२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि

नेकपा (एकीकृत समाजवादी) को आसन्न दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको बताएका छन्।

ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे।

यस्तै सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए। उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्छ भने।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ। पार्टी अध्यक्ष नेपालले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

पार्टी अध्यक्ष नेपालको नेतृत्त्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ। काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ।

महाधिवेशनस्थललाई आकर्षक बनाउन श्रृङ्गारिएको छ। करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ।

एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दसौँ मानेको छ।

महाधिवेशन असार २० गतेसम्म चल्ने छ।

प्रकाशित: १६ असार २०८१ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App