२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

चिटिक्क र सुविधायुक्त सार्वजनिक शौचालय

सार्वजनिक शौचालय भन्नेबित्तिकै अझै पनि धेरैले फोहोर, दुर्गन्धित र अस्तव्यस्त ठाउँ भनेर सम्झन्छन्। त्यसैले कतिपयले भन्ने पनि गर्थे, ‘सहरमा सबै कुरा खोज्न मुस्किल छ तर शौचालय खोज्न मुस्किल छैन। किनकि दुर्गन्धले नै परैबाट यसलाई चिन्न सकिन्छ।’ तर ललितपुरको जावलाखेलमा यो भाष्य तोडिएको छ। त्यहाँ स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय बिहीबारबाट सञ्चालनमा आएसँगै शौचालयको बारेको आम परिभाषा नै बदलिएको हो।

शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरमा भएका शौचालयहरू सफा भएको बताए। ‘शौचालय भन्नेबित्तिकै फोहोर हुन्छ र गनाउँछ भन्ने आम धारणालाई हामीकहाँ बनेको शौचालयले चिरेको छ,’ उनले भने, ‘नजिकै बसेर चिया खान सकिने गरी शौचालयहरू निर्माण भएका छन्।’

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय बनाएको हो।

शौचालय आपांगतामैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिकमैत्री र वातावरणमैत्री बनेको छ। शौचालयमा सेनेटरी प्याडसमेत उपलब्ध छ। शिशुलाई स्तनपान गराउन छुट्टै ठाउँको समेत व्यवस्था गरिएको छ। एरोसानले महानगरको मंगलबजार, पाटनढोका र जावलाखेलमा गरी तीन ठाउँमा अत्याधुनिक सार्वजनिक शौचालय बनाएको छ।

शौचालय प्रयोग गरेबापत १० रुपैयाँ शुल्क लागे पनि प्रयोगकर्ता खुसी नै भएको सञ्चालकको भनाइ छ। ‘शौचालय प्रयोग गर्न आएकाहरू सुरुमा १० रुपैयाँ भनेर केही असहज मानेको महसुस हुन्छ,’ एरोसान हबकी पविता खपांगीले भनिन्, ‘प्रयोग गरेपछि उनीहरू खुसी हुँदै फर्केको पाएको छु।’ पहिलो दिन निःशुल्क सेवा दिइएको बताउँदै प्रयोगकर्ताहरू निकै खुसी भएको उनले सुनाइन्।

शौचालय प्रयोग गर्नेले पनि आफ्नो नौला अनुभव सुनाए। ‘म राजधानीमा आएर बस्न थालेको १५ वर्षजति भयो तर अहिलेसम्म यत्तिको शौचालय देखेको थिइनँ,’ रघु तामाङले भने, ‘सफा पनि यति धेरै छ कि फोहोर गर्न पनि संकोच लाग्छ।’

 अत्याधुनिक प्रविधिका कारण केहीबेर अलमलमा परेका तामाङले यस्तै शौचालय अन्यत्र पनि भइदिए राम्रो हुने बताए। वडा ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्यधिक चाप भएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा नागरिकहरू लाभान्वित हुने बताए।

‘चिडियाखाना यस वडामा भएकाले शौचालय खोज्दै आउने धेरै हुन्छन्,’ उनले भने, ‘जात्राको समयमा पनि यो शौचालयले निकै सहयोग गर्नेछ।’ भोटो देखाउने जात्राका बेला तीन चारवटा मोबाइल शौचालय हुँदा पनि पर्याप्त हुँदैनथ्यो। निर्माण सम्पन्न भइसकेको यो सार्वजनिक शौचालयले आश्यकता परेकालाई सहजता दिने उनको विश्वास छ।

एरोसानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भ मात्रै ठुलो कुरा नभएको बताउँदै यसको सञ्चालन महत्त्वपूर्ण भएको बताइन्। शौचालयलाई सफा र व्यवस्थित राख्न प्रयोगकर्ताको सहयोग महत्त्वपूर्ण भएको उनको भनाइ थियो।

सोनीका अनुसार यहाँको दिसाजन्य लेदोबाट ऊर्जा उत्पादन गरिनेछ। खानेपानी, सरसफाइ र स्वच्छतालाई वाटर एडले प्राथमिकता दिएको सो संस्थाका निर्देशक सुदर्शन न्यौपानेले बताए। दिगो र व्यवस्थित ढंगबाट शौचालय सञ्चालनका लागि सहकार्य अत्यावश्यक भएको उनको भनाइ थियो।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा पनि जावलाखेल, मंगलबजार र पाटनढोकामा भएको जस्तै सार्वजनिक शौचालय आवश्यक भएको बताए।

लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको उनले जानकारी दिए। उनले छिट्टै त्यहाँ सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणको काम सुरु हुने बताए।

एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार सात वटा वडामा सार्वजनिक शौचालय ललितपुर महानगरले निर्माण गरिरहेको छ। वडा ८, ९, २, १० , २४ , २५, २७ मा सार्वजनिक शौचालय निर्माण भइरहेको महानगरको भनाइ छ। वडा ८, ९, २४, १० र २ मा बनेका शौचालयमा ‘फिनिसिङ’को काम जारी छ। वडा २५ र २७ का लागि लेआउट र स्ट्रक्चरको काम भइरहेको महानगरले जानकारी दिएको छ।

प्रकाशित: २९ वैशाख २०८१ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App