२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची समेत रहेको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।

त्यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस,’ भनी प्रस्ताव पेस गर्ने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय निकुन्न, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव र अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रश्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

प्रकाशित: १४ फाल्गुन २०८० ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App