२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रौतहटका तिन र सर्लाहीका दुई नगरपालिकामा आएन बजेट

रौतहटका तिन र सर्लाहीका दुई नगरपालिकाले बजेट सभा गर्न सकेका छैनन्।

 रौतहटको फतुवा विजयपुर, बौधिमाई र देवाही गोनाही नगरपालिकाले असार १० सम्म आगामी आर्थिक वर्षको लागि आय व्यय प्रस्तुत गरिने सभा सम्पन्न गर्न सकेन्। जनप्रतिनिधिहरूबिच विवाद रहेको र प्रमुख प्रशासकीय अधिकृतको अक्षमताको कारण बजेट आउने नगर सभा सम्पन्न हुन नसकेको बताइएको छ।

देवाही गोनाही नगरपालिका र बौधिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकै जना छन् । दुवै नगरपालिका सम्हाल्ने प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले कुनै पनि पालिकाको नगर सभा सम्पन्न गराउन सकेका छैनन् । जनप्रतिनिधिलाई फुटाएर नगरप्रमुखलाई एक्लो पारी फाइदा उठाउँदै आएका प्रमुख प्रशासकीय अधिकृत यादवको यही नीतिको कारण देवाही गोनाही तथा बौधिमाई गरी दुवै नगरपालिकामा नगर सभा गराउन असफल भएको आरोप लगाइएको छ। 

बौधिमाई नगरपालिकाको नगर सभा १० असारमा बोलाइएको भए पनि ४९ सदस्यीय नगर सभासद् मध्ये ३३ जना विपक्षमा थिए । नगर सभाको ब्यानर नै च्यातेर उपप्रमुख समेतले नगर सभा विरुद्ध नाराबाजी गरेका थिए।अधिकृत यादवले नगरप्रमुखसित मिलेर एकलौटी गर्न खोजेपछि नगर सभा बिथोलिएको हो।

यसै गरी देवाही गोनाहीमा पनि अधिकृत यादव नगरप्रमुखको पक्षमा एकलौटी गर्न थालेपछि नगर सभाका सदस्यहरू नगरप्रमुखदेखि रुष्ट बनेका छन्।जिल्लाको सबैभन्दा विवादास्पद रहेको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिहरुबिच विवादकै कारण नगर सभा हुन नसकेको हो । फतुवा विजयपुरमा हरेक वर्ष विवाद नै हुने गरेको छ।

यसै गरी सर्लाहीको बागमती नगरपालिका र विष्णु गाउँपालिकाको बजेट अधिवेशन हुन सकेको छैन । निर्धारित असार १० सम्म सर्लाहीका दुई पालिकाबाहेक अन्य सबै पालिकाको नगर सभा सम्पन्न भइसकेका छन्।

बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मुक्तान निलम्बित भएका र कार्यवाहक नगरप्रमुख तथा उपप्रमुखको टुंगो लाग्न नसकेको कारण बागमती नगर सभा हुन ढिलाइ भएको हो। यसै गरी विष्णु गाउँपालिका अध्यक्ष जवाहर प्रसाद यादव बिरामी भएर उपचार गराइरहेका कारण नगर सभा हुन नसकेको बताइएको छ। 

प्रकाशित: ११ असार २०८१ १९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App