२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश संरचना बनी नै सक्यो, अब भत्काउनु हुन्न्: मुख्यमन्त्री कार्की

फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको संरचनाप्रति द्वन्द्व सिर्जना गर्नेभन्दा समाधान गर्नेतर्फ सबै लाग्नुपर्ने आग्रह गरेका छन्।

उनले अधिकार प्रत्यायोजन गर्दा तीन तहको सट्टा दुई तह हुँदा पनि केही फरक नपर्ने भएता पनि संरचना बनिसकेपछि अब भत्काउन सहज नभएको जिकिर गरे।

‘यतिबेला प्रदेश संरचना नभए हुन्थ्यो भनेर धेरैलाई लाग्ने गरेको छ। अब बनी नै सक्यो, अब भत्काउँदा हामी कहाँ पुग्छौँ,’ मुख्यमन्त्री कार्कीले आइतबार इटहरीमा जेसीजले आयोजना गरेको भविष्यमा कस्तो नेतृत्व हुनुपर्छ? भन्ने सवालमा आयोजित कार्यक्रममा भने, ‘यतिबेला सबैभन्दा ठिक ठाउँमा प्रदेश छ।’ उनले प्रदेश प्रति आलोचना गर्नुको कुनै औचित्य नभएको जिकिर गरे।

‘कोशी प्रदेशमै प्रदेश सरकारले अहिलेसम्म नौ सय किलोमिटर कालोपत्रे गरेको छ, सय वटा पुल बनाएको छ, सयकै हाराहारीमा झोलुङ्गे पुल बनाएको छ। अरु थुप्रै विकास भएको छ,’ उनले भने, ‘संघीय सरकारले त्यो समयमा प्रदेश भरी त्यति धेरै काम गर्न सक्छ ?’ मुख्यमन्त्री कार्कीले लामो समयसम्म नेपालमा एकात्मक राज्य व्यवस्था रहेकाले गर्दा मानसिकता पनि केन्द्रीकृत भएर प्रदेशप्रति गलत सोचाई भएको पनि टिप्पणी गरे।

‘अझै पनि प्रदेशभित्र जति विकासका संरचना बन्नुपर्ने हो, बनेको छैन,’ उनले भने, ‘तर, प्रदेशप्रति आलोचना गर्नुपर्ने अवस्था छैन।’ उनले सबै राजनीतिक दलका नेतृत्वसहित अगुवा नेता नेपाललाई परिवर्तन गर्न दृढ सङ्कल्प लिएर अघि बढेको खण्डमा सम्भव भएको बताए।

‘राजनीतिक नेतृत्व इमानदार भएर दस वर्षभित्रमा परिवर्तन गर्छु भनेर सङ्कल्प लिने हो भने परिवर्तन अवश्य हुनेछ,’ उनले भने। 

उनले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ‘ब्याक बेञ्चर मुख्यमन्त्री भए’ भनेर दिएको अभिव्यक्तिलाई स्मरण गर्दै राजनीति गर्ने व्यक्ति पढाइमा अब्बल हुनुपर्ने बताए। ‘ब्याक बेञ्चर कहिलेकाहीँ मात्र उछिटिएर अगाडि हुने हुन्छन्, दीर्घकालसम्म रहदैनन,’ उनले भने, ‘राजनीति गर्ने मान्छेले पढ्नै पर्छ। साथै, राजनीति गर्ने मान्छेले आर्थिक लोभ पनि गर्नु हुन्न् र अनुशासित पनि हुनुपर्छ।’

मुख्यमन्त्री कार्कीले नेपालले राष्ट्रिय पूजीको विकास गर्न नसक्दा सोचे अनुसार विकासले गति लिन नसकेको बताए। ‘राष्ट्रिय पूजीको विकास गर्ने महत्त्वपूर्ण क्षेत्र पर्यटन हो, त्यसैले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ साललाई कोशी भ्रमण वर्षको रुपमा मनाउने भएको छ।’

प्रकाशित: २७ जेष्ठ २०८१ १७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App