२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय गतिरोध अन्त्यका लागि सभामुख सक्रिय, कांग्रेस र रास्वपा सभापतिसँग छुट्टाछुट्टै टेलिफोन संवाद

एमाले अध्यक्षसँग पनि कुराकानी गर्ने

फाइल तस्बिर

नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत ररहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।  

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरे । टेलिफोन संवादका क्रममा उनले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गरेका थिए ।  

सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने जवाफ दिएको सभामुखको सचिवालयले जनाएको छ । सभापति देउवाले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने उल्लेख गर्दै प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने धारणा राखेका थिए ।  

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने माग दोहोर्याएका थिए ।  

जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने आश्वासन दिएका थिए ।  

सभामुखले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग पनि कुराकानी गरेका छन्। उनले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको सचिवायले जनाएको छ । 

प्रकाशित: ३१ वैशाख २०८१ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App