपावरले यसरी पैसा उठाउने गरेका छन्। वैदेशिक रोजगारीमा जान लागेका कैलालीका तपेन्द्रबहादुर बुढा पनि म्यानपावरले एजेन्टमार्फत पैसा उठाएको बताउँछन्।

काठमाडौंस्थित सप्तकोसी ह्युमन रिसोर्स म्यानपावरका एजेन्ट रमेशकुमार बस्नेतलाई वैदेशिक रोजगारीका लागि मलेसिया जान बुढाले २ लाख ५० हजार रूपैयाँ बुझाएका थिए। उनले २ लाख रूपैयाँ एजेन्टले भनेअनुसार हातमै दिएको बताए।

‘काम विशेषले उपत्यकाबाहिर थिएँ। एजेन्ट रमेशसँग भेटघाट सम्भव नभएका कारण बाँकी पैसा उनलाई आइएमई गरिदिएको थिएँ,’ बुढाले भने, ‘मलगायत धेरैले म्यानपावरकै कुनै कर्मचारीको बैंक खातामा पैसा हालिदिन्छौं भनेर धेरैपटक भन्यौं। तर म्यानपावरका कर्मचारीले मानेनन्, हाम्रो बैंक खाताले अहिले काम गरेको छैन, एजेन्टलाई पैसा दिनु भने।’

एजेन्ट रमेशसँग बैंक खाता माग्दा बुढाले जवाफ पाए, ‘मेरो कुनै पनि बैंकमा खाता खोलेकै छैन। हाताहाती दिँदा भैइहाल्यो नि, त्यति पनि विश्वास छैन।’ म्यानपावर कम्पनीबाट परिचालित एजेन्टहरूले नै विदेश गएर केही गर्छु भन्ने उद्देश्य बोकेका युवालाई घर न घाटको बनाउने गरेको बुढा बताउँछन्।

 यसरी पैसा बुझाइसकेपछि म्यानपावर कम्पनीले पैसा लिएको छैन भनेर भिडियो बनाएको दिन सम्झँदै बुढा भन्छन्, ‘तपाईंको भिसा आइसकेको छ। अब काम पनि राम्रो छ। आखिरी पैसै कमाउन जान लाग्नुभएको हो। तपाईंबाट पनि हामीलाई केही चाहियो नि, के थाहा न कतै गएर छलछाम पो गर्नुहुन्छ कि। त्यसका लागि हामी सुरक्षित हुनैपर्‍यो। पहिला भिडियो बनाउँ अनि हातमा भिसा दिउँला।’ म्यानपावरले यसरी भिडियो बनाउने गरेको उनले खुलाए।

युवालाई म्यानपावरवालाबाट आफू ठगिएको कुरा वैदेशिक रोजगारीमा पुग्नुअगावै वा विदेश पुगिसकेपछि मात्रै महसुस हुन्छ। परिवारको मुखमा माड लगाउने भनेर बिदेसिने योजना बुनेका बुढालाई पनि मलेसियाको राम्रो सपना देखाएर म्यानपावर कम्पनीले नराम्रोसँग फसाएका छन्। उनी मलेसियामा क्वाएलप्रो रिर्सच एसडिएन बिएचडी नामक कम्पनीमा कामका लागि पुग्नेबित्तिकै आफूले नारकीय जिन्दगी जिउनुपरेको सुनाउँछन्।

‘धेरै रात रोडमा बिताएँ। दुई वर्षका लागि भनेर गएको थिएँ। त्यहाँ पुगेपछि ८ महिनासम्म कामै पाइएन। त्यसपछि केही समय काम गरें। वर्षदिन भएपछि भिसा नवीकरण गर्नुपर्ने थियो, कम्पनीले गरिदिएन। केही महिना काम गरेको तलब पाइयो तर ओभर टाइम गरेको पैसा दिइएन,’ पीडित बुढाले दुखेसो पोखे। कम्पनीले काम पनि नदिने, पासपोर्ट पनि जफत गर्ने, काम गरेको पैसा पनि नदिने र बसेको ठाउँबाट पनि निकालिदिएकाले १७ महिनापछि आफूसहित ५ जना करिब महिना दिनअघि नेपाल फर्किएको बुढाले बताए।

मलेसियामै हुँदा एजेन्ट र सप्तकोसी म्यानपावरसँग हारगुहार माग्दा उनीहरूले बेवास्ता गरेको पीडित बुढा बताउँछन्। नेपाल फर्किएर म्यानपावर कम्पनीमा पुग्दा उनले नराम्रो जवाफ पाए, ‘हामीसँग एजेन्ट छैन। कसलाई पैसा बुझाउनु भएको हो, त्यो हामीलाई थाहा छैन। हामीमार्फत जानुभएको हो तर हामीले पैसा लिएका छैनौं। यहाँ आएर धेरै नकराउनु, कहाँ जाने हो, जानुस्।’

वैदेशिक रोजगार विभाग पुगेर न्यायको याचना गर्दा विभागका कर्मचारीले पनि यता जा र उता जा भन्दै हप्काउने गरेको बुढाले बताए।

म्यानपावर कम्पनीले विदेश पठाएको प्रमाण, एजेन्टलाई पैसा आइएमईमार्फत दिएको प्रमाण, मलेसियास्थित कम्पनीले पासपोर्ट जफत गरेको ओभरटाइम काम गरेको पैसा नपाएको र आफ्नै पैसा लगानी गरेर ट्राभल डकुमेन्टमा नेपाल फिर्ता भएको प्रमाण हातमा बोकेर बुढा न्याय माग्न विभाग गएका हुन्। तर त्यहाँबाट पनि न्याय पाउन नसकेको बताउँदै बुढाले भने, ‘हाम्रो देशमा न्याय कहाँ रहेछ। आफ्नै देशमा पनि ठगिनुपर्ने। वैदेशिक रोजगार विभागका कर्मचारीसँग हाम्रो आवाज सुन्न सक्ने क्षमता र धैर्यता नै छैन। पीडितको कुरै सुन्दैनन उनीहरू पनि।’

वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई न्याय दिलाउन बसेका विभाग र त्यहाँका कर्मचारीहरूको व्यवहारबाट असन्तुष्ट बुढा भन्छन्, ‘म्यानपावरवालाले फुर्सद निकालेर विभाग आएको दिन मलाई बोलाइयो। त्यहाँ विभागका कर्मचारीको उपस्थितमा म्यानपावारवालाको गाली सुन्नुपर्‍यो। तपाईं आफंैले भिडियो बनाउनु भएको होइन् पैसा दिएको छैन भनेर, कसरी ठगीमा सप्तकोसी मुछियो। तपाईं कसरी पीडित हुनुभयो। कसकसलाई पैसा दिनुभयो। त्यो हामीलाई के थाहा भनेर उल्टै धम्कीयुक्त गाली खानुपर्‍यो।’

विभागका अधिकारी अजित केशरीले पनि म्यानपावरकै साथ दिएको उनको भनाइ छ। बुढाले भने, ‘हाम्रो पक्षमा बोल्नुपथ्र्यो, अजित सर बोल्नुभएन्। म्यानपावरवालाले त्यसरी गाली गर्दा पनि उसकै पक्षमा बोल्नुभयो। तपाईंको सबै कागजात भए पनि वैदेशिक रोजगारीको प्रयोजन खुलाइएको छैन भन्नुभयो। यहाँ उजुरी दिन मिल्दैन, प्रहरीमा उजुरी दिन जानुस् भनेर मलाई फर्काइयो।’

त्यसपछि उनी नेपाल प्रहरीकोमा उजुरी दिन पुगे। प्रहरीले पनि ‘यो वैदेशिक रोजगार विभागले हेर्ने विषय हो, हामीले होइन’ भन्दै फर्काइदिएको उनले बताए।

यसरी वैदेशिक रोजगारी विभागमा न्यायका लागि धाउने अधिकांश पीडित म्यानपावर कम्पनीको ठगीमा परेका हुन्छन्। तर विभागमा उजुरी लेखाउँदा एजेन्टविरुद्ध मात्रै लेखिएको छ।

यसरी म्यानपावर कम्पनीलाई खुलेआम ठगी धन्दा गर्न विभागले नै दिइरहेको छ। चालु आव २०८०/८१ को चैत मसान्तसम्म वैदेशिक रोजगारीमा ठगिएका पाँच हजार ८ सय ८१ वटा उजुरी विभागमा परेका छन्। यी उजुरीमा ७ सय ५२ वटा म्यानपावर कम्पनी र पाँच हजार १२९ वटा व्यक्ति (एजेन्ट) विरुद्ध छन्।

विभागमा म्यापावर कम्पनीभन्दा एजेन्टविरुद्ध बढी उजुरी परेको यसबाट देखिन्छ। पीडितले एजेन्टलाई पैसा दिएका कारण म्यानपावर कम्पनीलाई कानुनी कारबाहीको दायरामा ल्याउन कठिन हुने विभागका अधिकारी बताउँछन्।

बुढाको उजुरीमा उनी र म्यानपावरवाला कम्पनीका मानिसलाई राखेर कुराकानी गराएको विभागका अधिकारी केशरीले बताए। उनले भने, ‘म्यापावरले पैसा लिएको देखिँदैन। उहाँ विदेश जानुको प्रयोजन कागजमा नखुलाइएको हुँदा कम्पनीविरुद्धको उजुरी लिन नमिलेको हो। मलेसियामा ओभर टाइम काम गरेबापतको पैसाका लागि पहल गरिरहेका छौं।’

देशमा रोजगारी नपाएर बिदेसिन बाध्य युवामाथि व्यापक ठगी छ। फ्री भिसा, फ्री टिकट भने पनि म्यानपावरवाला कम्पनीले एजेन्टमार्फत पैसा असुलेर युवालाई विदेश पठाउँछन।

बेरोगार युवामाथि देशभित्रै ठगी छ, विदेशमा पनि ठगी छ। विदेश जाँदा पनि भनेअनुसारको काम र तलब पाउन मुस्किल हुन्छ। अनि न्याय त झन् आकाशको फल भइहाल्यो। एजेन्ट पालेर बसेका नेपाल सरकारमा दर्तावाल म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीका नाममा ठुलो ठगी गरिरहेका छन्। पीडित भने उल्टै मारमा छन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App