२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई राप्रपाको पनि समर्थन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् । गण्डकी प्रदेश सभाको सोमबार बसिरहेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका हुन्। मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ५ मा जाँदा संसद विघटन हुने खतरा हुने भन्दै उनले उपधारा ३ मै आफूलाई विश्वासको मत दिन आग्रह गरे। 

विश्वासको मत माग्दै उनले को मुख्यमन्त्री हुने भन्दापनि संविधान र संघीयतालाई बलियो बनाउनु अहिलेको आवश्यक्ता भएको बताए। त्यसैले अस्थिरताको अन्त्य गरी स्थायीत्व प्रदान गर्न पनि आफूलाई विश्वासको मत दिन उनको आग्रह थियो। 

विश्वासको मत मागेका गण्डकीका मुख्यमन्त्री पाण्डे अहिले अल्पमतमा छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका उनलाई ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र राप्रपाका दुई सांसदको मात्र समर्थन छ। 

पाण्डेसँगलाई आफ्नो दल र राप्रपका २ गरि २९ सांसदको समर्थन पुगेको छ । स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्नसक्ने अनुमान छ। 

उसो त मुख्यमन्त्री पाण्डेलाई माओवादीको चुनाव चिह्नबाट निर्वाचित फडिन्द्र देवकोटाले समेत फ्लोर क्रस गरेर विश्वासको मत दिने विश्वास छ। यद्वपी कसैले पनि औपचारिकरुपमा निर्णय भने गरिसकेका छैनन्। गण्डकीमा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) ८, राप्रपाका २ र स्वतन्त्र दीपक मनाङे प्रदेश सभामा छन्। 

गण्डकीका मुख्यमन्त्री पाण्डे परमादेशबाट नियुक्त भएका हुन्। निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेश सभामा ३० लाई नै बहुमत मानेर विश्वासको मत लिएपछि त्यसविरुद्ध वर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए। 

सर्वोच्चले ३० लाई बहुमत मानेर लिइएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो। सोहि परमादेशका आधारमा पाण्डे जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: २८ जेष्ठ २०८१ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App