२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलामको बजेट एक अर्ब १९ करोड, १४ विशेष प्रस्ताव

इलाम नगरपालिकाको आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको आय–व्यय अनुमान गरिएको छ।

१५औं नगर सभामा उपमेयर विष्णुकुमारी दाहाल लिम्बूले आउँदो वर्षको आय–व्ययको अनुमान विवरण सार्वजनिक गरिन्।

उनका अनुसार आउँदो वर्षको बजेटमा सामाजिक विकासतर्फ ४९ प्रतिशत, पूर्वाधार विकासमा २६ प्रतिशत, चालु खर्च १४ प्रतिशत, आर्थिक विकासतर्फ छ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा तीन प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ दुई प्रतिशत बजेट विनियोजित छ।

उपमेयर लिम्बूले बजेटमा मौजुदा करको दरभन्दा दायरा बढाउने नीति लिइएको, राजस्व असुलीमा प्रभावकारिता कायम तथा सम्भावित चुहावट नियन्त्रण गर्दै राजस्व वृद्धि गर्ने रणनीति लिइएको बताइन्। ‘नयाँ करका क्षेत्र पहिचान गरी राजस्व आधार बढाउने नीति लिइएको छ,’ उनले भनिन्, ‘कर सहुलियत तथा छुटमार्फत कर सहभागिता वृद्धि गर्ने रणनीति छ।’ उनले सामाजिक रूपमा संरक्षण गर्नुपर्ने वर्गलाई छुट र सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको पनि बताइन्। 

‘विशेष प्रस्ताव’ पेस

नगर सभामा १४ ‘विशेष प्रस्ताव’ पेस गरिएको छ। मेयर केदार थापाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्र समेटिएका विभिन्न प्रस्ताव पेस गरे। इलामको दुग्ध उत्पादन निकासी तथा बजारीकरणमा प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने, पूर्वाधारका योजनाको विस्तृत अध्ययन (डिपिआर) गर्नेदेखि विभिन्न क्षेत्रका प्रस्ताव पेस गरिएका छन्। 

प्रकाशित: ९ असार २०८१ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App