२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

‘रोल्पाको लाइन’ मा देशको राजनीति

लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरीले गरिरहँदा सोही पार्टीका प्रदेश सभापति अमरसिँह पुन कहिल्यै खुशी देखिएनन्। पुनका त्यतिबेलाका अभिव्यक्तिमा सरकारप्रति असन्तुष्टि झल्किरहन्थे।

तर, सभापति पुन मुख्यमन्त्री चौधरीसँग असन्तुष्ट थिएनन्, न त सरकारका कुनै मन्त्री र सरकारको कार्यशैलीसँग असन्तुष्टि थियो। असन्तुष्टि थियो त केवल माओवादी केन्द्रसँगको गठबन्धनसँग।

माओवादी केन्द्रलाई साथमा राखेर सरकारको समीकरण बनाउनुहुन्न भन्नेमा सभापति पुनको मत धारणा थियो। सोहि कुराको असन्तुष्टि लिएर उनी कांग्रेसका केन्द्रीय नेताहरूको घरदैलोसम्म पुगेका थिए। एमालेसँग सहकार्य गर्नुपर्ने प्रस्ताव थियो उनको।  

अहिले सभापति पुनले भनेकै ठाउँमा देशको राजनीतिक समीकरण आइपुगेको छ। आफ्नो धारणामै समीकरण पुगेका देख्दा अहिले उनमा चर्कै सुखानुभूति छ।

‘कांग्रेसले माओवादीसँगग सहकार्य गर्नु नै हुँदैन भन्ने मेरो धारणा हो। आमकार्यकर्ताले यो रुचाएका छैनन् भन्नेमा म क्लियर थिए। यसैले एमालेसँगको सहकार्य गर्नु उत्तम हुन्छ भन्ने प्रस्ताव थियो मेरो,’ सभापति पुन भन्छन् ‘अहिले त्यो मेरो प्रयासले सार्थकता पाएको छ, अब यसलाई बलियो ढंगबाट मुलुकलाई अगाडि लैजानु पर्छ।’

सभापति पुन रोल्पाबाट प्रतिनिधित्व गर्ने नेता हुन्। जहाँ माओवादीको दबदबा छ। १० वर्षे सशस्त्र युद्ध९जनयुद्ध०को उद्गम थलोमा माओवादीले बलियोसँग जरा गाढेको छ।

पुनकै अग्रसरतामा गएको स्थानीय तह निर्वाचनमा रोल्पामा फरक समीकरण बनेको थियो। अर्थात्, देशभर कांग्रेस–माओवादी केन्द्रको समीकरण बनिरहँदा पुनले रोल्पामा एमालेसँग गठबन्धन गराए। त्रिवेणी र माडी गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धन बनेको थियो।

रोल्पा मात्र होइन्, त्यतिबेला देशभरी नै माओवादीसँग नभई स्थानीय आवश्यकता भए एमालेसँग गठबन्धन पर्ने धारणा आफ्नो रहेको सभापति पुन सुनाउँछन्।  ‘मैले त्यो बेला पनि पार्टी शीर्ष तहलाई स्थानीय स्तरमा आवश्यक भए एमालेसँग गठबन्धन गर्नुपर्छ भनेको थिएँ,’ उनी सम्झन्छ, ‘किनभने रोल्पाको अनुभवले माओवादीसँगको यात्रा प्रभावकारी हुन्न भन्ने मैले अनुभूति गर्दैआएको थिएँ।’

माओवादीप्रतिको पुनले आफ्नो मात्रै असहमती नभएको बताउँछन्। ‘तत्कालीन द्वन्द्वकालमा माओवादीबाट प्रताडित भएका आम कांग्रेस कार्यकर्ताहरू उसलाई भोट हाल्न सक्दैनन्। भोट हाल्न नसकिनेसँग सत्तायात्रा पनि गर्नुहुन्न भन्ने धेरैको चाहना हुन्छ। यो कुराको मर्म पार्टीका नेताहरूले बुझ्नुपर्छ भन्ने मेरो धारणा छ,’ सभापति पुनले भने। कार्यकर्ताको त्यहिँ मनोभावलाई हेरेर कांग्रेसमा  माओवादीको छायाँसम्म नपरोस् भन्ने उनी चाहन्छन्।

रोल्पाको यहि राजनीतिक धारणा देखाउन पनि स्थानीय तह निर्वाचनमा सांकेतिक रूपमा एमालेसँग गठबन्धन गरेको सभापति पुन बताउँछन्। ‘दुई स्थानीय तहमा एमालेसँग गठबन्धन गराउनुको उद्देश्य नै देशलाई सन्देश दिनु थियो। त्यहिँ सन्देशले आज देशमा साकार रूप लिएको छ,’ उनले भने।

स्थानीय तहपछि संसदीय निर्वाचनमा पनि सभापति पुन एमालेसँग चुनावी गठबन्धन चाहन्थे। तर, कांग्रेसको केन्द्रीय समितिबाटै माओवादीसँग गठबन्धन गर्ने निर्णय भयो। त्यहिँबीचमा पनि रोल्पामा उनले कांग्रेस–एमाले सहकार्यको कोशिस गरे। एमालेले लिखित सहमतिको प्रस्ताव गर्दा उनी पछि हटे।

‘केन्द्रबाटै माओवादीसँग देशभरी गठबन्धन गर्ने भन्ने निर्णय थियो। रोल्पामा लिखित रूपमै फरक सहमति गरे फेरी अर्कै स्थिती सिर्जना हुने डर भयो। त्यसैले त्यतिबेला त्यो सम्भव भएन,’ सभापति पुनले सुनाए।

माओवादीसँगको गठबन्धनमा प्रदेश सभा निर्वाचनमा सभापति पुन आफै उम्मेदवार चुनिए। तर, माओवादीले अर्कै षडयन्त्र ग¥यो। माओवादीबाट टिकट नपाएर विद्रोह गरेका दिपेन्द्र पुन स्वतन्त्र रूपमा प्रतिस्पर्धामा आए। माओवादी कार्यकर्ताले अघोषित रूपमा उनैलाई भोट हाले÷हाल्न लगाए। सभापति पुन पराजित भए, माओवादीले आफ्नै विद्रोही उम्मेदवारलाई भोट हालेर जितायो।  

‘माओवादीले जहिल्यै रोल्पालाई आफ्नो गढका रूपमा प्रयोग गर्न खोज्यो। अरु दलको अस्तित्वलाई अस्वीकार गर्दै माथि उठ्न नदिने रणनीतिमा लागिरह्यो,’ सभापति पुन भन्छन्,‘माओवादी आफू बलियो भएको क्षेत्रमा यस्तै गर्छ। यो उसको विशेषता हो भन्ने मेरो बुझाइ हो।’ यहीकारण एमालेसँग सहकार्य गर्नुपर्नेमा आफू जहिल्यै एकमत रहेको उनी बताउँछन्।

सदावहार यस्तो धारणा बोक्ने सभापति पुन माओवादीसँग सहकार्यमा जहिल्यै असन्तुष्ट रहन्छन्। कांग्रेसकै चौधरी नेतृत्वको प्रदेश सरकार रहँदा पनि उनी रूष्ट हुनुको कारण यही थियो। त्यसैबेला माओवादीबाट विद्रोही उम्मेदवार उठेर आफुलाई पराजित गरेका दिपेन्द्र पुनलाई मन्त्री बनाउन मन्त्रालय फुटाउनेसम्मका गतिबिधि भएपछि झन् चर्को सुनिएका थिए। सभापति पुनको अडानकै कारण माओवादी केन्द्रले दिपेन्द्रलाई तत्काल सरकारमा पठाउन पाएन।

अहिले सभापति पुनकै धारणासँग मेल खानेगरी कांग्रेस र एमाले एकठाउँमा उभिएका छन्। ‘दुई ठूला दलका बिचमा समिकरण निर्माण भए मात्रै मुलुकले स्थायित्व पाउँछ भन्ने मेरो स्पष्ट विचार हो,’ सभापति पुनले भने ‘आज मेरो यो अपेक्षा पुरा भएको छ, अब प्रदेश तहले पनि स्थायित्व पाउँछ।’ यद्यपि अब एमालेसँगको सहकार्यबाट स्थायित्व दिएर औचित्य पुष्टि गर्ने चुनौती  रहेको उनी बताउँछन्।

प्रकाशित: २० असार २०८१ १७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App