२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को बजेटप्रति मन्त्री चौधरी असन्तुष्ट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन्।  

बुधवार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन्। 

सरकारले आगामी आर्थिक् वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरेको उनको भनाइ छ। 

उनले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भएपनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताइन्।

उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरुको नाराका रुपमा अघि बढाउनुपर्ने र महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानी महशुस भएको जिकिर गरिन्।

उनले, ‘आर्थिक रुपले सशक्तिकरण जबसम्म हुँदैनन् महिलाहरु तबसम्म भोको पेटले सारंगी बज्दैन। मैले त्यो आधारमा आर्थिक रुपले सशक्त हुने कार्यक्रम गर्नुपर्छ भनेर प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रालयमै पनि हाँसिमजाक गर्ने कुरा आयो। नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभइ सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो। कस्तो छ हाम्रो सोचाई भन्ने हो। सरकारको नेतृत्व गर्ने भएको हुनाले, सरकारसँग जोड्नका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम राखेका हाैँ। यसमा राम्रै हुन्छ भनेर हामीले सोचेका थियौँ। बढी आउला की बजेट भन्ने सोचेका थियौँ। तर हेर्नुस् विचरा १० प्रतिशत भनेको जस्तो। मलाई हिजो अलि अलग किसिमको ग्लानी भयो। महिलाहरुको जग्गा, उद्योग दर्तामा केही छुट दिएका छौँ।’

यस्तै,मन्त्री चौधरीले अहिले नेपाली महिलाहरुले संवैधानिक रुपमा धेरै अधिकारहरु प्राप्त गरेको बताइन्। यस वर्ष  ‘हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाइँदैछ। 

प्रकाशित: १६ जेष्ठ २०८१ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App