२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

चिनियाँ गिरोहको जालोमा युवा

वैदेशिक रोजगारीमा गएका एक युवक दुई दिन मात्र बसेर फर्केको कुरा कमैले पत्याउँछन्। ऋण काढेर विदेश पुगेका युवाहरू जति दुःख पाए पनि त्यो चुक्ता गरेर मात्रै फर्किने सोचमा हुन्छन्। ती युवक भने विदेशको दुईदिने बसाइपछि फर्केका हुन्।

अपेक्षाअनुसारको काम नभएपछि जेठ ६ गते गन्तव्य कम्बोडियाका लागि उडान गरेका तिनी १० गते नेपाल फर्किन बाध्य भएका हुन्। आएगएको समय पनि जोड्दा उनी नेपालबाट गएको चार दिनको अन्तरालमा फर्किएका हुन्।

काठमाडौंका ३५ वर्षीय ती युवक धेरै आम्दानी गर्ने लोभले कम्प्युटरमा विभिन्न डाटा राख्ने भन्दै एजेन्टमार्फत कम्बोडिया पुगेका थिए। परिवारको सुखद भविष्यको कल्पना गर्दै कम्बोडिया जान उनले चार लाख रूपैयाँ एजेन्टलाई बुझाएका थिए।

मानव तस्करीमा संलग्न एजेन्टहरूले नेपालदेखि कम्बोडियासम्म नपत्याउने किसिमले ‘सेटिङ’ गरेका रहेछन्। एजेन्टले सिकाएका विभिन्न भनाइलाई तिनले यथोचित पालना गरेका थिए। सुरक्षित कामको आशामा एजेन्टले भनेअनुसार उनी पछि लागेका थिए।

‘विदेशमा पुगेपछि दुःख गरेर मजाले कमाउँछु भन्ने सोचमा थिएँ,’ उनले भने, ‘त्यहाँ पुगेपछि राजाकै घरमा पुगेजस्तो अनुभव भएको थियो। हामीसँग एजेन्टले गरेको सम्झौतामा १ प्रतिशत पनि शंका थिएन। तर कस्तो नराम्रोसँग फसायो। जताततै सेटिङ नै सेटिङ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पु¥याउने एउटा एजेन्ट थियो। विमानस्थलभित्रदेखि विमानसम्म अर्को र विमानभित्र पनि फेरि अर्कै एजेन्टको उपस्थिति थियो।  

‘मान्छे पत्याउँदैनन् होला, प्लेनभित्र पनि ठुलो सेटिङ छ,’ उनले भने, ‘हामी चढेको प्लेनमा कम्बोडिया जाने चार जना थियौं। दुई जना साथी अलि अगाडि बसेका थिए भने म र एउटा साथी पछाडितिर बसेका थियौं । प्लेन चढेर सिटमा बस्न नपाउँदै एउटा मान्छे आएर भन्छ, तपाईंहरूको फोटो मसँग आइसकेको छ। अब मैले भनेअनुसारको गर्नू है।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा एजेन्ट र हवाईजहाजभित्र अर्को एजेन्ट रहेको उनले बताए। ‘प्लेन चढ्दा होस् या ओर्लिंदा, शौचालय जाँदा पनि एजेन्टकै नजरमा हामी हुन्थ्यौं। प्लेनभित्रको एजेन्टले ओर्लिएपछि हामी सबैलाई चार जना एजेन्टको भागमा लगाइदिए। आ–आफ्नो एजेन्टले हामीलाई कम्बोडियाको विभिन्न ठाउँ लगेका थिए। नेपालबाट सँगै गएका हामी साथीभाइबीच दोहो¥याएर भेट भएन।’

विदेशमा परिवार छाडेर आउँदा केही नभएका उनलाई साथीभाइ छुट्नुमा कुनै पश्चात्ताप थिएन। अब काम कहिलेबाट गर्ने भन्ने भन्ने चिन्ता मात्र उनलाई थियो। ती पीडितका अनुसार कम्बोडिया पुगेकै भोलिपल्ट चिनियाँ नागरिकद्वारा परिचालित एक कम्पनीको काममा लगाइयो। आफ्नो साथमा भएको १६ सय डलर (नेपाली २ लाख १२ हजार ६९३ रूपैयाँ) चिनियाँ नागरिकले नै लिएको उनले बताए। तर उनलाई नेपालको एजेन्टले बताएझैं काम भने दिइएन।

टेलिग्राममार्फत विभिन्न देशमा छरिएर रहेका पुरुष वा महिलालाई आफ्नो जन्जालमा पार्नुपर्ने उनको काम थियो। त्यति मात्रै नभएर अथाह धनी व्यक्ति, त्यो व्यक्ति बस्ने ठाउँ र उक्त व्यक्तिको बैंक खाता नम्बर पत्ता लगाउनुपर्ने जिम्मेवारी उनलाई दिइएको थियो।

‘धनी व्यक्तिलाई छानी आफ्नो जालमा पारेर उसको नाम, ठेगाना र बैंक खाता नम्बर सबै फेला पार्ने काम थियो,’ उनले भने, ‘त्यसरी व्यक्तिको विवरण थाहा पाएपछि चिनियाँ नागरिकले बैंकबाट सिधै पैसा झिक्ने रहेछ। कामको विवरण थाहा पाउनेबित्तिकै उनले यस्तो काम गर्दिनँ भने। कम्प्युटरमा डाटा कलेक्सन भनेर अरूलाई फसाएर पैसा चोर्नुपर्ने रहेछ।’

आफू मर्छु बरु यस्तो काम गरिन्न भन्दै चिनियाँ नागरिकलाई भनेको ती युवकले बताए। कम्बोडिया पुग्नेबित्तिकै आफूसँग भएको पैसा चिनियाँ गिरोहलाई दिएकाले र काम मरे पनि गर्दिनँ भनेकै आधारमा स्वदेश आउन सफल भएको भन्ने उनको अनुमान छ। ‘उनीहरूले त्यहाँ काम गर्न धेरै फकाएका थिए। नेपाल फर्कने टिकट मसँगै थियो। मेरो साथमा भएको पैसा सबै लिइसकेका थिए। उनीहरूले भनेको नमान्दा मलाई भोलिपल्टै नेपाल फर्काइदिए।’

उक्त कम्पनीमा काम गर्ने नेपाली धेरै युवा रहेको जानकार उनले दिए। यस्तो काम पनि के गरिरहेका छौं भनेर नेपाली युवालाई प्रश्न गर्दा उनले यस्तो जवाफ पाए, ‘के गर्नु नराम्रोसँग फसियो। ४-५ लाख ऋण गरेर एजेन्टलाई बुझाएर आइयो। यहाँ आएपछि यस्तो कामबारे थाहा भयो। हामीलाई पनि झुक्याएर ल्याइएको हो। अब काम नगरेर पनि के गर्नु परिवार पाल्नैप¥यो, ऋण तिर्नैप¥यो। यस्तो बाध्यतामा छौं। फिर्ता जान पनि चिनियाँलाई पैसा तिर्नैपर्‍यो।’

परिवारसँग बिदावारी भएर कमाउन भनी विदेश पुगेको मान्छे चार दिनमै घर आइपुग्दा परिवारलाई अवसाद भयो। उनी आफैं पनि भावुक भए। एउटा काम भनेर अर्को काम लगाएकै कारण यस्तो गर्दिनँ भन्दै नेपाल फर्किएका ती पुरुष मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन गत बिहीबार आएका हुन्।

चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीमा एक भारतीय नागरिकले काम गर्न नसक्दा करेन्ट लगाएको ब्युरोमा उजुरी दिन आएका ती पीडितले बताए। ‘भारतीय नागरिक ऋण गरेर त्यहाँ पुगेको रहेछ। अब जसरी पनि काम गर्नैप¥यो भनेर लाग्दा कम्पनीको सीमाक्षेत्रभित्र रहेर काम गर्न नसकेको हुँदा तिनलाई करेन्ट लगाइएको हो। २८ दिनसम्म करेन्ट लगाउँदा भारतीय नागरिकको शरीरको मासु पक्कपक्क उप्किएको थियो,’ उनले भने।

भारतीय नागरिकलाई धेरै गाह्रो भएपछि परिवारसँग हारगुहार गरेर १० हजार डलर (नेपाली १३ लाख २९ हजार ३३७ रूपैयाँ) चिनियाँ गिरोहलाई बुझाएर आफूसँगै स्वदेश फर्किएको ब्युरोमा उजुरी दिएको ती पुरुषले बताए। उनी आफ्नै मनलाई सम्हालेर स्वदेश फर्किएका थिए। तर ऋण गरेर गएको विदेशको सपना टुटेको थियो। उनीहरूले अह्राएको काम सम्झिँदा पनि आङ जिरिङजिरिङ भएर आउँछ। आफू फुत्किएर स्वदेश आउन पाएकामा उनी गर्व महसुस गर्छन्।

चिनियाँ गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा लगी शिविरमा राखेर अनलाइन स्क्यामिङ लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले बताए। ‘ती देशमा लगेर अनलाइन ठगीका काममा लगाउने गरिन्छ। तोकेअनुसार ठगी गर्न नसके शारीरिक र मानसिक यातना दिइन्छ,’ उनले भने, ‘स्वदेश फर्कन खोज्दा पनि चिनियाँले लाखौं रूपैयाँ माग्ने गरेका छन् ।’

जसोतसो स्वदेश फर्किएका युवा न्यायका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुग्छन्। उनीहरूको बयानका आधारमा ब्युरोले २८ जनामध्ये ८ जना महिला र २० जना पुरुषलाई पक्राउ गरेको एसपी मिश्रले बताए।

‘अहिले अनलाइन स्क्यामिङको समस्या भयावह छ,’ मिश्रले भने, ‘नेपालीलाई विभिन्न मुलुकमा पु¥याएर अनलाइन स्क्यामिङमा लगाउने गरेको उजुरी परेका छन्। अनलाइन ठगी धन्दा चलाउने चिनियाँ गिरोहले यसमा गरिब देशका युवालाई प्रयोग गर्दै आएको छ।’ ब्युरोमा हालसम्म १६ मध्ये म्यानमारका नौ, लाओसका तीन र कम्बोडियाका चारवटा ‘अनलाइन स्क्यामिङ’ सम्बन्धी मुद्दा परेका छन्।

प्रकाशित: २३ जेष्ठ २०८१ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App