२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रालयहरूले बजेट पुस्तिका पठाएनन्, संसद् बैठक प्रभावित

संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको बताएको छ।

आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरेर जेठ २९ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ। बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजित रकमको सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको थियो।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सम्बन्धित मन्त्रालयले विनियोजित रकम उल्लेखित पुस्तक मन्त्रालयहरुले सचिवालयमा उपलब्ध गराउन नसकेका कारण बैठक स्थगित गर्नुपरेको बताए। उनले केही मन्त्रालयहरुले ढिलोगरी पुस्तक उपलब्ध गराएका र केही मन्त्रालयहरुको पुस्तक पाउनै बाँकी रहेको बताए। सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्नका लागि पनि पुस्तक अध्ययन गर्नैपर्ने भएकाले पनि अध्ययन गर्ने समय दिन बैठक दुई दिनलाई पछि सारिएको गिरीले बताए ।

उनले भने, ‘विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरुका लागि जुन विनियोजित रकम छ, त्यसलाई शिर्षकगत छलफल पनि भनिन्छ, त्यो कार्यसूचिमा समावेश थियो। आजको कार्यसूचिमा ४ वटा मन्त्रालयको विनियोजनमाथि छलफल थियो। कतिपय मन्त्रालयहरुको त्योसँग सम्बन्धित पुस्तक सचिवालयमा अलि ढिलोगरी प्राप्त भयो भने केहीको प्राप्त हुन बाँकी नै रहेको अवस्था रह्यो। साथसाथै माननीयहरुले मन्त्रालयगत विनियोजनमाथि छलफल गर्ने क्रममा खर्च कटौतीको प्रस्ताव राख्न सक्नुहुन्छ। खर्च कटौतीको प्रस्ताव राख्नका लागि पनि पुस्तकको आवश्यकता पर्दछ। साथसाथै उहाँहरुलाई अध्ययन गर्ने समय पनि दिनु आवश्यक पर्न जान्छ। तसर्थ आज र भोली बैठक नराखेर प्रतिनिधि सभाको बैठक २९ गते मंगलवार बिहान ११ बजे राख्नेगरी सभामुखज्युले निर्धारण गर्नुभएको हो। पुस्तकहरु सम्बन्धित मन्त्रालयले छपाई गरेर सचिवालयलाई उपलब्ध गराउनुपर्ने हो। अहिलेसम्म पाँचवटा मन्त्रालयको प्राप्त भइसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय र शहरी विकास मन्त्रालयको प्राप्त भइसकेको छ।’

प्रवक्ता गिरीले हालसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय र शहरी विकास मन्त्रालयको मात्रै पुस्तक प्राप्त भएको जानकारी दिए।  

प्रकाशित: २७ जेष्ठ २०८१ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App