२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसद गुरुङको प्रश्न: सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो ?

नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन्।  

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिनु नहुने बताएका हुन्। उनले नेपाली सेनाको महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताए। नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनि प्रश्न समेत गरे।

उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताए। उनले नेपाली सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गरे। राष्ट्रिय सुरक्षा नीतिमा समयानुकुल सुधार गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हामीहरु त्यस्तो संवेदनशील जुन अङ्ग छ, जुन संस्था, संरचना छ नेपाली सेना। त्यसलाई हामी व्यापार गर्न दिन्छौँ। त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ। सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसावले यो कुरा कत्तिको जायज हो? आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला। हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्वकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्वकांक्षा बढ्दाखेरी के हुन्छ? संकट पैदा भएको देखेको छैन? हामीले देखेको छौँ नि। अहिले उसको काम त राम्रो होला। विश्वसनीय संस्था नेपाली सेना नै भनेका छौँ। नेपाली सेनाको अझै आधुनिकीकरण, पेशागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ। त्यहाँभित्रका धेरै कुराहरु लोकतान्त्रिकरण हुन सकेका छैनन्। त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई। यसको आन्तरिक जिवनको व्यवस्थापनको लागि पनि रक्षा मन्त्रालयले केही न केही नीति बनाउनुपर्छ। राष्ट्रिय सुरक्षा भनेको नेपाली सेनाको मात्रै हो भन्ने बुझाइ त्यहाँका ठूला हाकिमहरुको पनि छ। हाम्रो नेताहरुको, पार्टीहरुको पनि छ। राष्ट्रिय सुरक्षा भनेको खालि नेपाली सेनाको मात्र होइन, नेपाल प्रहरी छ। सशस्त्र छ। राष्ट्रिय सुरक्षालाई व्यवस्थापन गर्ने, सुदृढ गर्ने, ऐनमा समयानुकुल सुधार गर्नुपर्ने केही छ भने सुधार गर्नुप¥यो। सुधार गरेको देखिदैन। लोकतान्त्रिकरण गरेको देखिँदैन।’

प्रकाशित: ३० जेष्ठ २०८१ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App