२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

भरतपुरका मुख्य राजमार्गमा अटोरिक्सा चलाउन रोक

चालकको विरोध

भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउने बारे जानकारी गराउँदै महानगर प्रहरी र ट्राफिक प्रहरी । तस्बिर: वसन्त ढु‌गाना/ नागरिक

भरतपुर महानगरपालिकाले २०७५ सालमा मुख्य राजमार्गमा अटो रिक्सा चलाउन रोक लगाउने निर्णय गर्‍यो। सो निर्णय केही समय लागू भएपनि पूर्णरुपमा कार्यान्वयनमा आउन सकेन। निर्वाधरुपमा मुख्य राजमागमै अटो रिक्सा गुडिरहे। महानगरपालिकाले पाँच वर्षपछि सो निर्णयलाई कार्यान्वयन गर्न सुरु गरेको छ। बिहीबारदेखि भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउँदै महानगर प्रहरी र ट्राफिक प्रहरीले अटोचालकलाई सचेतना कार्यक्रम गरेका छन्।  

प्रारम्भिक चरणमा सचेतना कार्यक्रम गरिएको भन्दै अटेर गरे कडा कारवाही गरिने भरतपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख (डिएसपी) हरीकृष्ण ढकालले बताए। उनले महानगरका मुख्य राजमार्ग निर्माणको काम लगभग सकिएको भन्दै अब महानगर प्रहरी कानुन कार्यान्वयनमा लाग्ने बताए।  

‘राजमार्गमा अटो चल्न नदिने पहिल्यै देखिको सर्कुलर हो। अटो चालकले स्वःस्फूर्त चलाउनुभएको थियो’, उनले भने, ‘अबदेखि नगरप्रहरी र जनपथ प्रहरी मिलेर कडाइका साथ कार्यान्वयनमा ल्याउनेछौँ।’  

उनले सुरुवातमा सचेतना जगाइरहेको भन्दै पटकपटक उल्लंघन गरे कडारुपमा प्रस्तुत हुने चेतावनी दिँदै मुख्य राजमार्गको चोकबाट बाटो काट्न भने दिने उल्लेख गरे।  

भरतपुरको गोन्द्राङदेखि पुल्चोक, पुल्चोकदेखि आँपटारी र बाइपास सडकमा अटो चलाउन रोक लगाउने तयारी महानगरले गरेको हो।  

अहिले चितवनमा झण्डै चार हजार हाराहारीमा अटोरिक्सा छन्। त्यसमध्ये ७० प्रतिशत भरतपुर महानगरपालिका भित्र सञ्चालनमा रहेका छन्, तर भरतपुर महानगरपालिकाको अटो रिक्साको आवश्यकता र क्षमताका बारेमा अध्ययन गरिने प्रमुख ढकालले बताए।  

अटो रिक्साको यात्रा त्यति सुरक्षित मानिदैन । मानवीय क्षति समेत बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले बताए।  

चितवनमा चालु आर्थिक वर्षमा मात्रै २४ वटा अर्टो दुर्घटना भएका छन्। त्यसमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाईते भएका थिए। आर्थिक वर्ष २०७९÷०८० मा २० वटा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। २६ जना घाइते भएका थिए। दुर्घटनामध्ये अधिकांश मुख्य राजमार्गमा भएको ढकालले बताए।  

सरकारले २०७७ सालमा देशभरका महानगरपालिकामा अटो रिक्सा चलाउनका लागि रोक समेत लगाएको थियो। यसको जरिवाना काट्ने अधिकार ट्राफिक प्रहरीलाई दिइएको छ। कानुन उल्लंघन गरेमा एक हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था रहेको उनले जानकारी दिए ।  

भरतपुर महानगरपालिकाको निर्णयमा अटो व्यवसायीले भने विरोध जनाएका छन्। व्यवसायी वीरेन्द्र लामिछानेले सरकारले सञ्चालन गर्न अनुमति दिएपछि मुख्य राजमार्गमा पनि अटो चलाउन पाउनुपर्ने बताए। ‘सार्वजनिक सवारी साधानले यातायात व्यवस्था कार्यालयबाट रुट परमिट लिनुपर्छ । यहाँका अटोरिक्साले जिल्लाभर सञ्चालन गर्ने अनुमति पाएका छन्,’ उनले भने ‘स्थानीय तहले ठाउँ तोकेर निर्णय गर्नु विवादित छ।’  

यातायात कार्यालयबाट परमिट लिएपछि व्यवसायीले अटो चलाउन पाउनुपर्ने धारण उनको छ। अहिले राजमार्ग विस्तार भइसकेको अवस्थामा सञ्चालन गर्न दिनुपर्ने उनले बताए। 

प्रकाशित: २० असार २०८१ १६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App