२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गोल्डेन राइस प्रतिबन्धित

यस्ताे पनि!

यतिबेला फिलिपिन्समा एउटा धानले धेरैको निद्रा खराब गराइरहेको छ। जेनेटिकल्ली मोडिफाइड (जिएम) धान गोल्डेन राइसलाई फिलिपिनी अदालतले रोप्न रोक लगाएपछि संसारभर यसले चासो जगाएको छ।

फिलिपिन्सका ग्रिनपिस गैरसरकारी संस्था तथा किसानहरूले गोल्डेन राइसलाई देशमा रोप्न स्वीकृति दिएकामा क्रुद्ध थिए। उनीहरूले त्यसविरुद्ध आन्दोलन गरे र अदालतमा मुद्दा दर्ता गराए।

यतिबेला अदालतले गोल्डेन राइस रोप्न र धान उमार्न रोक लगाएको छ। सुनौलो धान जिएम बिउको मुख्य उद्देश्य पछिल्लो समय खान्कीमा भिटामिन एको कुपोषण अन्त्य गर्नु थियो।

केही वैज्ञानिकले यो धानलाई रोप्न प्रतिबन्ध लगाउँदा बालबालिकामा बढ्दै गइरहेको भिटामिन एको अभाव चर्किन सक्ने बताएका छन्। सो निर्णय मानवताविरोधी भएको बोन विश्वविद्यालयका प्राध्यापक माटिन किमले बताएका छन्।

उनले भने, ‘यसरी रोक्नु भनेको विज्ञानसम्मत पक्ष र विभिन्न प्रमाणहरूलाई नमान्नु हो। यसले भविष्यमा हजारौँ बालबालिका भिटामिन एको अभावमा मर्ने सम्भावना बढेर गएको छ।’

बाङ्लादेश र भारतमा भने सुनौलो धान प्रयोगमा ल्याउने बताइएको छ तर फिलिपिन्समा लगाइएको प्रतिबन्धले भविष्यमा उनीहरूलाई पनि प्रभाव पर्नसक्ने उनको चिन्ता छ। बालीविज्ञ एड्रियन डुबोक भन्छन्, ‘सुनौलो धान नाफाका लागि होइन। यो त सर्वसाधारणको ज्यान बचाउन ल्याइएको बिऊ हो। किसानले कुन बिऊ प्रयोग गर्ने र सर्वसाधारणले कुन चामल खाने भन्ने कुरामा नियन्त्रण गर्न खोजिएको होइन तर भविष्यमा यस्तो चामल चाहिएको छ, जसले सर्वसाधारणको ज्यान जोगाओस्।’

भिटामिन ए विभिन्न खाद्यपदार्थमा पाइन्छ। पछिल्लो समय यसको अभाव खाद्यपदार्थमा चुलिँदै जान थालेको छ। बालबालिकालाई लाग्ने रोगमा भिटामिन एको अभावले उनीहरूमा संक्रमण  बढ्ने र ज्यानकै जोखिम हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ। खासगरी बालबालिकामा भिटामिन एको अभावले अन्धोपन बढ्न सक्ने बताइएको छ। भिटामिन एको अभावका कारण हरेक वर्ष एक लाख बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ।

जर्मनीस्थित फ्रिबर्ग विश्वविद्यालयका कोष जीवविज्ञानका प्राध्यापक पिटर बेयर र इन्स्टिच्युट अफ प्लान्ट साइन्स स्विट्जरल्यान्डका इन्डो पोट्रिकसले सन् १९९० को दशकमा नयाँ प्रविधिमा जेनेटिक छेडछाड गर्दै यस्तो धान बनाएका थिए। यो धानको डिएनएमा भिटामिन ए निर्माणका तत्वहरू हालिएको थियो।

अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डले गोल्डेन राइस रोप्न र यसको चामल खान सुरक्षित हुने बताइसकेका छन्। सन् २०१६ यता ग्रिनपिस संस्थाले गोल्डेन राइस र जिएम कर्पविरुद्ध अभियान थालेका थिए। तर अभियानले यो चामलले खराबी गर्छ भनेर कुनै पनि प्रमाण पेश गर्न सकेनन्।  

प्रकाशित: १७ जेष्ठ २०८१ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App