२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

भोलि साँझसम्म वातावरण बन्छ, नीति तथा कार्यक्रम निर्वाध आउँछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन्।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आफूले गम्भीर छलफल गरिरहेको बताउँदै भोलि (सोमबार) साँझसम्ममा एक किसिमको वातावरण बन्ने दाबी गरे।

‘संसद्मा निकासको ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ,’ राष्ट्रिय सभा गृहमा भएको राष्ट्रिय नर्सिङ दिवसको कार्यक्रमबाट बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ।’

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले संवाद गरेका थिए।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएको छ । सत्तापक्ष छानबिन गठन गर्न तयार नभएसम्म संसद्का कुनै पनि गतिविधि अघि बढ्न नसक्ने कांग्रेसको अडान छ।

यस्तोमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार (जेठ १ गते) संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम पनि अनिश्चित देखिरहेका बेला प्रधानमन्त्री दाहालबाट यस्तो अभिव्यक्ति आएको हो।

प्रकाशित: ३० वैशाख २०८१ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App